बालबालिकामा बढ्दो मानसिक स्वास्थ्य समस्या
कोरोना महामारीमा विद्यालय बन्द हुँदा घरमै सीमित बालबालिकामा मानसिक स्वास्थ्य समस्या बढ्दै गएको पाइएको छ।
रुपन्देहीको बुटवल उपमहानगरपालिका–१० की ७ वर्षीया रुप्सा आमाबाबुसँग झर्किने गरेकी छन्। खाजा खान रुचि देखाउँदिनन्। अरूसँग खासै घुलमिल पनि गर्दिनन्। कक्षा २ मा पढ्ने उनले लेखपढमा ध्यान दिन छाडेकी छन्।
बरु दिउँसोभरि र राति अबेरसम्म मोबाइलमा गेम खेल्छिन्। “पहिले त फरासिली थिई। सबैसँग घुलमिल हुन्थी,” उनकी आमा भन्छिन्, “कोरोना महामारीका कारण स्कूल र बाहिर घुमफिर बन्द भएपछि छोरीको बानी बदलियो।”
रुपन्देहीकै तिलोत्तमा नगरपालिका–१ शंकरनगरका ८ वर्षीय रूपेश घरमा एक्लै बस्न रुचाउँछन्। अरूले बोलाउँदा चिढिन्छन्। पढ्न मन गर्दैनन्। उनी लकडाउनअघि यस्ता थिएनन्। रूपेशको बदलिएको व्यवहार देखेर आमाबुबा चिन्तित छन्।
“विद्यालय बन्द हुँदा र घर बाहिर साथीहरूसँग खेल्न, घुम्न नपाउँदा बालबालिकालाई समय बिताउन गाह्रो भयो,” समाजशास्त्री डा. गीतु गिरी भन्छिन्, “यसले गर्दा उनीहरूमा टाउको दुख्ने, झर्किने जस्ता समस्या देखा परेका छन्।”
त्यस्तै, दाङको घोराहीस्थित बालविकास माविमा कक्षा १० मा पढ्ने रुकुम पूर्वको भुमे गाउँपालिका–३ भुम्लावाङका प्रकाश कोभिड-१९ को महामारीपछि जहिल्यै चिन्ताग्रस्त देखिन्छन्। “कहिले स्कूल खुल्ने, कहिले बन्द हुने भइरहन्छ। समयमा परीक्षा होला/नहोला, राम्ररी पढाइ पूरा गर्न सकिएला/नसकिएला भन्ने कुरा मात्र मनमा खेलिरहन्छ। भविष्य नै बिग्रने पो हो कि भन्ने पनि लाग्छ,” उनी भन्छन्, “साथी र सरहरूसँग सरसल्लाह गर्दै पढ्दा बेग्लै ऊर्जा आउँथ्यो।”
कोभिड-१९ महामारी शुरू भएसँगै गरिएको बन्दाबन्दी र निषेधाज्ञाका कारण विद्यालय बन्द हुँदा बालबालिका घरभित्रै थुनिए। सङ्क्रमण सर्ने जोखिमले घुमफिर गर्न र छरछिमेकका साथीसँग खेल्न पनि पाएनन्। मोबाइल, टीभी हेरेरै समय कटाउन थाले। जसका कारण उनीहरूमा रुप्सा र रूपेशको जस्तै झर्किने, चिढिने, अरूसँग घुलमिल नहुने जस्ता बानी विकास भएका छन्।
प्रकाश जस्ता माथिल्लो कक्षाका बालबालिका भने महामारीका कारण पढाइ नहुँदा भविष्य नै बिग्रिने हो कि भन्ने चिन्तामा छन्। कोरोना लाग्ला, ज्यान तल–माथि होला कि भन्ने डर पनि उनीहरूमा छ।
