हवाई भाडा पनि बढ्यो, कुन रुटमा कति वृद्धि?
पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएसँगै हवाई सेवा प्रदायक कम्पनीले पनि हवाई भाडा बढाएका छन्।
वायुसेवा सञ्चालकहरूको सङ्गठन वायुसेवा सञ्चालक संघले प्रेस विज्ञप्ति जारी गर्दै हवाई भाडा बढाएको जनाएको छ। हवाई भाडा जोड्ने इन्धनको शुल्कमा बढीमा रु.४४० वृद्धि गरिएको संघले जनाएको छ।
वृद्धि भएको भाडादर अनुसार, अब काठमाडौंबाट सबैभन्दा लामो दूरीको धनगढी गन्तव्यका लागि रु.४४० बढेको छ। यसअघि काठमाडौं-धनगढी तीन हजार ८०० रहेकोमा अब चार हजार २४० कायम भएको छ।
त्यस्तै, काठमाडौं-सिमरामा सबैभन्दा कम रु.९५ वृद्धि भएको छ।
अब काठमाडौंबाट भद्रपुरमा रु.३००, विराटनगरमा रु.२४०, जनकपुरमा रु.१३०, भरतपुरमा रु.१०५, पोखरामा रु.१५५ र भैरहवामा रु.२०५ भाडा वृद्धि गरिएको छ। तुम्लिङटारमा रु.१८५, राजविराजमा रु.२०५ र नेपालगञ्जमा रु.३३० भाडा बढाइएको छ।
यस्तै, पोखरा-भरतपुरमा रु.११०, पोखरा-भैरहवामा रु.१३०, पोखरा–सिमरामा रु.२२०, पोखरा-नेपालगञ्जमा रु.२३५ र पोखरा-विराटनगरमा रु.३५५ भाडा वृद्धि भएको छ। यसैगरी, भरतपुर-भैरहवा रुटमा रु.१३५ भाडा बढेको छ।
अब पर्वतीय उडानमा पनि रु. ३४५ भाडा वृद्धि भएको छ। पोखराबाट पर्वतीय उडानमा अब रु.३१५ बढी लाग्नेछ। विराटनगरबाट पर्वतीय उडानमा रु.३२० र विराटनगरबाट तुम्लिङटारमा रु.१०५ भाडा बढेको छ।
नेपाल आयल निगमले इन्धनको मूल्य ११.६ प्रतिशतले बढाएको थियो। त्यही अनुसार, वायुसेवा कम्पनीले हवाई भाडा बढाएका हुन्।
संघका अनुसार, नेपाल नागरिक उड्डयन प्राधिकरणको स्वीकृति लिएर हवाई भाडा बढाइएको छ। हवाई इन्धनको मूल्य रु.८६ प्रति लिटरबाट बढेर रु. ९६ प्रति लिटर पुगेको छ।