बलभद्र कुँवर : नेपाली वीरको लाहुर पलायन
२५ वर्षकै उमेरमा नालापानी किल्लामा अङ्ग्रेज सेनालाई आच्छु-आच्छु बनाएका कप्तान बलभद्र अन्ततः स्वदेशमा टिक्न नसकी लाहुरे बन्न बाध्य पारिए।
अङ्ग्रेजसँग युद्ध लड्दा सुगौली सन्धि मार्फत नेपालले आफ्नो दुई तिहाइ भूभाग गुमाउनुपर्यो। खास गरी पश्चिमी क्षेत्रको विजय अभियानमा दिलोज्यान दिएर लडेका बडाकाजी अमरसिंह थापा सुगौली सन्धिपछि जिम्मेवारीविहीन भए।
नालापानी युद्धका वीर कहलिएका बलभद्र कुँवर मामाहरू भूपालसिंह थापा र अर्जुनसिंह थापाको पछि लागेर लाहोर गई पञ्जाबकेशरी रणजित सिंहको फौजमा भर्ना भए। त्यहीं रहँदा अफगानिस्तानको युद्धमा प्राण त्याग गरे। त्यही लाहोर जानेहरू कालान्तरमा लाहुरे कहलाए। अहिले पनि विभिन्न रूपमा नेपालीहरू लाहुर गइरहेकै छन्।
२५ वर्षकै उमेरमा नालापानी किल्लामा नेपाली सेनाको नेतृत्व गरी अङ्ग्रेज सेनालाई आच्छु-आच्छु बनाएका कप्तान बलभद्र अन्ततः स्वदेशमा टिक्न नसकी लाहुरे बन्न बाध्य पारिएका थिए।
बडाकाजी अमरसिंह थापाका छोरीतिरका नाति हुन्, उनी। अमरसिंहकी छोरी अम्बिकादेवीको कोखबाट माहिला सन्तानका रूपमा बलभद्रको जन्म विसं १८४६ माघ १७ गते काठमाडौंको प्याफल टोलमा भएको थियो (रामराजा कुँवर र डा. धनबहादुर कुँवर, ‘नालापानीका नायक वीर बलभद्र कुँवर’ २०६९ः१)। उनकी आमा अम्बिकादेवी अमरसिंहकी कुन पत्नीतिरकी छोरी हुन्, त्यो चाहिं खुल्न सकेको छैन।
बलभद्रका पुर्खा
विक्रमको १८औं शताब्दीमा अहिराम कुँवर कास्कीमा बस्थे। कास्कीका राजाले उनकी रूपवती छोरीलाई क्षत्रियोचित संस्कार नगरी दियोकलश मात्र पूजेर विवाह गर्न खोज्दा अहिरामले मञ्जुरी दिएनन्। यही गडबडीमा उनी गोरखा आए। गोरखाका राजा नरभूपाल शाहले अहिरामको जात्यभिमान तथा वीरता आदिबाट प्रसन्न भई उनलाई आफ्नो राज्यमा आदरपूर्वक राखे।
बलभद्रका पुर्खा सम्बन्धमा पन्तज्यूबाट उल्लिखित यस ऐतिहासिक तथ्य अनुसार जयकृष्ण कुँवर अहिरामका छोरा अवश्यै हुन्। तर, तिमालको युद्धमा मर्ने जयकृष्ण होइनन्।
अहिरामका रामकृष्ण र जयकृष्ण नामका दुई छोरा थिए। जेठा रामकृष्ण प्रसिद्ध सेनापति भए। कान्छा जयकृष्ण पनि कुशल लडाका थिए। ती जयकृष्णले तिमालको लडाइँमा वीरगति पाए। यिनै जयकृष्णका नाति नालापानीका वीर बलभद्र हुन् {डा. महेशराज पन्त (सम्पा.) ‘नयराज पन्तको दृष्टिकोणमा श्री ३ जङ्गबहादुर राणा’ २०७०ः१}।
बलभद्रका पुर्खा सम्बन्धमा पन्तज्यूबाट उल्लिखित यस ऐतिहासिक तथ्य अनुसार जयकृष्ण कुँवर अहिरामका छोरा अवश्यै हुन्। तर, तिमालको युद्धमा मर्ने जयकृष्ण होइनन्।
पृथ्वीनारायण शाहले किरात हान्न उत्साहित गर्दै रामकृष्ण कुँवरलाई आश्विन बदि ५ मा लेखेको पत्रमा पनि तिमालको युद्धमा रामकृष्ण कुँवरका एक भाइ मारिएको प्रसङ्ग उल्लेख छ। इतिहासशिरोमणि बाबुराम आचार्यले प्रकाशमा ल्याएको र उनकै अनुमान अनुसार विसं १८२९ मा लेखिएको यस पत्रमा ‘किरात फत्ते गर्न तिम्रै भर परेको छु। कालु पाँडे मारिंदा साह्रै दुःखी भएको थिएँ। यतिखेर मलाई तिम्रै बुद्धि र तरबारको भर रहेको छ। धुलिखेलमा जस्तै सिम्वु (स्वयम्भू)को जग्गा दिन्छु। तिम्रो भाइ तिमालमा मारिएकोमा म धेरै दुःखी छु’ भन्ने भाका परेको छ (महेशचन्द्र रेग्मी (सम्पा.), ‘रेग्मी रिसर्च सेरिज’ वर्ष ४ अङ्क ५, सन् १९७२ डिसेम्बरः९४)।