११ चैत २०७६ मा देशव्यापी बन्दाबन्दीसँगै बन्द भएका विद्यालय २०७७ मंसीर दोेस्रो साताबाट मात्रै सञ्चालनमा आए। त्यसपछि महामारीको दोस्रो लहर आएसँगै २०७८ वैशाख दोस्रो साताबाट फेरि निषेधाज्ञा लागू भयो। सङ्क्रमण मत्थर भएपछि असोज पहिलो साताबाट मात्रै सञ्चालनमा आए। कोरोना सङ्क्रमण यथावत् रहेको र जनस्वास्थ्य विज्ञले तेस्रो लहरको चेतावनी दिइरहेकाले विद्यालय कहिलेसम्म खुल्छन् भन्ने अन्योल कायमै छ।
लामो समय विद्यालय बन्द भएर घरमै बस्नुपर्दा बालबालिकामा गम्भीर मानसिक स्वास्थ्य समस्या देखा परेको विज्ञहरू बताउँछन्। बिर्सने, दिक्क मान्ने, हैरानी महसूस हुने, अरूसँग कुरा गर्न मन नलाग्ने, व्यक्तिगत सरसफाइ गर्न मन नलाग्ने जस्ता समस्या बढेको उनीहरूको भनाइ छ। “विद्यालय बन्द हुँदा र घर बाहिर साथीहरूसँग खेल्न, घुम्न नपाउँदा बालबालिकालाई समय बिताउन गाह्रो भयो,” समाजशास्त्री डा. गीतु गिरी भन्छिन्, “यसले गर्दा उनीहरूमा टाउको दुख्ने, झर्किने जस्ता समस्या देखा परेका छन्।”
अभिभावकबाट पर्याप्त समय नपाएका बालबालिकामा मानसिक समस्या बढी देखिएको विज्ञहरू बताउँछन्। जस्तो, बुटवलकी रुप्साका बुबा प्रहरीमा कार्यरत छन्। उनी कहिलेकाहीं मात्रै घर आइपुग्छन्। रुप्साकी आमालाई घरधन्दा सम्हाल्नै भ्याईनभ्याई हुन्छ। उनी छोरीलाई पर्याप्त समय दिनै भ्याउँदिनन्। घरमा रुप्सासँग खेल्ने साथी पनि छैन।
“घरबाट बाहिर निस्कन नखोज्ने भयो, राति निदाएका वेला एक्कासि चिच्याएर रुने गर्न थाल्यो,” उनकी आमाले सुनाइन्, “डाक्टरलाई देखाएपछि पो छोरालाई मानसिक समस्या भएको रहेछ भन्ने थाहा भयो। अहिले डाक्टरको सल्लाहमा उपचार र ख्याल गरिरहेका छौँ।”
त्यस्तै, रूपेशका बुबा भने चालक हुन्। उनकी आमा लुगा सिलाउँछिन्। आ–आफ्नो काममा व्यस्त रहेका आमाबुबाले रूपेशको व्यवहार बदलिएको चालै पाएनन्।
आफू कामधन्दामा व्यस्त रहँदा बुटवलका ४ वर्षीय स्वरूपका अभिभावकले उनलाई मोबाइल र टीभीमा अलमल्याउँथे। बिस्तारै उनलाई जति वेला पनि मोबाइल वा टीभी चाहिने भयो। “घरबाट बाहिर निस्कन नखोज्ने भयो, राति निदाएका वेला एक्कासि चिच्याएर रुने गर्न थाल्यो,” उनकी आमाले सुनाइन्, “डाक्टरलाई देखाएपछि पो छोरालाई मानसिक समस्या भएको रहेछ भन्ने थाहा भयो। अहिले डाक्टरको सल्लाहमा उपचार र ख्याल गरिरहेका छौं।”
