दुर्गमका बासिन्दालाई किन भयो खोपप्रति अविश्वास?
सरकारले प्राथमिकतापूर्वक अभियान चलाइरहे पनि दूरदराजका कतिपय सर्वसाधारण गलत सूचना, अचेतना र अन्धविश्वासका कारण कोभिड-१९ विरुद्धको खोप लगाउन अझै गएका छैनन्।
सरकारले लक्षित वर्ग छुट्याई चरण–चरणमा कोरोनाविरुद्धको खोप अभियान चलाइरहेको छ। तर, बाग्लुङको ढोरपाटन नगरपालिका–९, दुवाल गाउँका जेमबहादुर विक (७३) न पहिले खोप लगाउन गए न त अब जाने तयारीमा छन्। बरु उनी उल्टै खोपसँग भागिरहेका छन्। लक्षित समूहभित्रै पर्ने उनकी पत्नीको हालत पनि उस्तै छ।
विकको उमेर समूहका नागरिकलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड-१९ विरुद्धको खोप अभियानको पहिलो चरणमै समेटेको हो। त्यति वेला उनले आफूलाई ‘लो ब्लड प्रेसर’ भएको र पत्नीलाई पनि कमजोरी रहेको बहाना देखाए। अहिले त उनले त्यसभन्दा ठूलो बहाना समातेका छन्, ‘कोरोनाको खोप लगायो भने बिरामी भइन्छ, मरिन्छ भन्ने सुनें, त्यसैले लगाइनँ।’ विकका अनुसार, उनले यो कुरा छिमेकीबाट सुनेका हुन्।
तर, विक र उनका छिमेकीको अनुमान सही होइन। कोभिड-१९ सँग जोडिएका अध्ययन र चिकित्सकीय प्रमाणहरूले यसै भन्छन् । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. अनुप बास्तोलाका अनुसार, ‘लो ब्लड प्रेसर’ र कमजोरीको समस्या भएकाहरूले पनि कोरोना खोप लगाउन सक्छन्। हो, पहिले खोप लगाउँदा एलर्जी भएका (सास फेर्न गाह्रो हुने लगायत समस्या देखिएका)हरूलाई चाहिं जटिलता निम्तिन सक्छ। ‘अन्यथा खोप लगाएपछि देखिने ज्वरो, टाउको दुख्ने, शरीर गल्ने जस्ता समस्या सामान्य हुन् जुन अन्य रोगका खोप लगाउँदा पनि हुन सक्छ,’ उनी भन्छन्, ‘त्यसैले पाएसम्म कोभिड-१९ विरुद्धको खोप लगाऔं। नलगाए सङ्क्रमणका कारण ज्यानै जान सक्छ।’
सरकारले कोभिड-१९ विरुद्धको खोपबारे बुझाउन सचेतना कार्यक्रम चलाइरहे पनि कतिपय सर्वसाधारण विभिन्न अफवाहका कारण खोप लगाउन डराइरहेका छन्। उनीहरूलाई खोपले कसरी काम गर्छ र यसका फाइदा के हुन् भन्ने नै थाहा छैन।
सरकार कोभिड-१९ विरुद्धको खोपबारे खोपबारे बुझाउन सचेतना कार्यक्रम चलाइरहेको छ। तर, विकलाई खोपले कसरी काम गर्छ र यसका फाइदा के हुन् भन्ने नै थाहा छैन। उनका छिमेकीको अवस्था पनि यस्तै छ। उसो त ढोरपाटन–९ को दुवाल गाउँ विकट भेग हो। खोप लगाउनुपरे साढे तीन घण्टा हिँडेर सामुदायिक स्वास्थ्य एकाइ पुग्नुपर्छ।