तर, रेग्मीले रणबहादुर शाहले विसं १८४३ मा जारी गरेको एक पत्रमा रामकृष्णका भाइ जयकृष्ण फेला परेकाले उनकै त्यति नाम नचलेका कुनै भाइले तिमालको युद्धमा ज्यान गुमाएका हुन सक्ने पादटिप्पणी गरेका छन् (रेग्मी, उही)।
गोरखालीहरूले विसं १८१९ असोज २ गते तिमाल कोट आक्रमण गरेका हुन्। यस युद्धमा रामकृष्ण कुँवर पनि लडेका थिए (देवीप्रसाद भण्डारी, ‘पूर्णिमा’ पूर्णाङ्क १४, २०२४ श्रावण-भाद्र-आश्विनः१४४)।
गोरखालीले तिमाल फत्ते गरेको १७ वर्षपछि पनि रामकृष्णका भाइ जयकृष्ण सोमेश्वर (चितवन)को युद्धमा खटिएको देखिन्छ। इतिहासकार दिनेशराज पन्तले प्रकाशमा ल्याएको रणबहादुर शाहका नौ अप्रकाशित लालमोहरमध्ये विसं १९३६ वैशाख शुदि १५ रोज ६ मा ‘वैशाख दिन १२ जाँदा सोमेश्वर हान्न बुढा दलमर्दन शाह, बन्दु राना, पारथ भण्डारी, अम्बरसिंह राना सहित जयकृष्ण कुँवर गएका छन्’ भन्ने परेको छ। पहिले गोरखाको अधीन भइसकेको सोमेश्वर तनहुँले कब्जा गरिदिंदा उसबाट गोरखालीले पुनः खोस्नुपरेको थियो (दिनेशराज पन्त, ‘पूर्णिमा’ पूर्णाङ्क ५८, २०४० चैतः३५)।
विसं १९०३ आश्विन बदि ९ मा कोतपर्व मच्चियो। आफूलाई सर्वशक्तिमान् बनाउन त्यही पर्व मार्फत रामकृष्ण कुँवरका पनाति जङ्गबहादुरले आफू अगाडि तेर्सिएको मूल तगारो पन्छाए। विसं १९०३ कात्तिक शुदि १२ मा भण्डारखाल पर्वपछि त उनी आफ्नो अधिनायकपूर्ण यात्राका सबै व्यवधान पन्छाउन सफल भए।
यसबाट पनि तिमालको लडाइँमा वीरगति प्राप्त गर्ने रामकृष्णका भाइ तथा बलभद्रका हजुरबुबा जयकृष्ण होइनन् भन्ने स्पष्ट हुन आउँछ। तर, पृथ्वीनारायण शाहकै भाका अनुसार, तिमालको युद्धमा रामकृष्णका एक भाइ परेका थिए। त्यसो भए उक्त युद्धमा अहिरामका कुन चाहिं छोराले वीरगति पाएका हुन् त?
हालसम्म प्रकाशमा आएका तथ्य अनुसार अहिरामका छोरा रामकृष्ण र जयकृष्णको मात्रै उल्लेख पाइन्छ। उनका अन्य छोराको चर्चा त्यति पढ्न पाइएको छैन।
विसं १९०३ आश्विन बदि ९ मा कोतपर्व मच्चियो। आफूलाई सर्वशक्तिमान् बनाउन त्यही पर्व मार्फत रामकृष्ण कुँवरका पनाति जङ्गबहादुरले आफू अगाडि तेर्सिएको मूल तगारो पन्छाए। विसं १९०३ कात्तिक शुदि १२ मा भण्डारखाल पर्वपछि त उनी आफ्नो अधिनायकपूर्ण यात्राका सबै व्यवधान पन्छाउन सफल भए।
असामान्य शक्तिमा आएका जङ्गबहादुरसँग शक्ति क्षीण हुँदै गएका राजा राजेन्द्र सन्तुष्ट थिएनन्। बरु, कोत पर्वको समयमा ज्यान बचाउन उनी लैनचौरस्थित ब्रिटिश दूतावासमा शरण लिन पुगेका थिए। तर, रातको समय कसैलाई पनि दूतावासभित्र प्रवेश दिने चलन नभएको भन्दै त्यहाँका अधिकारीले उनलाई फर्काएका थिए।
राजा राजेन्द्रले कोतपर्वको सबै दोष जङ्गबहादुरलाई लगाउने उद्देश्यले उनलाई ‘निमकहराम’ भनेका थिए। तर, उनले राजालाई नै मुखभरिको जवाफ फर्काइदिए। त्यस क्रममा उनले आफ्ना पूर्वजहरूले देशका लागि देखाएको वीरता र शौर्यको समेत बयान गरेका छन्।
राजा राजेन्द्रले जङ्गबहादुरका नाममा विसं १९०४ प्रथम ज्येष्ठ बदि १३ रोज ३ मा जारी गरेको लालमोहरमा जङ्गबहादुरले राजालाई पठाएको अर्जीमा उल्लेख भएको भाका प्रशस्त मात्रामा परेको छ।
राजा राजेन्द्रले कोतपर्वको सबै दोष जङ्गबहादुरलाई लगाउने उद्देश्यले उनलाई ‘निमकहराम’ भनेका थिए। तर, उनले राजालाई नै मुखभरिको जवाफ फर्काइदिए।