बन्दाबन्दी तथा निषेधाज्ञाको जस्तो परिस्थिति आइपरेका वेला बालबालिकालाई घरभित्रै खेल्ने, रमाउने ठाउँको व्यवस्था मिलाइदिनुपर्ने र अभिभावकले पनि समय दिएर उनीहरूलाई पढाउन, खेलाउन, रमाइलो गराइदिन ध्यान दिनुपर्ने विज्ञहरू बताउँछन्। अधिकांश अभिभावकले बालबालिकालाई अलमल्याउन मोबाइल दिएर र टीभी सधैं खोलिदिएर बानी बिगारिदिने गरेको उनीहरूको भनाइ छ। “अभिभावकले आफ्नो बच्चाको पहिले र अहिलेको व्यवहारमा कुनै अन्तर आयो कि आएन भनेर निकै ख्याल गर्नु जरुरी छ। फरक देखिन थाल्यो भने बेवास्ता गर्नै हुन्न,” डा. गिरी भन्छिन्, “बालबालिकालाई पढ् पढ् भनेर बारम्बार दबाब दिइरहे पनि उनीहरूमा मानसिक असर पर्न सक्छ।”
दाङको घोराही उपमहानगरपालिका–१५ भरतपुरकी १३ वर्षीया सविताले कोरोना सङ्क्रमणका कारण आमाको मृत्यु भएपछि आफूलाई सम्हाल्न गाह्रो भएको बताइन्। उनकी ४३ वर्षीया आमाको ८ असारमा मृत्यु भएको थियो। “आमा गुमाउँदा एकातिर घरव्यवहार भत्कियो, अर्कातिर आमाको सुर्ताले न पढ्न सकिन्छ न अरू कुरा सोच्न,” उनी भन्छिन्।
अरू पनि थुप्रै बालबालिका छन्, जसले कोरोना महामारीकै कारण आमा–बुबा लगायत परिवारजन गुमाएका छन्। कतिपय त मानसिक रूपमा विक्षिप्त अवस्थामा पुगेका छन्। कोरोनाका कारण लुम्बिनी प्रदेशमा मात्र ४४ बालबालिकाले बाबुआमा गुमाएको राष्ट्रिय बाल अधिकार परिषद्को तथ्याङ्क छ।
“कोभिड पोजेटिभ रिपोर्ट आएपछि त म आत्तिएँ। के कसो हुने हो भन्ने भयो। यस्तो वेला सान्त्वना दिने, परामर्श दिने मान्छे चाहिने रहेछ।”
घोराही–१७ का सबिनले आफू सङ्क्रमित भएका वेला साह्रै डर र चिन्ता लाग्ने गरेको अनुभव सुनाए। कक्षा ९ मा अध्ययनरत उनी भन्छन्, “कोभिड पोजेटिभ रिपोर्ट आएपछि त म आत्तिएँ। के कसो हुने हो भन्ने भयो। यस्तो वेला सान्त्वना दिने, परामर्श दिने मान्छे चाहिने रहेछ।” चिकित्सकका अनुसार, बिरामीले मनोबल कमजोर बनाउँदा रोगले बढी च्याप्न सक्छ।
घोराहीकै १५ वर्षीय किरणको कोभिड-१९ का कारण ज्यान गयो। बाँकेको कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेजमा उपचारका क्रममा २३ असोजमा उनको मृत्यु भयो।
विज्ञहरूका अनुसार, बालबालिका सङ्क्रमित भएर आइसोलेशनमा राखेका वेला उचित मनोसामाजिक परामर्श हुन सकेन भने मानसिक समस्या बढ्ने सम्भावना अधिक हुन्छ। समयमै ध्यान दिन नसके मानसिक समस्यामा गुज्रेका बालबालिकाले आफ्नो ज्यान आफैं लिने जोखिम भएकाले अभिभावक सचेत रहनुपर्ने मनोविद् बताउँछन्। लुम्बिनी प्रदेशमा साउनयता मात्र ३१ बालबालिकाले आत्महत्या गरेको तथ्याङ्क छ। आन्तरिक मामिला तथा कानून मन्त्रालय अन्तर्गतको प्रदेश मामिला सूचना केन्द्रका बाबुराम पन्थी आर्थिक वर्ष २०७७/७८ मा लुम्बिनीमा १३० जना र अघिल्लो आर्थिक वर्षमा ११५ बालबालिकाले आत्महत्या गरेको बताउँछन्।
