देशका सबै अङ्ग गम्भीर रोगले सङ्क्रमित!
राजनीति देशभन्दा माथि कहिल्यै हुँदैन न त राजनीति गर्नेहरू हुन्छन्। यो चेत जगाउन पनि अब चुनाव गर्नुपर्छ। मतदाताले दण्डित गर्छन् भन्ने थाहा दिनुपर्छ। कम्तीमा दुई वटा चुनाव त लाग्छ, अहिलेको फोहोर सफा गर्न।
भर्खरै ६ वर्ष पूरा गरेको सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालका सबै अङ्ग यति वेला सङ्क्रमित छन्। रोग गम्भीर प्रकृतिको छ।
दुई-दुई पटक मरेको प्रतिनिधि सभा अन्तिम संस्कार कुरी बसे जस्तो लाग्छ। यो अवस्थाको मूल कारकबारे बजारमा अनेकौं अड्कलबाजी छन्। खुलमखुला रूपमा यो वा त्यसलाई लाभ पुर्याउन चतुर्याइँपूर्वक बुनिएका कथ्यहरू बेचिंदै छन्।
आफूलाई अग्रगामी र संविधानको रक्षाप्रति प्रतिबद्ध दाबी गरिरहेको पाँचमुखे सरकार छ, देशमा यतिखेर। शुरूआतमा पुष्पकमल दाहालको ‘ललीपप’ लाई नपत्याएका शेरबहादुर देउवा अहिले प्रधानमन्त्री छन्। दाहालसँगको लामो सहयात्रामा को कोसँग के के वाचा-कबोलहरू भए, त्यो पूरा गर्नुपर्ने ‘नैतिकता’ ले थिचिएका छन्, उनी। देउवाका यी ‘बाध्यता’ लाई बुझिदिने प्रभावशाली जमात पनि नभएको होइन। यो जमातको गुरुमन्त्र छ- सत्य परिवर्तनशील छ।
जाक डेरिडा, मिचेल फुको लगायतबाट प्रभावित, जो उत्तरआधुनिक चेतका हुनुहुन्छ, मेरा आदरणीय पनि, उहाँहरूलाई सोध्नैपर्छ- त्यसो भए द्वन्द्वकालको १७ हजारको आँकडा चाहिं के हो? के यो सत्य पनि परिवर्तन हुन्छ?
यो राष्ट्रिय सङ्क्रमणका वेला स्वार्थ समूहसँग साँठगाँठ भएकाहरूका आ-आफ्नै ‘प्रेस्क्रिप्शन’ छन्। तर, तिनले लेखेका ओखती व्यवस्थालाई थप क्षति गराएर स्वार्थ समूहलाई नै फाइदा पुर्याउने प्रकृतिका छन्।
भर्खरै ‘प्रतिगमन’ सच्याएर हाईहाई कमाएका प्रधानन्यायाधीश पनि अप्ठ्यारोमा छन्, यति वेला। आफूलाई लागेका अक्षम्य आरोपबारे टेलिभिजनमा स्पष्टीकरण दिनुपर्ने बाध्यतामा छन्। बहालवाला प्रधानन्यायाधीशको यो हविगतले सङ्केत गर्छ- न्यायालयको तेजोवध गर्ने प्रयत्न सफल भइसकेको छ। राष्ट्रपति संस्थामाथिको यस्तो प्रयत्न त यसअघि नै सफल भइसकेकै हो, न्यायालयलाई नै हतियार बनाउँदै फलानोलाई यति घण्टाभित्र प्रधानमन्त्री तोक भनेर।
विकसित यी घटनाक्रमले नेकपा (एमाले) अध्यक्ष केपी ओलीलाई लागेको हुनुपर्छ- ईश्वरले न्याय गर्दो रहेछ। तीन महीना चानचुनमै ‘न्याय’ पाउनु चानचुने कुरा होइन पनि।
तर, न्याय माग्दामाग्दै बिलाई गएकाहरूको कथाको चाङ पनि ठूलो छ, देशमा। जहाँ छोराको हत्यारालाई कारबाही माग्दै अनशन बसेका पिताको त्यत्तिकै प्राण गएको छ। देशको सभामुख विरुद्ध नै हत्या आरोपमा मुद्दा दर्ता छ। अग्नि सापकोटा सभामुख बनेको ओलीकै पालामा हुन्। अनि गजेन्द्र हमाललाई मन्त्री बनाएको देउवाजीले नै हो। दबाब जोसुकैको होस्, तत्तत् निर्णयबाट उत्पन्न परिणामको जिम्मेवारी पनि उनीहरूकै हो।
यो राष्ट्रिय सङ्क्रमणका वेला स्वार्थ समूहसँग साँठगाँठ भएकाहरूका आ-आफ्नै ‘प्रेस्क्रिप्शन’ छन्। तर, तिनले लेखेका ओखती व्यवस्थालाई थप क्षति गराएर स्वार्थ समूहलाई नै फाइदा पुर्याउने प्रकृतिका छन्। ती ओखती केही विचाराधीन मुद्दालाई प्रभावित गर्ने अत्यन्तै निजी उद्देश्यबाट प्रेरित छन् त केही देशका सबै अङ्गलाई पङ्गु बनाएर फाइदा लिने प्रकृतिका।
आम नेपाली चिन्तित छन्- अब के होला?