लालमोहरमा जङ्गबहादुरले पठाएको अर्जीको एक अंशमा ‘मेरा जिज्यू रामकृष्ण कुवरले गोर्षादेषि मेचिसम्म लड्दै गयोको निमक हरामी अमर्सिं कुवर्ले तिमालको लडाञिमा जिउ दियाको श्रीकृष्ण कुवरले झुगामा जिउ दियाको रणजित कुवर्ले जुमलामा कूल् गर्दा फत्य गर्याको संसारचन्द सित कागडामा लडाञिमा छातिले गोली षायाको गाथमा तरवार चलाउँदा सेर्या चंडाललाई मेरा वावाले मार्याको वीरभद्र कुवरले झ्याम्टोले लडाञिमा मीहिनेत गर्याको नालापानिका लडाञिमा बलभद्र कुवर्ले मीहिनेत गर्याको जंगबहादुरले गर्याका निमकहरामिको...’ भन्ने परेको छ (ज्ञानमणि नेपाल, ‘नेपालको महाभारत’ २०५२ः २७१-२७४ )।
यसरी विभिन्न युद्धमा पौरख देखाउने आफ्ना पितापुर्खामध्ये उनले तिमालको युद्धमा ज्यान गुमाउने पुर्खाको नाम पनि लिएका छन्। यस पत्र अनुसार, रामकृष्ण कुँवरका अर्का भाइ अमरसिंह कुँवर रहेको स्पष्ट हुन आउँछ, जसको तिमालकोटमा भएको युद्धमा ज्यान गुम्यो। अहिरामका छोरामध्ये अमरसिंहको नाम त्यति चर्चामा भने आउने गरेको छैन।
बलभद्र चाहिं जयकृष्णका छोरा चन्द्रवीरका माहिला छोरा हुन्। चन्द्रवीरका तीन छोरामध्ये वीरभद्र जेठा, बलभद्र माहिला र चेतसिंह कान्छा हुन् (महेशराज पन्त, ‘पूर्णिमा’ पूर्णाङ्क १४, साउन-भदौ-असोजः१५२)।
बलभद्रका बुबा चन्द्रवीर पनि साहसी योद्धा थिए। उनी कप्तान दर्जामा थिए। विसं १८७० चैतदेखि १८७१ वैशाखका बीचमा सिरमोरमा रहेका चन्द्रवीरको मृत्यु भएपछि छोरा बलभद्रलाई कप्तान बनाइएको थियो (बाबुराम आचार्य, ‘पूर्णिमा’ पूर्णाङ्क ८४, २०५० वैशाखः१७)।
नालापानीमा नेपाली वीरता
नेपाली इतिहासमा नालापानी युद्धको विशेष महत्त्व छ। यो यस्तो युद्ध हो जहाँ बलभद्र कुँवरको नेतृत्वमा नेपाली फौजले आफूभन्दा शक्तिशाली सेनाका सेनापतिलाई मारेर शत्रुको मनोबल गिराउने सफलता प्राप्त गरेको थियो। बलभद्रले अङ्ग्रेजको आत्मसमर्पण गर्ने प्रस्तावलाई ठाडै अस्वीकार गरेका थिए।
बलले मात्र हराउन असम्भव देखेपछि छलको भरमा नेपाली सेनालाई भोकै-तिर्खै पारेर अङ्ग्रेजले किल्ला छाड्न बाध्य पारेका थिए। अङ्ग्रेजले नेपाल विरुद्ध औपचारिक रूपमा युद्धको घोषणा गर्नुअघि नै नालापानीमा हात हालेको थियो।
बलले मात्र हराउन असम्भव देखेपछि छलको भरमा नेपाली सेनालाई भोकै-तिर्खै पारेर अङ्ग्रेजले किल्ला छाड्न बाध्य पारेका थिए। अङ्ग्रेजले नेपाल विरुद्ध औपचारिक रूपमा युद्धको घोषणा गर्नुअघि नै नालापानीमा हात हालेको थियो।
अङ्ग्रेज सेनापति जिलेस्पीले सहारनपुरबाट आठ तोप र ३५ सय सैनिकलाई विसं १८७१ कात्तिक ६ गते नेपालको सिमानाभित्र घुसाएर कात्तिक ८ गते देहरादून उतारे। यस ठाउँबाट पाँच माइलको फरकमा ६ सय फिट अग्लो डाँडामा बलभद्रले भर्खरै नालापानी किल्ला मर्मत गराएका थिए। उनका साथमा दुई सय ५० जति सैनिक र केही महिला थिए।
त्यसै दिन कर्णेल मौवीले हात्तीबाट तोप लगी सैन्य समेत चढाएर किल्ला मात्र घेरेनन्, बलभद्रलाई आत्मसमर्पण गर्न पत्र लेखे। तर, बलभद्रले रातको समय पत्रको उत्तर दिने आफूहरूको नियम नरहेको भन्दै अङ्ग्रेजका पत्रवाहकलाई खाली हात फर्काइदिएका थिए (आचार्य, उहीः१९)।