विकका अनुसार, खोपको महत्त्वबारे जानकारी दिन गाउँमा अहिलेसम्म न नगरपालिकाका कर्मचारी पुगेका छन् न त स्वास्थ्यकर्मी। विक र उनकी पत्नी निरक्षर छन् । अलि जान्ने–बुझ्ने भनिएका छोराहरू रोजगारीका सिलसिलामा विदेश छन्। छोरीहरू बिहे भएर गइसके।
ढोरपाटन सामुदायिक स्वास्थ्य एकाइकी अनमी सीता मगरका अनुसार, दुवालमा अधिकांश दलित परिवार छन्। त्यहाँका बासिन्दा चैत–वैशाख लागेपछि बसाइँ सरेर ढोरपाटनको पाखाथर पुग्छन्। जाडो महीना शुरू भएपछि त्यहाँबाट तल्लो भेग अर्थात् फेरि दुवालतिरै फर्कन्छन्।
‘वैशाखमा विक सहितका परिवार यहाँ आउँदा खोप लगाउन भनेका थियौं,’ उनी भन्छिन्, ‘तर खोप लगाएका मान्छे मरेको भन्दै उनीहरूले लगाउन मानेनन्।’ कोही चाहिं ‘मर्ने उमेरमा के खोप लगाउने’ भन्दै तर्किन्छन्। अनमी मगरको बुझाइमा सामाजिक सञ्जालमा आएका खोप सम्बन्धी अफवाहहरूले गलत धारणा सम्प्रेषण गरिरहेका छन्। तिनैलाई पत्याएर कतिपय नागरिक खोप लगाउन जाँदैनन्।
त्यस क्षेत्रमा पहिलो चरणमा भेरोसेल, एस्ट्राजेनेका र जोनसोन एन्ड जोनसोन खोप पुर्याइएको थियो। ‘तर, पछिल्ला दिन केन्द्रबाट थप खोप नआएकाले लगाउन चाहनेहरूलाई पनि दिन सकिने अवस्था छैन,’ उनले भनिन्। मगरका अनुसार, उनको छिमेकका तीन जनाले पनि गलत सूचनाकै कारण खोप लगाएका छैनन्। पहिले कतिवेला खोप आउँछ भनेर सोध्नेहरू पनि अहिले लगाउन मान्दैनन्।
ढोरपाटन सामुदायिक स्वास्थ्य एकाइका अनुसार वडा नम्बर ६, ७, ८ र ९ मा असोज २०७८ सम्ममा सबै उमेर समूहका ४१२ जनाले पहिलो र २९० जनाले कोरोना खोपको दोस्रो मात्रा लगाएका छन्। वडा ९ का ५० वर्षभन्दा माथिका शिक्षक, सवारी चालक, स्वास्थ्यकर्मीले खोप लगाए पनि बाँकीले लगाएका छैनन्। ‘छुटेका अधिकांश व्यक्ति ५० वर्षभन्दा माथिका छन्,’ मगर भन्छिन्। नगरपालिकाको २०७४ सालको तथ्याङ्क अनुसार, वडा ९ को जनसङ्ख्या दुई हजार चार सय २२ हो। सरकारको पहिलो प्राथमिकताको सूचीमा परे पनि यहाँ ज्येष्ठ नागरिक र दलित समुदायका गरी झण्डै सय जनाले खोप लगाउन बाँकी छ।
वडा सचिव थमप्रकाश घर्ती पहिलो चरणमा ३० प्रतिशत जनसङ्ख्याले मात्र खोप लगाएको बताउँछन् । उनका अनुसार, नगरपालिकाले पनि पहुँचवाला र पार्टी कार्यकर्ताहरूको तजबिजमा खोप वितरण गर्यो। ‘अशिक्षित र सामाजिक रूपमा पछि परेको समुदायलाई खोप लगाउन नगरपालिकाले पहल गरेन,’ उनले भने, ‘खोप लगाएपछि मरिन्छ कि भन्ने आशङ्का गर्नेहरूसम्म सचेतना अभियान पुगेन।’