१२ कात्तिकमा सर्वोच्च अदालतसँगै जोडिएको नेपाल बार एसोसिएशनमा कुटपिटको घटनामा जात नघुस्नुलाई सौभाग्य नै मान्नुपर्छ। नत्र जात, धर्म, लिङ्गका नाममा आगो झोस्न एउटा विद्वत्-समूह हमेसा तयार भएर बसिरहेको हुन्छ। त्यो समूहलाई यो देशका ‘फल्ट-लाइन्स’ को दिव्य ज्ञान छ। तर, त्यसले सह-अस्तित्वको महत्त्व र आवश्यकता बुझेको छैन।
बुझे पनि त्यसलाई थप मजबूत पार्ने उसको नियत नै छैन। ‘फल्ट-लाइन्स’ मा व्यापार छ। अजेन्डा-सेटिङ, ब्रान्डिङ, रिसाइक्लिङ, रिब्रान्डिङ आदिको जमाना छ। यसमा चौथो अङ्गको भूमिका ह्वात्तै बढेको छ। विभिन्न कुकर्म गरेकाहरूलाई रिसाइक्लिङ, रिब्रान्डिङ अनिवार्य भइसकेको छ।
व्यवस्थासँगै क्रमैसँग देश जोखिममा पर्दै छ। देशबारे चिन्ता गर्नुलाई पनि वर्जित जस्तो बनाएका छन्, चौथो अङ्ग र सामाजिक सञ्जालमा पकड बनाएकाहरूले।
यसैबीच पूर्ण समानुपातिकको कुरा उठ्छ। त्यसका लाभ नभएका होइनन्। तर, धेरै राजनीतिक प्राणीहरू रिसाइक्लिङ, रिब्रान्डिङ गरीकन पनि मुख देखाउन लायक छैनन्। प्रत्यक्षमा लड्न त दह्रो आत्मविश्वास चाहिन्छ। त्यसैको व्यापक अभाव भएका वेला पूर्ण समानुपातिकको कुरा उठ्नु संयोग नै हुनुपर्छ, सभामुखको मुद्दा सर्वोच्चमा विचाराधीन हुँदा न्यायालय ढल्नु संयोग भए जस्तै।
व्यवस्थासँगै क्रमैसँग देश जोखिममा पर्दै छ। देशबारे चिन्ता गर्नुलाई पनि वर्जित जस्तो बनाएका छन्, चौथो अङ्ग र सामाजिक सञ्जालमा पकड बनाएकाहरूले।
नेपाललाई लुकीलुकी प्रेम गर्नुपर्ने अवस्था छ हिजोआज।
के देश मिथ्या हो?
के प्रेम मिथ्या हो?
देशको अवस्थाबाट चिन्तित देशविदेशमा रहेका मित्रहरूको जवाफ छ- होइन। अनि मतैक्य छ- तर, पात्र खराब भए। निकट भविष्यमा कम्तीमा कार्यपालिका र व्यवस्थापिकामा निर्णायक पात्रहरू परिवर्तन हुने सम्भावना पनि छैन। यति वेला सेना प्रमुखको भारत जाने ‘हतारो’ प्रति असजिलो मान्नुपर्ने नै अवस्था छ। किनभनेऽ देश एक खालको ‘कल दी स्याक’ मा छ। यस्तो खालको राष्ट्रिय ‘इनर्सिया’ ले कुनै ठूलै धक्का निम्त्याउने जोखिम छ।
विवेकको वकालत गर्ने तथा सबैको साझा हुँ भन्नेहरूको दोस्रो दाबीमा भर्खरै प्रश्नचिह्न खडा भएको छ। यस लगत्तै राप्रपाबाट ‘हिन्दू राष्ट्र र राजसंस्था पुनःस्थापना गरौं’ भन्ने माग चर्को रूपमा उठेको छ। नेपाली कांग्रेसका नेताहरूको एकाएक बढेको पशुपतिनाथ-मोह चाखलाग्दो छ। ओलीजीको राम जन्मभूमि मुद्दा त छँदै छ।
बुज्रुगहरूबाट ‘राज गर्न कुनै पनि नीति अछूतो हुँदैन, बुझ्यौ?’ वा ‘शक्ति नै अन्तिम सत्य हो, थाहा पायौ?’ जस्ता महावाणी सुन्नुपरिरहेको आम नेपालीले।
प्राकृतिक प्रकोपमा अक्सर देशलाई जोड्ने अवसर हुन्छ, जसको विराट् रूप हामीले केही वर्षअघि देख्यौं। अप्राकृतिक प्रकोपहरूले चाहिं तोडिदिन्छन्। यो हामी अहिले देख्दै छौं।
हो, प्रकृतिका नियम वा त्यसका उल्लङ्घनहरूले मानव जातिसँग कुनै सरोकार राख्दैन। राजनीतिका नियम पनि क्रूर होलान्। प्रकृतिको हकमा गर्न धेरै सकिन्न। चाप बढ्यो भने भुइँ चलिदिन्छ, हाम्रो सुविधा-असुविधाप्रति बिल्कुल बेखबर रहेर। हामी हजारौंमा बिलाउँछौं।