अङ्ग्रेजले पठाएको पत्रमा लेखिएको थियो- ‘लडाइँमा रगतको खोला बगाउन उचित नदेखिएकfले तपाईंहरू अङ्ग्रेज सरकारको संरक्षणमा आउनुहोस्। तपाईंहरूलाई सशस्त्र नजरबन्दमा राख्नेछौं। कुनै कष्ट दिने छैनौं। तर, यसका विपरीत लडाइँ गरेर भाग्न चाहेमा चारैतिर बाटो बन्द छ। अङ्ग्रेजी फौजलाई स्वास्नी मानिस र बालकसँग लड्न लाज लाग्छ। यदि तपाईंमा बहादूरीको त्यतिकै घमण्ड छ भने पुरुषत्वका साथ मैदानमा आएर लडाइँ गर्नुहोस्। मध्याह्नसम्म तपाईंहरूलाई समय दिइएको छ। यस अवधिमा विचार गरी उत्तर दिनुहोस्। उत्तर नआए त्यस अवधिपछि आक्रमण गरिनेछ र तपाईंलाई दुःख हुनेछ।’
यस्तो सन्देश भएको पत्र बोकेर अङ्ग्रेज पत्रवाहक किल्लामा आउँदा बलभद्र आगो तापेर बसिरहेका थिए। उनले पत्र आगोमा फ्याँकिदिए। यसको उत्तर तोपको मुख र तीरको भाषाबाट हुने बताएर ती पत्रवाहकलाई फर्काइदिए। बलभद्रको यस्तो सन्देश पाएपछि अङ्ग्रेज अफिसर रिसाए र आक्रमणको तयारीमा लागे (तारिखे सरमोर, ‘प्राचीन नेपाल’, सङ्ख्या ३०-३९-२०३१ माघ-२०३४ वैशाखः९८-९९)।
भोलिपल्ट बिहान ८ बजे शत्रु सेनाबाट नेपाली सेनामाथि गोलावारी सुरु भइहाल्यो। नेपाली सैनिकले पनि किल्लाभित्रैबाट जवाफ दिए। अङ्ग्रेज सेनाको नेतृत्व कर्णेल मौवीले गरेका थिए। नेपाली सेनाको कडा प्रत्याक्रमणपछि मौवीले आफ्नो सैन्य घेरा हटाई सैनिक र तोप समेत देहरादून ल्याए (आचार्य, उहीः१९)।
नालापानीबाट अङ्ग्रेज सेना हटेको तीन-चार दिनपछि सेनापति जिलेस्पी देहरादून आइपुगे। नालापानी किल्ला फोर्ने उद्देश्यका साथ उनले कात्तिक १६ गते साँझ किल्लादेखि ६ सय गजको फरकमा दुई-दुईवटा तोप राखी सैनिकलाई पनि चारै दिशामा बाँडे। कात्तिक १७ गते अङ्ग्रेज सेनाबाट गोलावारी शुरू भयो। नेपाली सेनाले पनि किल्लाभित्रैबाट जवाफ दिइरह्यो। अङ्ग्रेज सेना किल्लाको ढोकाबाट भित्र पस्न खोजिरहेको थियो। त्यति वेलै नेपाली सेनाले ढोका खोलेर एक्कासि तोप चलाइदिंदा शत्रु सैनिकले ठूलो क्षति बेहोर्नुपर्यो।
आफ्ना सैनिक भाग्न लागेको देखेर बाँकी रहेका सैनिक लिई स्वयं सेनापति जिलेस्पी किल्लातिर दौडिए। किल्लाको ३० गज फरकमा पुगेपछि किल्लाभित्रबाट छुटेको गोली लागेर जिलेस्पी ढले।
नेपाली सैनिकहरू किल्लाको पर्खालमा चढी शत्रु सैनिकमाथि थप प्रहार गर्न लागे। आफ्ना सैनिक भाग्न लागेको देखेर बाँकी रहेका सैनिक लिई स्वयं सेनापति जिलेस्पी किल्लातिर दौडिए। किल्लाको ३० गज फरकमा पुगेपछि किल्लाभित्रबाट छुटेको गोली लागेर जिलेस्पी ढले। सेनापति नै मारिएपछि फेरि अङ्ग्रेज सेना पछि हट्न बाध्य हुनुपर्यो (आचार्य, उहीः१९)।
शत्रुको सेनापति नै ढाल्न सक्नु नेपालीहरूका लागि ठूलो उपलब्धि थियो। सेनापति ढलेको भोलिपल्ट बल्ल अङ्ग्रेज सेनाका मुख्य सेनापति माइराले लखनउबाट नेपाल विरुद्ध युद्धको औपचारिक घोषणा गरे।
नालापानी किल्लामा दुई पटकको प्रयास विफल भएपछि यस क्षेत्रमा आक्रमणको नेतृत्व कर्णेल मनलीले सम्हाले। उनले मंसीर १४ गते किल्लाको तीन सय गज फरकमा घेरा दिई तोप र बन्दूकबाट गोलावारी शुरू गरे। तोपको मारले किल्लाको पर्खालमा क्षति पुगिरहेको थियो। पर्खालको प्वालबाट शत्रु सैनिक किल्लाभित्र छिर्न खोजे। कोही पर्खाल चढी किल्लाभित्र पसे।
भित्रपट्टि बाँसका सोला गाडेर धराप थापिएकाले कतिपय त्यहीं अल्झिए, उनीहरू नेपालीको खुकुरीको फेला परे। गोली कम भएकाले नेपाली सैनिकले धनुकाँड प्रयोग गरे। महिलाले पनि ढुङ्गा बर्साए। हताहती भएपछि शत्रु सेना पछि हट्यो। नेपाली सेनामा पनि ठूलो क्षति भयो (आचार्य, उहीः२०)।
