पूर्वीय संस्कृतिमा कसरी भित्रिइन् धनकी देवी लक्ष्मी?
आर्यहरू मध्य एशियाबाट भारतीय सभ्यतामा प्रवेश गरेको स्थापित सिद्धान्त भएका कारण देवी लक्ष्मी पश्चिमी सभ्यताबाट भित्रिएको विषयमा बहस गर्न सकिन्छ।
आर्यहरू भारतीय सभ्यतामा प्रवेश गर्दैगर्दा यस क्षेत्रमा सांस्कृतिक उथलपुथल भएको देखिन्छ। आप्रवासीका रूपमा आएका आर्यहरू र यहाँका आदिवासीहरूबीचको धार्मिक, सांस्कृतिक सम्बन्धले विशेष धारको विकास गर्यो। एकातिर आफूलाई जातीय रूपमा श्रेष्ठ ठान्ने आर्यहरूले आदिवासीसँगको अन्तरसंघर्षको कारण आफ्नो श्रेष्ठता कायम गर्न सकेनन्, अर्कातिर आदिवासीहरूको निजत्व र पहिचान आर्यहरूको प्रभावबाट पृथक् रहन सकेन। जसकारण अनार्य ठानिएका किरातीहरूको देवतालाई समयक्रममा आफ्नो प्रमुख देवताका रूपमा स्वीकार गरे, जसलाई महादेव, शिव लगायत विभिन्न नामबाट चिनिन्छ।
मध्य एशिया वा कास्पियन सागरको आसपासमा रहेको ककेशस पहाडबाट आजको इराक, इरान हुँदै हिमाली भञ्ज्याङहरू पार गरी सिन्धु नदी तरेर यस क्षेत्रमा प्रवेश गरेका आर्यहरूले आफ्नो भाषा–संस्कृति मात्र ल्याएनन्, अनेकौं देवीदेवता पनि ल्याए। कास्पियन सागरको किनारमै काश्यप ऋषिको आश्रम रहेको विद्वान्हरूले बताएका छन् (कुलचन्द्र कोइराला, नेपाली खस बाहुनका कुलदेवता मस्टो, २०५२, पृः ७९)। अराल समुद्रको पूर्व–दक्षिण भागमा बस्ने कश जातिको एक शाखा कस्साइट अर्थात् खस जाति पश्चिम एशियाको भूखण्डबाट पसेर सुमेर बेबीलोन, सिरिया, मिश्र (इजिप्ट) आदि भूभाग हुँदै खाडी क्षेत्र लागे। त्यहाँबाट उनीहरू हिन्दूकुश पर्वतमाला पार गरी अफगानिस्तान, गान्धार क्षेत्र, कश्मीर, जालन्धर आदि ठाउँमा बस्ती बसाउँदै पूर्वतिर महाभारत शृङ्खलाको उत्तर–दक्षिणतिरबाट बढ्दै असम, ब्रह्मपुत्रभन्दा पनि पारिसम्म पुगेर खस सभ्यताको विकास गरेको कतिपय इतिहासकारहरूको भनाइ छ।
आर्यहरू ताजकिस्तान, किर्गिस्तान, उज्वेकिस्तान, पाकिस्तान, कश्मीर, जम्मु, हिमाञ्चल प्रदेश, उत्तराखण्ड हुँदै समग्र भारतीय सभ्यतामा फैलिए। यसै आर्यपथबाट धनकी देवी लक्ष्मीको भारतीय उपमहाद्वीप यात्रा भएकोबारे विद्वान्हरूले चर्चा गरेका छन्। ईसापूर्व आठौं शताब्दीमा रचना गरिएको मानिने वेद र अवेस्ताको तुलनात्मक अध्ययन गरी पश्चिमा विद्वान् ए. एन्थोनी म्याकडोनाल्डले यस कुराको सङ्केत गरेका छन्। यस आधारमा वैदिक साहित्य र यसका अनेकौं धार्मिक ग्रन्थहरूमा वर्णित देवदेवीहरूको जन्मको कल्पना आर्यहरू ककेशस पहाड र हिमाली क्षेत्रहरूमा रहँदाको समयमै गरिएको हुनसक्छ।