त्यस्तै, कोरोनाको समयमा युनिसेफले गरेको अध्ययनमा पनि बालबालिकामा निराशाको समस्या देखिएको पाइएको छ। नेपालमा १० देखि १७ वर्षसम्मका बालबालिकामध्ये दुई प्रतिशतमा निराशाको समस्या देखिएको युनिसेफले जनाएको छ।
जिम्मेवार अभिभावक
कोरोनाका कारण १३ वर्षमुनिका बालबालिकामा मानसिक स्वास्थ्य समस्या धेरै देखिएको लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलका नसा तथा मानसिक रोग विशेषज्ञ डा. एन्जिल क्षेत्री बताउँछन्। “बिस्तारामा पिसाब फेर्न छाडिसकेका बच्चाले फेरि पिसाब गर्न थाल्नु मानसिक समस्याको सङ्केत हुनसक्छ,” डा. क्षेत्री भन्छन्। पाँच वर्षमुनिका बालबालिकाले रुँदा वा बोलाउँदा बेवास्ता गरेमा यस्तो समस्या देखिने उनको भनाइ छ। डा. क्षेत्रीका अनुसार, मानसिक समस्या भएका बालबालिकामा पेट दुख्यो, टाउको दुख्यो भन्ने, निद्रामा बर्बराउने, साविकभन्दा धेरै वा कम सुत्ने, खानपिनमा गडबड हुने, धेरै खाने वा खानै नखाइदिने लक्षण देखिन्छन्।
“स्कूल जान नपाएर, साथीसँग बाहिर गएर खेल्न नपाएर बालबालिकामा त्यसै पनि एक खालको तनाव हुन्छ। यस्तो वेला अभिभावकले उनीहरूमा अरू कुनै तनाव नहोस् भनेर घरभित्रको वातावरण सहज बनाइदिनुुपर्छ।”
बन्दाबन्दी तथा निषेधाज्ञा वा अन्य कारणले घरको वातावरण बदलिएका वेला अभिभावकले बालबालिकाको विशेष ख्याल गर्नुपर्ने डा. क्षत्री बताउँछन्। “स्कूल जान नपाएर, साथीसँग बाहिर गएर खेल्न नपाएर बालबालिकामा त्यसै पनि एक खालको तनाव हुन्छ। यस्तो वेला अभिभावकले उनीहरूमा अरू कुनै तनाव नहोस् भनेर घरभित्रको वातावरण सहज बनाइदिनुुपर्छ,” उनी भन्छन्। मानसिक समस्या भएका बालबालिकाको राम्ररी उपचार भएन र अभिभावकले राम्रोसँग हेरचाह गरेनन् भने दीर्घकालीन असर पर्न सक्ने उनको भनाइ छ।