यस युद्धमा सात जना अङ्ग्रेज सेनापति र चार सय सैनिक मरे। आठ सयभन्दा बढी घाइते भए। नालापानीमा नेपालीको सङ्ख्या पनि निक्कै घट्यो। अङ्ग्रेजी तोपको गोलाले नालापानी किल्ला पनि निक्कै भत्कियो (महेशराज पन्त, ‘पूर्णिमा’ पूर्णाङ्क ३-२०२१ कात्तिकः६३)।
स्रोत-साधनको अभावका बावजूद नेपाली सेना साधनसम्पन्न अङ्ग्रेज फौजतर्फ ठूलो क्षति गराउँदै लडिरहेको थियो। बलले केही नलागेपछि अङ्ग्रेज सेना छल गर्नतिर लाग्यो।
त्यो हृदयविदारक दृश्य
स्रोत-साधनको अभावका बावजूद नेपाली सेना साधनसम्पन्न अङ्ग्रेज फौजतर्फ ठूलो क्षति गराउँदै लडिरहेको थियो। बलले केही नलागेपछि अङ्ग्रेज सेना छल गर्नतिर लाग्यो।
नालापानी किल्लामा पानी बाहिरबाट जान्थ्यो। नेपालीहरूलाई कायल बनाउन अङ्ग्रेजहरूले किल्लाभित्र जाने पानी रोकिदिए। नेपालीहरूले सवा सय जति घ्याम्पामा पानी भरेर राखेका थिए, त्यसबाट पनि केही दिन धान्न सक्थे। यो थाहा पाएपछि अङ्ग्रेजहरूले गोली हानेर पानी राखिएका घ्याम्पा फुटाइदिए (पन्त, उहीः६३)।
शत्रु सेनाले घेरा छाडिरहेको थिएन। त्यसै वेला एक गढवालीले नालापानीमा जाने पानीको रहस्य खोलिदिएका थिए। पानी नपाएपछि नेपाली सैनिक तीन दिनसम्म आकुलव्याकुल हुँदै शत्रुउपर गोली चलाउँदै रहेका थिए (आचार्य, उहीः२०-२१)।
सुन्दै आङ जिरिङ्ङ पार्ने यस्तो कठिन अवस्थामा किल्लाभित्रको लय बिथोलिन लाग्यो। भोक-तिर्खा सहन नसकेपछि केही नेपाली सैनिकले किल्ला छाड्ने निर्णय गरे। उनीहरूमध्ये केहीलाई रोक्न बलभद्र कुँवर सफल भए।
मंसीरको आधा रातमा कप्तान बलभद्र कुँवर, सरदार रिपुमर्दन थापा, चामु बस्न्यात र गञ्जसिंह थापा खान खान लागेका थिए। पानीको अभावमा भातसम्म पकाउन नपाएपछि उनीहरू काँचै चामल चपाइरहेका थिए। त्यति वेलै बाँकी रहेका नेपाली सैनिक किल्ला छाडी निस्के। उनीहरूले आआफ्नो साथमा रहेका नालनिसान पनि बोके। खाइरहेका नेपाली सेनापतिहरूले यो खबर सुनेपछि उठेर आई हेर्दा आफ्ना सैनिकलाई किल्ला बाहिर देखे।
बाहिरबाट पानी नआएको र भित्र राखिएको पानी पनि शत्रु सेनाले पोखिदिएकाले किल्लाभित्र हाहाकार थियो। बाँकी रहेका सैनिकमध्ये पनि धेरै मरे, धेरै घाइते भए। पानी पिउन नपाएका सैनिकहरू आफ्ना साथीहरूको यो अवस्था देखेपछि झन् विह्वल थिए।
बलभद्रहरूले ती सैनिकलाई चेतावनी दिंदै ‘किल्ला छाडी गएमा तिमीहरूलाई असल हुने छैन’ भनिरहँदा तलतिरबाट अङ्ग्रेज सैनिकहरूले ‘हाम्रो पक्षमा मिल्न आओ’ भनी डाकिरहेका थिए। नेपाली सेनापतिहरूले धम्की दिएपछि धेरैजसो सैनिक नालापानी किल्लामा फर्के, केही मात्र फर्केनन् (पन्त, उहीः६३)।
यस प्रकारले नेपाली सेनापतिहरूलाई आफ्ना सैनिकहरू किल्लाभित्र टिकाइराख्न पनि हम्मे पर्न थालिसकेको थियो। बाहिरबाट पानी नआएको र भित्र राखिएको पानी पनि शत्रु सेनाले पोखिदिएकाले किल्लाभित्र हाहाकार थियो। बाँकी रहेका सैनिकमध्ये पनि धेरै मरे, धेरै घाइते भए। पानी पिउन नपाएका सैनिकहरू आफ्ना साथीहरूको यो अवस्था देखेपछि झन् विह्वल थिए। यस्तो अवस्थामा मर्नै परे मर्छौं तर किल्ला छाड्दैनौं भनी कबूल गर्नेमा बलभद्र समेतका चार सेनापतिले आफ्नो नाम लेखाए। कबूल गर्नेको सङ्ख्या ८५ पुग्यो।