ढोरपाटन–८ का वडा सचिव विराज विश्वकर्माले उक्त वडामा पहिलो चरणमा १० प्रतिशत बासिन्दाले भेरोसेल खोप लगाएको र बाँकीले लगाउन नपाएको बताए। ‘हिउँ पर्ने भएकाले ढोरपाटनमा बसेकाहरू कात्तिक महीना लागेपछि तल्लो भेगमा सरेका छन्,’ उनले भने, ‘तल्लो भेगमा खोप अभियान सञ्चालन हुँदा उनीहरू माथि थिए। तर, अहिले खोप आएको छैन।’
वडाका स्वास्थ्य संयोजक घनश्याम चालिसे पनि भौगोलिक विकटता र मौसमकै कारण तल्लो र माथिल्लो भेगमा सरिरहनुपरेकाले कतिपय व्यक्ति खोप अभियानमा छुटेको बताउँछन्। ‘कतिपयले आफूलाई कोरोना लाग्दैन, लागे पनि केही हुँदैन भन्दै खोप लगाउन मानेका छैनन्,’ उनले भने, ‘यो सबै अशिक्षाकै कारण हो।’
काठमाडौंको टेकुस्थित स्वास्थ्य सेवा विभागको बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख सागर दाहाल खोप लगाउन हिचकिचाउनेहरूको तथ्याङ्क जुटाई त्यसको कारण अध्ययन भइरहेको बताउँछन्। उनका अनुसार, अध्ययनको नतीजाका आधारमा थप रणनीति तय गरिनेछ। ‘अझै पनि धेरै जनसङ्ख्यालाई खोप लगाउन बाँकी नै छ,’ दाहाल भन्छन्, ‘पहिलो चरणको अभियानमा सरकारको प्राथमिकतामा परेर पनि छुटेका तर कोरोनाको उच्च जोखिममा रहेका ज्येष्ठ नागरिक छन् भने खोप लगाउन वर्जित गरेका छैनौं।’
खोप लगाउनु साटो मन्दिरमा पूजा
प्रदेश २ का दलित र पिछडिएको समुदायमा पनि खोप लगाउनेको सङ्ख्या कम पाइएको छ। उनीहरू स्वास्थ्य मापदण्ड अपनाउनुको साटो कोरोना भाइरसलाई ‘ईश्वरीय देन’ भन्छन्।
यही अन्धविश्वासका कारण सर्लाहीको धनकौल गाउँपालिकाका सोनेलाल साह (५०) ले अहिलेसम्म कोभिड-१९ विरुद्धको खोप लगाएका छैनन् । कोरोनाको पहिलो र दोस्रो लहरका वेला पनि उनले न मास्क लगाए न त स्यानिटाइजर प्रयोग गरे। भन्छन्, ‘मृत्यु भाग्यमै लेखिएको हुन्छ। त्यसलाई कसैले रोक्न सक्दैन। त्यसो हुँदा खोप किन लगाउने?’
कोभिड-१९ को पहिलो लहरका वेला उक्त गाउँका कतिपय महिलाले ‘माता महारानी रिसाएको’ भन्दै मन्दिरमा पूजा गरेका थिए। स्थानीयमा व्याप्त यस्तो भ्रम चिर्न सरकारको प्रस्तुति प्रभावकारी देखिंदैन। उनीहरूसम्म खोप पुर्याउन स्थानीय सरकार अग्रसर छैन।
धनकौल गाउँपालिकाका स्वास्थ्य संयोजक अरुणकुमार महतोले उक्त क्षेत्रमा खोप लगाउने दर बढ्न नसकेको बताए। ‘पहिलो चरणमा धेरैले खोप लगाएका थिए,’ उनले हिमालखबरसँग भने, ‘तर उनीहरूलाई ज्वरो आउने जस्ता समस्या देखिएको भन्दै ५० वर्षभन्दा माथिका अधिकांशले खोप लगाउनै मानेका छैनन्।’ महतोका अनुसार, खोपको दोस्रो मात्रा लिन नमान्ने ५० वर्ष नाघेका व्यक्तिको सङ्ख्या ६० प्रतिशतभन्दा बढी छ। ‘हामीले खोप लगाएपछि ज्वरो आउनु सामान्य हो, यसले असर गर्दैन भनेर पटक पटक बुझायौं,’ उनले भने, ‘तर उनीहरू बुझनै चाहँदैनन्। त्यसैले दोस्रो चरणको खोप अभियान प्रभावकारी बन्न सकेन।’