पूर्व–पश्चिमको व्यापारिक सम्बन्धमा लक्ष्मी
भारतीयहरूले समुद्र मार्गबाट पश्चिम एशियामा बेबीलोन, सिरिया, फेनेसिया, इजिप्ट हुँदै रोमसम्म गर्ने व्यापारमा धनकी देवी र दुर्गम यात्राकी संरक्षक देवीका रूपमा लक्ष्मीलाई मान्ने गरेको प्राचीन इतिहास केलाउँदा थाहा हुन्छ। यसकारण लक्ष्मीलाई रेशम मार्गकी यात्री भन्न सकिने आधारहरू खोजी गर्न सकिन्छ।
पश्चिमा र भारतीय सभ्यताबीच प्राचीन कालदेखि नै व्यापारिक सम्बन्ध रहेको अध्येताहरूले बताएका छन्। महाचीनबाट शुरू भएको प्राचीन रेशम मार्ग भारतको बाटो भएर मध्य एशिया हुँदै यूरोप निस्किन्छ। भारतीय व्यापारीहरू गान्धार क्षेत्र र अफगानिस्तानको बाटो भएर रेशम परिपथमै मिली पश्चिमा सभ्यतासँग व्यापारिक सम्बन्ध गाँसेको तथ्य ऐतिहासिक–पौराणिक प्रमाणहरूबाट प्रमाणित हुन्छ।
यस तथ्यलाई पश्चिमा विद्वान्हरूले पनि स्विकारेका छन्। यूरोपका विद्वान् रलिन्सका अनुसार, ग्रीकको महाकाव्यकाल अर्थात् होमरको समयमै भारतीय सामानहरू यूरोपतर्फ पैठारी गरिन्थ्यो। सिरियासँग वैदिक सभ्यताको व्यापारिक सम्बन्ध रहेको इतिहासकारहरूले स्वीकार गरेका छन्। सिन्धुघाँटी क्षेत्रको हडप्पा र मोहन्जोदारो (जुन हालको पाकिस्तानमा पर्छन्) का साथै लोथलबाट सामुद्रिक मार्ग भएर सुमेर, बेबीलोन र इजिप्टसम्म भारतीयहरूको व्यापारिक सम्बन्ध रहेको तथ्यलाई संस्कृतिविद् कुलचन्द्र कोइरालाले पनि स्वीकार गरेका छन्।
समुद्रमा अनेक मुगा, मणिमाणिक्य पाइने पौराणिक विश्वास छ। यसकारण लक्ष्मीलाई समुद्रपुत्रीको स्वरूपमा धनकी देवी मानिन्छ। व्यापार वृद्धि र व्यापारिक मार्गमा सुरक्षाका निम्ति लक्ष्मीको पूजा गर्ने चलन व्यापारीहरूले चलाएको मानिन्छ। अतः भारतीयहरूले समुद्र मार्गबाट पश्चिम एशियामा बेबीलोन, सिरिया, फेनेसिया, इजिप्ट हुँदै रोमसम्म गर्ने व्यापारमा धनकी देवी र दुर्गम यात्राकी संरक्षक देवीका रूपमा लक्ष्मीलाई मान्ने गरेको प्राचीन इतिहास केलाउँदा थाहा हुन्छ। यसकारण लक्ष्मीलाई रेशम मार्गकी यात्री भन्न सकिने आधारहरू खोजी गर्न सकिन्छ।
लक्ष्मी आयातीत कि भारतीय सभ्यताकी मौलिक देवी?