मंसीर १६ गते त्यहाँ यस्तो कबूल भइरहँदा नालापानी आसपासकै अर्को नेपाली किल्लाको कालनाल कम्पनीका सैनिकहरू नालनिसान सहित किल्ला छाडेर देहरादूनतर्फ हिंडे। त्यो थाहा पाएर नालापानीमा कबूल गर्ने केही सैनिक पनि कालनाल कम्पनीकै पछि लागे। नालापानीमा ५०-६० जना मात्र बाँकी रहे। यस्तो अवस्थाले बलभद्र कुँवर हतोत्साह भए। देहरादून हारिए पनि पहाड थाम्नै पर्छ भनेर उनीहरूले मंसीर १६ गते राति नालापानी छाडे (पन्त, उहीः६४)।
बलभद्र बचेका सैनिक र महिला समेत लिई किल्लाको ढोका खोलेर, काँधमा बन्दूक, पीठमा तोसदान र कम्मरमा खुकुरी भिरेर निस्के। शत्रु सैनिकहरू घेरा दिइरहेकै थिए। बलभद्रका साथ नेपाली सैनिकहरू निर्भीकता र शानपूर्वक बाहिर निस्कँदा अङ्ग्रेज सैनिक चाहिं छक्क परेर हेरिरहेका थिए। उनीहरू नजिकको सोतामा गएर पेटभर पानी पिई उकालो लागे। थोरै सैनिकको भरमा ठूलो सङ्ख्याका शत्रु सेनालाई एक महीनासम्म रोकी उनीहरूतर्फ ज्यादा नोक्सान गराएका बलभद्रले यसरी शत्रुको घेराबाट उम्केर अपूर्व वीरता प्रदर्शन गरेका थिए (आचार्य, उहीः२१)।
बलभद्रहरूले नालापानी छाडेपछि किल्लाभित्र प्रवेश गर्ने अङ्ग्रेज सैनिक अधिकृत हेनरी सेयस उडले आफ्नी पत्नीलाई लेखेको पत्र (शिवप्रसाद शर्मा, सिपाही मासिक वर्ष २१-२०४५ः१४२) मा नालापानी किल्लाभित्रको अवस्था बडो हृदयविदारक देखिन्छ। पत्रमा यस्तो लेखिएको छ :
‘ऐया! ऐया! भनेर कराइरहेका सिकिस्त बिरामी र भोकाहरूको लाशले भरिएको थियो। टेक्ने ठाउँ नै नभएकाले बत्ती ल्याई मुर्दा पन्छाएर पाइला सार्नुपर्थ्यो। बाँचेकाहरूलाई पानी खुवाउनसम्म पनि टेक्ने ठाउँ नभएर कठिन भइरहेको थियो। एक जना आईमाई जो मुख बाएर पानी! पानी! भनिरहेकी थिइन्, लाशैलाशले पुरिएकी थिइन्। हिथकोटले मुर्दाको छेउछाउमा टेकेर ती महिलालाई पानी खुवाउने कोशिश गरिरहेका थिए। तर, त्यस ठाउँमा पुग्न नसकेर टाढैबाट आँ...गर भनी पानी फ्याँकिदिन्थे। यसरी दुई-चार घुट्का पानी खान पाइन, हिथकोटको प्रयास मैले हेरिरहेको थिएँ’ (डा. सुरेन्द्र केसी, ‘गोर्खा भर्ती कथा, व्यथा र आन्दोलन’ २०६२ः३३)।
नालापानी किल्लाभित्र निस्पट्ट अँध्यारो र सडेको लाशको दुर्गन्ध व्याप्त थियो। साना बालबालिका मृत आमाका दूध नपाएर रोइरहेका थिए। अपाङ्ग बालकहरू पनि रोइरहेका थिए।
नालापानी किल्लाभित्र निस्पट्ट अँध्यारो र सडेको लाशको दुर्गन्ध व्याप्त थियो। साना बालबालिका मृत आमाका दूध नपाएर रोइरहेका थिए। अपाङ्ग बालकहरू पनि रोइरहेका थिए। नेपाली सैनिकले मृतकलाई हतारहतार गाडेका कारण लाशको खुट्टा र टाउको बाहिरै अनि स्यालले लुछ्न लागेको देखिन्थ्यो (डा. प्रेमसिंह बस्न्यात, ‘नेपाल-अङ्ग्रेज युद्धको २०० वर्ष’ २०७१ः१५६)।
नालापानीमा यस्तो बाध्यताबीच किल्ला छाडेर हिंडेका बलभद्र पहाडी मोर्चामा पुगी आफ्ना सहयोद्धाहरूसँग मिलेर बाँकी युद्ध लडिरहेका थिए।
नालापानीदेखि उत्तर-पश्चिमपट्टि शत्रुले अधिकार जमाइसकेकाले उनी पूर्वपट्टि लागे। तिनलाई भेट्टाउन मंसीर १८ गते बिहानै अङ्ग्रेज सेनापति मेजर लड्लो एक हजारको फौजका साथ निस्के। दोस्रो दिन द्वारामा दुई पक्षको देखादेख भयो। अग्लो ठाउँको रूखमा आड लिई नेपाली सैनिकले गोली चलाउँदा शत्रुतिरका तीन अफिसर र १५ सैनिक मारिए। नेपाली सैनिकतिर नौ जना परे। अगाडि बढ्न नसकेपछि लड्लोले फौज फर्काए। बलभद्र रातभर हिंडेर गङ्गा किनारको चतुवारगढी पुगे।