बुटवलस्थित कालिका मानवज्ञान माविका शिक्षक युवराज कँडेलका अनुसार, बालबालिका स्वभावैले बाहिरी वातावरणसँग घुलमिल हुन खोज्ने, नयाँ–नयाँ कुरा जान्न, सिक्न चाहने गर्छन्। बन्दाबन्दी तथा निषेधाज्ञाले घुलमिल तथा सिकाइको वातावरण बिथोलिदियो। यस्तो वेला अभिभावकले पनि घरभित्रै सिकाउने, बुझाउने वातावरण तयार नगरिदिंदा बालबालिकामा मानसिक समस्या देखिएको उनी बताउँछन्। “बालबालिका एकोहोरो हुने, रिसाउने, झर्किने, काममा ध्यान नदिने, एकाग्रता नहुने जस्ता समस्या देखिएका छन्,” शिक्षक कँडेल भन्छन्, “पछिल्लो समयमा १०–१२ वर्षका बच्चाले समेत आत्महत्या गरेको, आत्महत्याको प्रयास गरेको सुन्न थालिएको छ।”
शिक्षक कँडेल अनलाइन पढाइले पनि बालबालिकामा मोबाइल र ल्यापटपको लत बसाएको बताउँछन्। मोबाइल वा ल्यापटप हात परेपछि बालबालिकाले मौका पर्नासाथ भिडियो हेर्ने वा गेम खेल्ने गरेको उनी बताउँछन्। “मोबाइल, ल्यापटपसँग लामो समय रहने बच्चामा चिढचिढापन हुने, रिसाउने, आमाबुबाले भनेको नमान्ने जस्ता समस्या देखिएका छन्,” उनी भन्छन्।
विज्ञहरूका अनुसार, बालबालिकाको आनीबानी सुधार्ने शैली पनि महत्त्वपूर्ण हुन्छ। हप्काउने, धम्क्याउने वा कुटपिट गर्ने गरेमा मानसिक समस्या झन् बढ्दै जान्छ। गत फागुनमा रुपन्देहीको देवदहका १४ वर्षीय बालकले मोबाइल चलाउने विषयमा बुबाको गाली खाएपछि गोठमा झुन्डिएर आत्महत्या गरे। इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी मदन कुँवर सामान्य झैझगडामा पनि बालबालिकाले आत्महत्या गर्ने क्रम बढिरहेको बताउँछन्। परिवार वेलैमा सजग हुनुपर्ने उनको भनाइ छ।
कोरोनाका बालबालिकालाई भावनात्मक रूपमै गाह्रो हुने भएकाले अभिभावक सजग हुनुपर्ने मनोसामाजिक विमर्शकर्ता बेबी शाह बताउँछिन्। “कतिपयले कोरोनाकै कारण आमाबुबा गुमाएका छन्। त्यस्तो अवस्थाका बालबालिकालाई विशेष ध्यान दिनुपर्छ,” उनी भन्छिन्।
“चुकुल लगाएर बस्ने, एकछिनपछि चुकुल लगाइनँ कि भनेर फेरि हेर्न जाने, यस्तो पटक पटक दोहोर्याइरहने गर्नु मानसिक समस्याको लक्षण हुनसक्छ।”
उनका अनुसार, एउटै कुरा दोहोर्याइरहनु पनि मानसिक समस्याको सङ्केत हो। उनी उदाहरण दिंदै भन्छिन्, “चुकुल लगाएर बस्ने, एकछिनपछि चुकुल लगाइनँ कि भनेर फेरि हेर्न जाने, यस्तो पटक पटक दोहोर्याइरहने गर्नु मानसिक समस्याको लक्षण हुनसक्छ।”
मनोविमर्शकर्ता एवं स्वास्थ्यकर्मी राधा पौडेल पछिल्लोे समय बालबालिकामा मानसिक स्वास्थ्य समस्या चिन्ताको विषय बन्दै गएको बताउँछिन्। “बालबालिकाको मानसिक स्वास्थ्य समस्यालाई लिएर परामर्शका लागि अस्पताल आउने अभिभावक धेरै देखिएका छन्,” उनी भन्छिन्।
के गर्ने त?