वेद र अवेस्तालाई समकालीन मानिन्छ। ती दुवैमा वर्णन भएका देवीदेवताको कार्यप्रकृतिको विश्लेषण गर्दा यस तथ्यलाई बल मिल्छ। इरानी वेद जिन्दाअवेस्तामा वर्णन गरिएकी आरडोक्सो (आर्यदक्ष) इरानी वेदका देवता आहुरमज्दकी छोरी हुन्। धन, ऐश्वर्य, सन्तान, शस्त्र र युद्ध विजयकी देवीको रूपमा पूजित आर्यदक्ष र यता आर्यहरूकी लक्ष्मीको दार्शनिकता समान छ।
अवेस्ता र वेदमा वरुणलाई जल र समुद्रका अधिपति मानिन्छ। समुद्रमा मुगा, मणि माणिक्य प्राप्त हुने भएकाले आर्यहरूले लक्ष्मीलाई समुद्रपुत्री मानेका हुन्। इरानी देवी अनाहिता, रोमकी धनकी देवी फारच्युना, युनानकी ताइचे र आरडोक्सोको कार्य समान भएको हुँदा लक्ष्मी पश्चिमी सभ्यताबाट भारतीय सभ्यतामा प्रवेश गरेकी हुन् भन्ने विद्वान्हरूको मत छ। प्राचीन भारतीय लक्ष्मीको मूर्ति र ईसापूर्व १५०० तिर पश्चिम एशिया र रोममा बनेको लक्ष्मीको प्रतीत हुने मूर्तिहरूबीच समानता देखिएको हुँदा उक्त तर्कमा आधार हुनसक्छ।
यता लक्ष्मीको महिमा वेदकालीन साहित्यहरूमा पर्याप्त भएकाले लक्ष्मीलाई पश्चिम एशियाबाट ल्याइएको कुरा कुलचन्द्र कोइरालाले भने अस्वीकार गरेका छन्। तर, आर्यहरू मध्य एशियाबाट भारतीय सभ्यतामा प्रवेश गरेको स्थापित सिद्धान्त भएका कारण देवी लक्ष्मी पश्चिमी सभ्यताबाट भित्रिएको विषयमा बहस गर्न सकिन्छ।
अष्टमातृकामध्ये एक महालक्ष्मी सुर र असुरहरूले समुद्र मन्थन गर्दा उत्पत्ति भएको मानिन्छ। शास्त्रहरूमा आर्यहरूले आफूलाई सुर र पश्चिम एशियाका निवासीलाई असुर भनेका छन्। यिनै सुर र असुरले समुद्रमा पाइने सुवर्णादि धन प्राप्तिका लागि युद्ध गरेका थिए।
पौराणिक इतिहासमा लक्ष्मी
धार्मिक शास्त्रहरूमा लक्ष्मीलाई भगवान् विष्णुको शक्तिका रूपमा वर्णन गरिएको पाइन्छ। लक्ष्मीको उत्पत्तिको विषयमा पौराणिक साहित्यहरूमा अनेकौं चर्चा भेटिन्छ। अष्टमातृकामध्ये एक महालक्ष्मी सुर र असुरहरूले समुद्र मन्थन गर्दा उत्पत्ति भएको मानिन्छ। शास्त्रहरूमा आर्यहरूले आफूलाई सुर र पश्चिम एशियाका निवासीलाई असुर भनेका छन्। यिनै सुर र असुरले समुद्रमा पाइने सुवर्णादि धन प्राप्तिका लागि युद्ध गरेका थिए। उक्त युद्ध हालको अरब सागरमा भएको मानिन्छ।
पुराणहरूमा लक्ष्मीको सौन्दर्य र कान्तिले सबैलाई प्रभावित गरेको उल्लेख छ। साथै, रामायण, महाभारत, विष्णुपुराण, पद्मपुराण लगायत ग्रन्थहरूमा महालक्ष्मीको महिमा गाइएको छ (हरिराम जोशी, अभिनव संस्कृति कोष पृष्ठ–२७०)। आद्यलक्ष्मी, विद्यालक्ष्मी, सौभाग्यलक्ष्मी, अमृतलक्ष्मी, कामलक्ष्मी, सत्यलक्ष्मी र योगलक्ष्मी गरी आठ प्रकारका लक्ष्मीहरूको चर्चा पाइन्छ। अमरकोश ग्रन्थमा पनि लक्ष्मीको चर्चा गरिएको छ।