नालापानीको सहयोगका लागि दुई सय ५० सैनिक लिएर गएका काजी रणद्वीपसिंह बस्न्यात त्यहीं थिए। नालापानीकै सहयोगका लागि दुई सय ५० सैनिक लिएर काठमाडौंबाट गएका काजी रेवन्त कुँवर जयन्तगढमा रहेका काजी रणजित कुँवरसँग मिले। रणद्वीपसिंह बस्न्यात र बलभद्र भेट भएपछि उनीहरू पनि महाभारत पहाड खण्डमा पसी जयन्तगढमा सामेल भए (आचार्य, उहीः२१)।
बलभद्र कति वीर थिए भन्ने कुरा उनलाई अङ्ग्रेजले गरेको उच्च सम्मानले पनि देखाउँछ। युद्ध समाप्तिपछि सम्झना स्वरूप अङ्ग्रेजहरूले नालापानी तल रिस्पनदीको किनारमा कुँद्न लगाएको स्मारकले त्यो सम्मान उजागर गर्छन्। उनीहरूले दुइटामध्ये एउटा स्तम्भ त्यस युद्धमा वीरगति प्राप्त गर्ने अङ्ग्रेज अधिकृत र जवानहरूको सम्झनामा तथा अर्को स्तम्भ अङ्ग्रेजका वीर शत्रु बलभद्र कुँवरको प्रशंसा र सम्मानमा खडा गरेका थिए (केसी, उहीः३४)।
बलभद्र सुगौली सन्धिको केही वर्षपछि मात्र लाहोर पुगी रणजित सिंहको फौजमा भर्ना भएका थिए। नेपालमै रहेका वेला उनले मामाहरू अर्जुनसिंह र भूपालसिंह थापासँगको भेटमा अन्य मुलुक जाने इच्छा जनाएका थिए।
बलभद्रको लाहोर पलायन
सुगौली सन्धिपछि नेपाल सरकारले छाडेका कुमाउँ, गढवाल र बाह्रठकुराईमा रहेका नेपाली सैनिकमध्ये बम शाह, अमरसिंह थापा, बख्तवारसिंह बस्न्यातका साथ थोरै मात्र सैनिक देश फर्किए। अधिकांश नेपाली सैनिकलाई अक्टरलोनीले उतै रोकिराखेका थिए। कुमाउँमै घरबार गरी बसेका थोरै गोरखाली सैनिक आफ्नै खुसीले उता अडेका थिए। यसरी उतै बसेका सबै सैनिकलाई तत्कालीन मुख्तियार भीमसेन थापाले खारेज गरिदिएका थिए। यिनै सैनिक लिएर कम्पनी सरकारले भारतीय गुर्खा सेनाको जग बसाल्यो (आचार्य, उहीः४७)।
सुगौली सन्धिपछि बलभद्र पनि नेपाल आएका थिए। बुद्धिलाल भण्डारीद्वारा लिखित राष्ट्र निर्माणका केही योद्धाहरू (२०५०ः१००) मा प्रकाशित विसं १८७३ माघ शुदि १३ रोज ६ मा सरदार जगदेउ भण्डारीका नाममा जारी रुक्कामा उनका ठाउँमा बलभद्र कुँवरलाई पठाइएको र जगदेउलाई फिर्ता बोलाइएको ब्यहोरा उल्लेख छ (दिनेशराज पन्त, पूर्णिमा पूर्णाङ्क ९९-आश्विन २०५७ः६३-६४)।
बलभद्र कुँवर सम्बन्धी यस्तो तथ्य आएपछि पन्तले पूर्णिमा पूर्णाङ्क ५ (२०२२ वैशाखः६४) मा प्रकाशित आफ्नो ‘लाहोरमा नेपाली वीरहरू’ शीर्षक लेखमा उल्लिखित ‘नालापानीको प्रसिद्ध लडाका बलभद्र कुँवर नेपाल-अङ्ग्रेज युद्धपछि रणजित सिंहको सेनामा भर्ना भएका थिए’ भन्ने वाक्यांशप्रति आत्मसंशोधन गरेका छन्।
काठमाडौं, भद्रकालीको गुठीलगत तथा अभिलेख शाखा कार्यालयमा महेशराज पन्तले फेला पारेको अर्को पत्र अनुसार पनि बलभद्र सुगौली सन्धिपछि नेपालमै सक्रिय भएको देखापर्छ। विसं १८७३ माघ शुदि ६ रोज ५ मा राजा राजेन्द्रविक्रम शाहद्वारा बलभद्र कुँवरलाई सम्बोधन गरिएको एक पत्रमा उनका बुबाले दुल्लुमा श्रीइन्द्रज्वाला स्थापना गरेको र त्यसका लागि पाँच मुरीको गुठी स्थापना गरिएको उल्लेख छ (पन्त, उहीः६३-६४)।