बालबालिकामा मानसिक समस्या निम्तिन नदिन अभिभावककै भूमिका महत्त्वपूर्ण हुने विज्ञहरू बताउँछन्। महामारीका वेला बालबालिकामा डरत्रास बढाउने सन्देश प्रवाह गर्न नहुनेमा उनीहरूको जोड छ। “बच्चाहरूलाई कोरोनाबाट यति मरे, उति मरे भनेर सुनाउनुभन्दा पनि कोरोनाभाइरस के हो, यसबाट कसरी जोगिन सकिन्छ भन्ने हिसाबले ज्ञानगुन दिनुपर्छ, सतर्क भए खतरा हुँदैन भन्ने सन्देश दिनुपर्छ,” नसा तथा मानसिक रोग विशेषज्ञ डा. क्षेत्री भन्छन्, “परिवारमा रहेका ठूला मान्छे पनि मानसिक रूपमा स्वस्थ रहे बालबालिकाको मनोबल उच्च रहन्छ।”
डा. क्षेत्री बन्दाबन्दी तथा निषेधाज्ञाका वेला बालबालिकालाई अभिभावकले रचनात्मक क्रियाकलापमा सामेल गराउनुपर्ने बताउँछन्। “चित्र बनाउन लगाउने, गीत गाउन तथा नाच्न सिकाउन सकिन्छ, सानातिना घरायसी काममा सहभागी गराउन सकिन्छ,” उनी भन्छन्।
दाङको पद्मोदय नमूना माविका शिक्षक शरद आचार्य सरकारले पनि बालबालिकाको मानिसक स्वास्थ्यलाई प्राथमिकता दिनुपर्ने बताउँछन्। बालबालिकाका लागि खोप तयार हुनासाथ भित्र्याएर लगाउने गरी सरकारले वेलैमा तयारी थाल्नुपर्ने उनको भनाइ छ। शिक्षक आचार्य महामारीको परिस्थितिमा विद्यालयले विद्यार्थीको सिकाइ र मूल्याङ्कन पद्धतिमा समेत परिमार्जन गर्नुपर्ने औंल्याउँछन्। “महामारीको त्रास फैलिइरहेका वेला परीक्षा र पढाइले मानसिक चिन्ता नबढाओस् भन्नेमा चनाखो हुन जरुरी छ,” उनी भन्छन्।
“ज्वरो आउने बित्तिकै कोभिड नै भइहाल्यो कि, बाँचिंदैन कि भन्ने जस्ता बुझाइ/सोचाइबाट अभिभावक र बालबालिका मुक्त हुनुपर्छ। नत्र यसले तनाव मात्रै बढाउँछ।”
त्यस्तै, शिक्षक युवराज कँडेल अनलाइन कक्षालाई अन्तरक्रियात्मक र प्रयोगात्मक बनाउनुपर्नेमा जोड दिन्छन्। यसले विद्यार्थीलाई सक्रिय बनाउने र पठनपाठनमा केन्द्रित गराउने उनको भनाइ छ। यससँगै अभिभावकले बालबालिकाको सामाजिकीकरणमा ध्यान दिनुपर्ने उनको भनाइ छ।
बालबालिकामा कोरोना महामारीबारे उपयुक्त सूचना प्रवाह गर्नुपर्ने उनी बताउँछन्। शिक्षक कँडेल भन्छन्, “ज्वरो आउने बित्तिकै कोभिड नै भइहाल्यो कि, बाँचिंदैन कि भन्ने जस्ता बुझाइ/सोचाइबाट अभिभावक र बालबालिका मुक्त हुनुपर्छ। नत्र यसले तनाव मात्रै बढाउँछ।”
मनोसामाजिक विमर्शकर्ता शाह पनि बालबालिकालाई घरमा उनीहरूले गर्न सक्ने काममा आफूले ‘गाइड’ गरेर सहभागी गराउनुपर्ने बताउँछिन्। “बालबालिकालाई सन्देशमूलक कथा सुनाउने, उनीहरूलाई पनि भन्न लगाउने गर्नुपर्छ, ड्रइङ गर्न लगाउन सकिन्छ,” उनी भन्छिन्, “यस्ता क्रियाकलापले उनीहरूमा सिर्जनशील क्षमता बढ्न सक्छ।”
अनलाइन कक्षा लिंदा बालबालिकालाई अभिभावकले पूरै छाड्न नहुने शाहको भनाइ छ। “बच्चाले के गरिरहेको छ, ख्याल गर्नुपर्यो। कतिपयले अनलाइन बसे जस्तो गरेर भिडिओ गेम खेलिरहेका हुन सक्छन्,” उनी भन्छिन्, “बच्चाहरू नजानीकनै साइबर क्राइमको शिकार भइरहेका हुन सक्छन्।” त्यसैले अभिभावकले बालबालिकाको कुरा सुन्ने र उनीहरूलाई समय दिने गर्नुपर्ने उनको भनाइ छ।
(नेपाल इन्भेस्टिगेटिभ मल्टिमिडिया जर्नालिज्म नेटवर्क)