विश्वकप छनोटको तयारी गर्न नेपाली क्रिकेट टोली बाङ्लादेश प्रस्थान
आईसीसी महिला टी-२० विश्वकप क्रिकेटको छनोट प्रतियोगिताको तयारीका लागि नेपाली टोली बाङ्लादेश प्रस्थान गरेको छ ।
बिहीबार बाङ्लादेश प्रस्थान गरेको टोलीले त्यहाँ २५ कात्तिकसम्म तयारी गर्नेछ। नेपाली टोलीले चार अभ्यास खेल खेल्ने नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिए।
रुबिना क्षेत्री कप्तान रहेको टोलीमा सीता रानामगर, करुणा भण्डारी, डली भट्ट, इन्दु बर्मा, सरिता मगर, ज्योति पाण्डे, सरस्वती चौधरी, काजल श्रेष्ठ, सबनम राई, कविता कुँवर, अप्सरी वेगम, कविता जोशी र संगीता राई छन्।
यस्तै, सरस्वती जीएम, रोमा थापा, अस्मिना कर्माचार्य र ममता चौधरीलाई वैकल्पिक खेलाडीका रूपमा राखिएको छ।
आईसीसी महिला टी-२० विश्वकप क्रिकेटको छनोट प्रतियोगिता आगामी ३ देखि १३ मंसीरसम्म युनाइटेड अरब इमिरेटस् (यूएई)मा हुनेछ। प्रतियोगितामा नेपाल सहित यूएई, भुटान, कुवेत, हङकङ र मलेशियाले प्रतिस्पर्धा गर्नेछन्।
नेपालले ६ मंसीरमा हङकङसँग, ७ मंसीरमा भुटानसँग, ९ मंसीरमा कुवेतसँग, १० मंसीरमा मलेसियासँग र १२ मंसीरमा यूएई विरुद्ध खेल्ने तय भएको छ।
प्रतियोगिताको शीर्ष टोली आगामी वर्ष हुने ग्लोबल क्वालिफायरका लागि छनोट हुनेछ।