बलभद्र सुगौली सन्धिको केही वर्षपछि मात्र लाहोर पुगी रणजित सिंहको फौजमा भर्ना भएका थिए। नेपालमै रहेका वेला उनले मामाहरू अर्जुनसिंह र भूपालसिंह थापासँगको भेटमा अन्य मुलुक जाने इच्छा जनाएका थिए। उनले मामाहरूसँग ‘मुलुकभित्र खुकुरीको शान र अवसर या अवस्था नभएको देखिएकाले अन्य मुलुकमा जाने’ बताएका थिए। यही चाहना अनुसार उनले विसं १८७६/७७ ताका नेपाली फौजबाट अवकाश लिए (कुँवर र डा. कुँवर, उहीः५१-५२)।
नेपाल-अङ्ग्रेज युद्ध सकिएपछि बडाकाजी अमरसिंह थापाको टोलीले भीमसेन थापाको मातहत काम गर्न चाहेन। तीमध्ये बलभद्र पनि एक थिए। भीमसेन थापाप्रति असन्तुष्टि जनाउँदै उनले राजीनामा दिए। वास्तवमा बलभद्रलाई भीमसेन थापाले खेदेका थिए। लाहोर गएको दुई वर्षसम्म पनि भीमसेनले उनका बारेमा जासूसी गर्न एक जना सुवेदारलाई गोप्य रूपमा पठाएका थिए (बस्न्यात, उहीः१५७-१५८)।
कप्तान बलभद्र कुँवरको तलब पहिले दैनिक १० रुपैयाँ थियो। पछि पाँच रुपैयाँ थपिएर १५ रुपैयाँ पुग्यो। उनलाई पुरानो गोर्खाली पल्टनको जिम्मा पनि दिइएको थियो।
इतिहासकार दिनेशराज पन्तले त्यस वेलाका लाहुरेहरूको तलबका बारेमा पनि ऐतिहासिक पत्र फेला परेका छन्। लाहोर पुगी लाहुरे भएकामध्ये बडाकाजी अमरसिंह थापाका छोरा भूपालसिंहको तलब सबैभन्दा बढी थियो। उनको तलब शुरूमा दैनिक १८ रुपैयाँ थियो, तर पछि जुवाको लतमा लागेको, ऋणमा परेको तथा काममा पनि लापरबाही गरेकाले दैनिक ११ रुपैयाँमा झर्यो। भूपालका दाजु अर्जुनको तलब पहिले दैनिक सात रुपैयाँ थियो, पछि १० रुपैयाँ पुग्यो।
जुवाडे लाहुरेहरूलाई ‘कति जुवा खेल्छौ’ भन्दै थप्पड हानेपछि खुशी भएका रणजित सिंहले उनको तलब बढाइदिए। यस्तै, अर्जुनका छोराको तलब दैनिक सात रुपैयाँ रहेको पत्रमा खुलेको छ। अर्जुन र भूपाल दुवै कप्तान दर्जामा थिए।
यता कप्तान बलभद्र कुँवरको तलब पहिले दैनिक १० रुपैयाँ थियो। पछि पाँच रुपैयाँ थपिएर १५ रुपैयाँ पुग्यो। उनलाई पुरानो गोर्खाली पल्टनको जिम्मा पनि दिइएको थियो। (पन्त, उहीः६५-६९)।
बलभद्र कति बहादूर थिए भने अङ्ग्रेजहरूले जैतकगढीको युद्धमा बलभद्र मरे भन्ने झूटो प्रचार गर्दै नेपाली सेनापति बम शाहको कान भरेर उनीहरूलाई हतोत्साह बनाउने प्रयास गरेका थिए। त्यसैलाई पत्याएर कुमाउँ गढका शासक चौतारिया बम शाह र उनका साथीहरूले नेपाल सरकार समक्ष यस्तो पत्र लेखे, ‘जैतकगढीका लडाइमा काजी अजंमर पन्थ घा लागि पक्रीया. कपतान बलभद्र कवर पर्या...’ (महेशराज पन्त, ‘पूर्णिमा’ पूर्णाङ्क १, २०२१ वैशाखः५०-५१)।
त्यस वेला बलभद्र कुँवरको देहान्त भएकै थिएन। विसं १८७९ मा सीख-अफगान युद्धमा नेपालीहरूले सीखको पक्षबाट वीरतापूर्वक लडेका थिए। उक्त युद्धको कुरा बुझ्न भीमसेन थापाले मानिस पठाएका थिए। रणजित सिंहको फौजमा भर्ती भएका नेपालीहरूले यही विषयमा भीमसेनलाई एउटा पत्र लेखेका थिए जसमा बलभद्र कुँवरको देहान्त भएको उल्लेख छ।
पत्रमा ‘जिउदा मर्याका हिसाप भन्या चैत ३ का दिन जाँदा अजिम षांसंग पेसौरमा नौशेरा भन्याको ठिंवा नौ वाछाहाको लड्याको जगा रहेछ. तही ठाउँमा हाम्रा पनि लडाञि भयो. कप्तान बलभद्र कुंवर सुवेदार बमसिं षड्का ज्मदार ञैमान षवास् ज्मादा रूपसीं षड्का जिउनसिं टुरा सिपाहि ५० हाम्रा जगामा पर्या’ भन्ने उल्लेख छ (पन्त, उहीः५३-५४)।
यसबाट प्रस्ट हुन्छ- नालापानी युद्धका वीर सेनानायक बलभद्र कुँवरले बाध्यतावश नेपाल छाडेर लाहुर गई अर्काको देशका लागि युद्ध लड्दालड्दै विसं १८७९ चैत ३ गते वीरगति पाएका थिए।