प्रस्तावित तीन राजदूतका विषयमा उजुरी आह्वान
सरकारले राजदूतका लागि सिफारिश गरेका तीन जनाका विषयमा संसदीय सुनुवाइ समितिले उजुरी आह्वान गरेको छ।
संघीय संसद्को संसदीय सुनुवाइ समितिले आज गोरखापत्रमा सूचना प्रकाशित गरी प्रस्तावित राजदूतका विषयमा सूचना वा उजुरी आह्वान गरेको हो। ११ कात्तिकमा बसेको मन्त्रिपरिषद् बैठकले बेलायतका लागि ज्ञानचन्द्र आचार्य, भारतका लागि डा.शंकरप्रसाद शर्मा र अमेरिकाका लागि श्रीधर खत्रीलाई सिफारिश गर्ने निर्णय गरेको थियो।
मन्त्रिपरिषद्को निर्णय अनुसार, संसदीय सुनुवाइका लागि पत्र प्राप्त भएको समितिले जनाएको छ। समितिले भनेको छ, “उहाँहरूलाई नियुक्त गर्न उपयुक्त छैन भन्ने कसैलाई लागेमा स्पष्ट आधार एवं सबूत प्रमाण सहित मिति २०७८ कात्तिक २६ गते कार्यालय समयभित्र यस समिति समक्ष निम्न माध्यम मार्फत वा सोझै समितिमा आई सूचना वा उजुरी दिन सकिने व्यहोरा समेत यसै सूचनाद्वारा सूचित गरिन्छ।”
हुलाक, फोन, फ्याक्स वा इमेल मार्फत पनि उजुरी दिन सकिनेछ। सूचना वा उजुरी दिनेको नाम गोप्य राखिने जनाइएको छ।
तीनै जना विरुद्ध परेका उजुरीमाथि सुनुवाइ समितिले छानबिन गर्नेछ। समितिले अनुमोदन गरेपछि मात्रै राष्ट्रपतिले राजदूत नियुक्त गर्ने संवैधानिक व्यवस्था छ।