एमसीसी छिटै पारित हुन्छ : प्रधानमन्त्री देउवा
प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहायता परियोजना एमसीसी छिटै पारित हुने बताएका छन्।
कोप-२६ मा सहभागी भएर बिहीबार स्वदेश फर्केका प्रधानमन्त्री देउवाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै एमसीसी छिटै पारित हुने बताएका हुन्। कोप-२६ का क्रममा भेट हुँदा अमेरिकी राष्ट्रपति जो बाइडेनले पनि यस विषयमा जिज्ञासा राखेको उनले बताए।
“अमेरिकी राष्ट्रपति बाइडेनले एमसीसी के हुन्छ भनेर सोध्नुभएको थियो,” प्रधानमन्त्री देउवाले भने, “एमसीसी छिटै पारित गर्छौं भनेको छु।”
राष्ट्रपति बाइडेनले संसद् अधिवेशन अन्त्य गरेको विषयमा समेत जिज्ञासा राखेको देउवाले सुनाए। “एमसीसीका कारणले नभई हाम्रो आन्तरिक कारणले संसद् अधिवेशन अन्त्य गरिएको हो, महत्त्वपूर्ण अध्यादेश ल्याउनुपर्ने भएकाले संसद् अधिवेशन अन्त्य गरिएको विषयमा पनि जानकारी गराएँ,” देउवाले भने।
अमेरिकी राष्ट्रपति बाइडेनले आफूलाई देख्ने बित्तिकै चिनेको देउवाले बताए। “बाइडेनले त मलाई टोपी लगाएको देखेर चिनिहाले,” प्रधानमन्त्री देउवाले भने। यसअघि नेपाल आएकाले पनि बाइडेनको नेपालप्रति सद्भाव रहेको देउवाको भनाइ थियो।
यससँगै कोप-२६ का क्रममा बेलायती प्रधानमन्त्री बोरिस जोनसन, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि आपसी सहयोगका विषयमा छलफल भएको बताए। निर्माणाधीन लुम्बिनी विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानका लागि भारतीय हवाई स्पेस प्रयोगका विषयमा प्रधानमन्त्री मोदी सकारात्मक रहेको देउवाको भनाइ थियो।
भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्ता दिएको उनले बताए। त्यस्तै, भारतीय प्रधानमन्त्री मोदीले पनि आफूलाई भारत भ्रमणमा आउन आग्रह गरेको देउवाले बताए।
एक अर्को प्रश्नको जवाफमा प्रधानमन्त्री देउवाले गठबन्धन पूरै समय रहने बताए। “गठबन्धन पूरै समय जान्छ। गठबन्धनलाई कुनै किसिमको शङ्का नगर्नु भए हुन्छ,” देउवाले भने।
प्रधानमन्त्री देउवा १५ र १६ कात्तिकमा बेलायतको ग्लास्गो शहरमा भएको जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको पक्ष राष्ट्रको २६औं सम्मेलन (कोप-२६)मा भाग लिएर आज स्वदेश फर्केका हुन्। उनी १२ कात्तिकमा नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै बेलायत प्रस्थान गरेका थिए।