प्राकृतिक प्रकोपमा अक्सर देशलाई जोड्ने अवसर हुन्छ, जसको विराट् रूप हामीले केही वर्षअघि देख्यौं। अप्राकृतिक प्रकोपहरूले चाहिं तोडिदिन्छन्। यो हामी अहिले देख्दै छौं। महामारी जस्तो दुई वर्ष चलिसकेको प्रकोपले हामी सजिलै जोडिन नसक्ने गरी विभाजित भएका छौं।
पुष्पकमल दाहालले तत्कालीन नेकपा कब्जा गर्न शुरू गरेको खेल आज राष्ट्रिय अप्राकृतिक प्रकोपमा विस्तारित भएको छ। देशै विभिन्न निहुँमा विभाजित छ। यसले लोकतन्त्रका सबै अङ्गलाई यसरी लपेटेको छ कि एकै चोटि यो फोहोर सफा गर्न मतदातालाई गाह्रो छ।
यो खेलमा दाहाललाई सहयोग गरेर चिनियाँ राजदूतले चीनप्रति नेपालीमा रहेको हार्दिकतामा क्षति पुर्याइदिइन्। अनि यो कदम छिमेकमा हस्तक्षेप नगर्ने उनकै देशको नीतिको खिलाफ छ।
मानव सभ्यता प्रकृतिका क्रूर नियमसँग लड्दै, न्याय र समानतामा आधारित समाज निर्माण गर्ने सपना देख्दै यहाँसम्म आइपुगेको हो। न्यायमूलक र समतामूलक समाजका लागि मानव जातिले देखेको सपनाले धेरै अवधारणाहरू जन्मायो। देश बने, परिवार बने। पैसा भन्ने अवधारणा बन्यो जसको अस्तित्व धेरै शताब्दीपछि अब विद्युतीय विकल्पले सङ्कटमा पारेको छ।
व्यवस्थामा जे-जस्तो खतरा देखिए पनि देश त सग्लो छ। नेपाललाई सग्लो प्रेम गर्नेहरू पर्याप्त छन्। अझै पनि नेपालमा कम्तीमा दक्षिणएशियाकै खुला समाज छ। समय लाग्छ, तर नेपाल समानता र न्यायको चौतारी अवश्य बन्नेछ।
राजनीति देशभन्दा माथि कहिले पनि हुँदैन, न त राजनीति गर्नेहरू हुन्छन्। राजनीति सबै थोक होइन। यो चेत जगाउन पनि अब चुनाव गर्नुपर्छ। मतदाताले दण्डित गर्छन् भन्ने थाहा दिनुपर्छ। कम्तीमा दुई वटा चुनाव त लाग्ने देखिन्छ, अहिलेको फोहोर सफा गर्न।
केही समययता म्यानमार अनि अफगानिस्तानमा अनपेक्षित र दुःखद राजनीतिक घटना भएका छन्। अफगानिस्तानका शरणार्थीबारे नेपालको नीति के हुने? प्रश्न गम्भीर छ। रोहिङ्ग्या शरणार्थी पनि छन्, यहाँ। न्याय र समानतामा आधारित समाज खतरामा छ।
विश्वकै उन्नत लोकतन्त्र अमेरिकामा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प अहिले क्यापिटल हिल घटनाप्रति जवाफदेही विना घुमिराखेका छन्, जबकि त्यहाँ तोडफोड गर्नेहरू हिरासतमा परे। भारतमा समेत सपनासरि हुन थालेको छ, न्याय र समानतामा आधारित समाज।
हिन्दू अतिवाद र त्यसलाई लाद्न खोज्दा आउने दुष्परिणामतर्फ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उनको मुलुकलाई द्रुत गतिमा दौडाएका छन्। भुटानबाट लखेटिएका लाखौं नेपालीभाषाका प्रतिनिधि-कथा पढ्दा न्यायपूर्ण समाजको कल्पना गर्ने जोकोही निराश हुनसक्छ।
लाग्न सक्छ कि न्याय पनि मिथ्या हो।
व्यवस्थामा जे-जस्तो खतरा देखिए पनि देश त सग्लो छ। नेपाललाई सग्लो प्रेम गर्नेहरू पर्याप्त छन्। अझै पनि नेपालमा कम्तीमा दक्षिणएशियाकै खुला समाज छ। समय लाग्छ, तर नेपाल समानता र न्यायको चौतारी अवश्य बन्नेछ।