मानसिक दरिद्रता हटाई भौतिक र आध्यात्मिक उन्नतिका लागि महालक्ष्मीको अनुष्ठान विधिपूर्वक गर्ने गरिन्छ। राजा–महाराजाहरूले पनि राज्य प्राप्तिका लागि महालक्ष्मीको उपासना गर्ने गरेका पौराणिक कथन छ। धनीदेखि गरीबसम्म सम्पूर्ण तप्काका हिन्दू नरनारीले शौभाग्य प्राप्तिका लागि लक्ष्मीको पूजा गर्ने परम्परा छ। यो शारदीय ऋतुमा पर्ने तिहारमा घर, चोक र आँगन सफा गर्दै दीपावली गरेर महालक्ष्मीको विशेष पूजाआजा गरिन्छ।
सुखरात्रको दार्शनिकता
सारभूत रूपमा जीवनका अँध्यारा पक्ष हटाई उज्यालोे प्राप्ति गर्नु नै मानव जीवनको धार्मिक तथा आध्यात्मिक लक्ष्य हुन्छ। अविद्या, अज्ञानता, अहङ्कार र क्लेश जस्ता जीवनका अन्धकार हटाई औंशीको रातमा पनि पूर्णिमाको पूर्णताको खोजी गर्ने प्रकाशमय पर्वका रूपमा दीपावलीलाई विशेष उल्लासका साथ मनाइन्छ। पद्मपुराण तथा स्कन्दपुराणमा दीपावलीलाई धार्मिक मान्यता प्रदान गर्नुका साथै यस महोत्सवमा धनधान्यकी देवी लक्ष्मीको पूजा गर्नुपर्ने उल्लेख छ। वेद, उपनिषद् र पुराण लगायत ग्रन्थहरूमा श्री र लक्ष्मीको चर्चा छ (हरिराम जोशी, नेपालका चाडपर्वहरू)।
उज्यालोको शाश्वत चिन्तन र महत्त्वलाई मनन गर्दै 'तमसो मा ज्योतिर्गमय असतो मा सद्गमय' अर्थात् प्रकाशरूपी ज्ञानको मार्गको यात्रामा नै मानवले आफूलाई अभिप्रेरित गराउनुपर्छ भन्ने बृहदारण्यकोपनिषद्को दार्शनिक भावभूमिमा सुखरात्रको दार्शनिकता अभिव्यक्त भएको छ। आफूमा निहित अज्ञानतारूपी अन्धकार हटाएर धनधान्यरूपी प्रकाशयुक्त हुन शिवजीको शिवरात्र, कृष्णजन्मको मोहरात्र जस्तै विष्णु शक्तिस्वरूपिणी लक्ष्मीले यमपञ्चकमा पर्ने औंशीको रात्रलाई सुखरात्रको रूपमा बोधार्थ गरेकी छन्।
तान्त्रिक/सौम्य दर्शनका आधार
शाक्त दर्शनमा साधनाका विभिन्न विधि अपनाइन्छन्। रौद्र, काम्य र सौम्य आदि देवीका विभिन्न स्वरूपको परिकल्पना गरी साधना गर्नुमा साधनाका कल्पित देवता, देवताको प्रकृति र तन्त्रको आभिचारिक भूमिकाले विशिष्ट निर्क्योल गरेको हुन्छ। देवताको रौद्र स्वरूपको साधना गर्दा रौद्र स्वरूपिणी देवीकै कल्पना गरिएको हुन्छ भने सौम्यपरक देवताको साधना गर्दा सौम्य स्वरूपिणी देवीको।
पूर्वीय संस्कृतिमा मानव जीवनका चार आधारहरू धर्म, अर्थ, काम र मोक्षमध्ये अर्थ अर्थात् श्री र सम्पत्तिलाई महत्त्वपूर्ण स्थान दिइएको छ। आश्रम व्यवस्थाका चार आश्रममध्ये गृहस्थ आश्रममा रहेर मानवले सम्पन्न गर्नुपर्ने धार्मिक अनुष्ठानहरूमा धन र सम्पत्तिको अनिवार्य आवश्यकता मानिएको छ। धनको यही अपरिहार्यतालाई ध्यानमा राख्दै हिन्दू शास्त्राकारहरूले श्री अर्थात् धन र सम्पत्तिकी देवीको परिकल्पना गरे।
संहारकर्ता शिवका विभिन्न स्वरूपको साधना गर्दा देवीको काली, कराली, डाँकिनी, साँकिनी, राकिनी, झाँकिनी स्वरूपको कल्पना गरिन्छ, जो अत्यन्त भयानक र उग्र स्वरूपका हुन्छन्। अचेतनमा दबिएर रहेका मानसिक विकार, अविद्या र क्लेशहरू नाब गरी निर्मल चेतना र सौम्य स्वरूपको ईश्वरीय प्रतिरूपसँग साक्षात्कार गर्न तान्त्रिक र आभिचारिक पद्धतिको साधना विज्ञानको प्रतिपादन गरिएको हो। शिवको सौम्य स्वरूपमा सौम्य स्वरूपिणी उमा–पार्वती रहन्छिन् भने विष्णुको सौम्य स्वरूपमा कमलाज लक्ष्मीको परिकल्पना गरिएको छ।
पूर्वीय संस्कृतिमा मानव जीवनका चार आधारहरू धर्म, अर्थ, काम र मोक्षमध्ये अर्थ अर्थात् श्री र सम्पत्तिलाई महत्त्वपूर्ण स्थान दिइएको छ। आश्रम व्यवस्थाका चार आश्रममध्ये गृहस्थ आश्रममा रहेर मानवले सम्पन्न गर्नुपर्ने धार्मिक अनुष्ठानहरूमा धन र सम्पत्तिको अनिवार्य आवश्यकता मानिएको छ। धनको यही अपरिहार्यतालाई ध्यानमा राख्दै हिन्दू शास्त्राकारहरूले श्री अर्थात् धन र सम्पत्तिकी देवीको परिकल्पना गरे। जस अनुसार, हिन्दू संस्कृतिमा नारीलाई शौभाग्यको देवीका रूपमा पूजा गरिन्छ।
शाक्त दर्शन (मातृ पूजा)को पौराणिक परम्परा अद्यापि रहेको तथ्य विभिन्न देवी र मातृशक्तिको उपासनाबाट पुष्टि हुन्छ। हिन्दू परिवारमा छोरीको जन्मलाई सौभाग्यको आगमन र बधुको गृहप्रवेशलाई श्रीको प्राप्ति मान्ने गरिन्छ।
यमपञ्चकको विशिष्टता
पाँच दिनसम्म मनाइने तिहारमा विशेष गरी लक्ष्मीलाई धूमधामसँग पूजा गरिने त छँदै छ, यसका अन्य पाटाहरू पनि विशिष्ट र महत्त्वपूर्ण छन्। श्री शक्तिको उपासना, प्रकृति र पर्यावरणप्रतिको सम्मान र भ्रातृ दिवस (भाइटीका)को त्रिवेणीका रूपमा यो पर्व मनाइन्छ। मानव जीवन भौतिक सम्पन्नताले मात्र पूर्ण भएर मात्र हुँदैन, आध्यात्मिक एवं मानसिक श्रीवृद्धि पनि हुनुपर्छ भन्ने यस पर्वको दार्शनिक आधार हो। अविद्या, राग, द्वेष र क्लेश जस्ता अन्धकारका स्वरूपका मानसिक विकारहरू हटाएर आध्यात्मिक ज्योति प्राप्तिका लागि हिन्दूहरूले साधना र अनुष्ठान गर्छन्। मानसिक विकार अति सांसारिक कामना र लालसाबाट माथि उठेका व्यक्तिले मात्र समग्र रूपमा परिवार, समाज र राष्ट्रलाई नै माथि उठाउँछ भन्ने पूर्वीय सभ्यताको दार्शनिक अभिव्यक्ति छ।
अर्कातिर, वातावरण र पर्यावरणको पारम्परिक सम्बन्ध र सन्तुलन कायम राख्दै पृथ्वीलाई दीर्घायु प्रदान गर्न प्रकृति पूजाको प्रतीकका रूपमा काग, कुकुर र गाई आदिलाई पूजन र नमन गर्ने परम्परा बसेको हो। मानवले पुस्तकबाट मात्रै नभई यस धराधामका अन्य प्राणीहरूबाट पनि ज्ञान प्राप्त गर्न सक्छ भन्ने यसको सार हो। दाजुभाइ र दिदीबहिनीबीचको पवित्र सम्बन्धलाई निष्ठापूर्वक कायम राख्न यस पर्वले धार्मिक तथा भावनात्मक आधार प्रदान गरेको मानिन्छ।
प्रतिमा विज्ञानमा लक्ष्मी
प्रतिमा विज्ञानका पुस्तकहरूमा देवी लक्ष्मीका विविध स्वरूप र प्रतिमा लक्षणका नियमहरूको वर्णन गरिएको छ। विशेष गरी विष्णुधर्मोत्तर पुराण, मत्स्यपुराण लगायत प्रतिमा विज्ञानका पुस्तकमा लक्ष्मी, श्रीलक्ष्मी, महालक्ष्मी, यज्ञलक्ष्मी, राज्यलक्ष्मी, स्वर्गलक्ष्मी, ब्रह्मलक्ष्मी आदि सबैको प्रतिमा र चित्र बनाउने नियम उल्लेख छ।
नेपालमा प्राचीन कालदेखि नै लक्ष्मीको मूर्ति बनाउने परम्परा छ। पाटनको च्यासलहिटीस्थित गजलक्ष्मीको मूर्तिलाई सबैभन्दा प्राचीन मूर्ति मानिन्छ। राष्ट्रिय सङ्ग्रहालयमा रहेको पद्महस्ता लक्ष्मी मूर्तिलाई लिच्छविकालको उत्कृष्ट नारी मूर्ति मानिन्छ।
मत्स्यपुराणमा दायाँ हातमा कमल र बायाँ हातमा बेल धारण गरेकी, दुई हातको पछाडि दुवैतिरबाट दुई हात्तीले सुवर्णका झारीले स्नान गराइएको, सिंहासनमा पद्म माथि विराजमान भएकी लक्ष्मीको प्रतिमा बनाउनु भनी उल्लेख छ। विष्णुधर्मोत्तर पुराणमा लक्ष्मीको साथमा राज्यलक्ष्मी, स्वर्गलक्ष्मी, ब्रह्मलक्ष्मी र जयलक्ष्मीको प्रतिमा बनाउन भनिएको छ। श्रीलक्ष्मीलाई नवयौवना, पुष्ट गला, लाल ओठ, मणिको कुण्डल लगाएकी, मण्डलाकार मुहार भएकी, सिउँदोको दुईतिरबाट दुई हात्तीले स्नान गराएकी र पाउ धोइएकी देखाउनुपर्छ भन्ने प्रतिमाशास्त्रीय विधान छ (वीणा पौड्याल,काठमाडौ उपत्यकाका विष्णुविभव मूर्ति र चित्रहरू, पृष्ठ,३५,३६)।
नेपालमा प्राचीन कालदेखि नै लक्ष्मीको मूर्ति बनाउने परम्परा छ। पाटनको च्यासलहिटीस्थित गजलक्ष्मीको मूर्तिलाई सबैभन्दा प्राचीन मूर्ति मानिन्छ। राष्ट्रिय सङ्ग्रहालयमा रहेको पद्महस्ता लक्ष्मी मूर्तिलाई लिच्छविकालको उत्कृष्ट नारी मूर्ति मानिन्छ। मानाङ्क मुद्राको पृष्ठभागमा लक्ष्मीको आकृति अङ्कित छ। विष्णुले लक्ष्मीको रक्षा गरेको मानिने दार्शनिक चिन्तनको प्रतीकात्मक भावार्थ मानदेवबाट प्रसारित सिक्काहरूमा पाइन्छ। राज्यलक्ष्मीलाई शत्रुबाट बचाई देशलाई समृद्धितिर लैजान सकेको सांस्कृतिक आधारलाई समेत यसै तथ्यले सङ्केत गरेको छ।
राजा अंशुवर्माले निकालेको वैष्णव मुद्राको पृष्ठ भागमा अङ्कित गाईले बाछोलाई दूध चुसाइरहेको (कामदोही) दृश्यले लिच्छवि संस्कृतिको वैभव र ऐश्वर्यलाई अभिव्यक्त गरेको मानिन्छ। मल्लकालमा आएर एकल र पारिवारिक समूहमा लक्ष्मी माताको मूर्ति बनाउने प्रचलन थियो। आज पनि हिन्दूहरूका घरघरमा श्रीलक्ष्मीको यन्त्र र प्रतिमा स्थापना गरी पूजा गरिन्छ।
निष्कर्ष
मानसिक दरिद्रता, क्लेश र अज्ञानता हटाई आध्यात्मिक र भौतिक श्रीवृद्धिका लागि महालक्ष्मीको पूजा र अनुष्ठान गर्ने गरिएको ऐतिहासिक तथा सांस्कृतिक आधार पाइन्छ। देशको आर्थिक सम्पन्नता, यश र समृद्धिका लागि हिन्दू शास्त्रकारहरूले विभिन्न धार्मिक पर्व र परम्पराहरूमा महामाया, महाशक्ति, महालक्ष्मीको उपासना गर्ने परम्परा चलाएका छन्। हिन्दू शास्त्रकारले प्रतिपादन गरेको चार आश्रम व्यवस्था, त्रिऋण मोचन र चार पुरुषार्थ प्राप्तिका लागि धनकी देवी श्रीलक्ष्मीको पूजा उपासना अनिवार्य मानिन्छ। यसैमा सौभाग्यको पर्व लक्ष्मीपूजा अर्थात् श्रीदिवस पर्वको गरिमा निहित छ।