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग अहिलेसम्म कति जनाले खोप लगाए भन्ने तथ्याङ्क त छ, तर वर्गीकरणमा परेका सबै व्यक्तिले खोप पाए कि पाएनन्, हेर्ने संयन्त्र छैन। मन्त्रालयका सह–प्रवक्ता समीरकुमार अधिकारीले उमेर समूह अनुसार प्राथमिकताको सूचीमा परेका व्यक्तिमध्ये कतिले खोप लगाए भन्ने वर्गीकृत तथ्याङ्क नभएको बताए। ‘स्थानीय तहबाटै वर्गीकरण गरेर तथ्याङ्क नआएकाले समस्या परेको हो,’ उनले भने।
स्वास्थ्य सेवा विभागको बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख सागर दाहाल पनि आफूहरूसँग उमेर र लक्षित समूह अनुसार खोप लगाउनेको तथ्याङ्क नरहेको बताउँछन्। आवश्यक तथ्याङ्कको सङ्कलन र तिनको विश्लेषण गर्ने संयन्त्र नहुँदा खोप अभियान कसरी प्रभावकारी हुन सक्ला, सरकारी अधिकारीहरू नाजवाफ छन्।
खोपले कसरी गर्छ काम ?
डा. अनुप बाँस्तोलाका अनुसार, कोरोना विरुद्ध खोप लगाइसकेपछि शरीरमा उक्त भाइरस विरुद्ध लड्ने क्षमताको विकास हुन्छ । खोप लगाएकै कारण अहिले धेरै व्यक्तिको ज्यान जोगिएको र विज्ञानले समेत यो कुरा पुष्टि गरेको उनको भनाइ छ । ‘खोप लगाएपछि नै स्वास्थ्यकर्मीको ठूलो समुदाय भाइरस सङ्क्रमणबाट जोगिएको हो,’ बास्तोलाले भने, ‘त्यसैले जनस्वास्थ्यका मापदण्ड पालना गर्दै खोप लगाउनु नै अहिले महत्त्वपूर्ण हो।’
अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्स (सीडीसी)को प्रतिवेदन अनुसार, खोप लगाइसकेपछि शरीरभित्र ‘स्पाइक प्रोटिन’ प्रवेश गर्छ। जुन हाम्रा लागि अनुकूल नरहेको भनी हाम्रो प्रतिरक्षा प्रणालीले पहिचान गर्छ। त्यसपछि उक्त प्रणालीले ‘एन्टीबडी’ उत्पादन गर्दै प्रतिरक्षाका अन्य कोषिकाहरूलाई सक्रिय बनाइदिन्छ। सीडीसीका अनुसार, यी कोषिकाले ‘स्पाइक प्रोटिन’ लाई कोरोनाकै जीवाणुका रूपमा पहिचान गरेर त्यस विरुद्ध लड्ने अभ्यास गरेका हुन्छन्। ‘यही प्रक्रिया मार्फत शरीरले भविष्यमा कोरोना सङ्क्रमण हुँदा पनि कसरी प्रतिरक्षा गर्ने भनी सिकेको हुन्छ,’ प्रतिवेदनमा उल्लेख छ।
पूर्ण खोप लिने थोरै
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १५ कात्तिकमा सार्वजनिक गरेको तथ्याङ्क अनुसार, देशभर २३.९ प्रतिशत नागरिकले पूर्ण मात्रामा खोप लगाएका छन्। यस्तै, एक मात्रा खोप लगाउने २८.५ प्रतिशत छन्। १५ वर्ष वा त्यसभन्दा माथिका दुई करोड १७ लाख ५६ हजार ७६३ नागरिकमध्ये ३३.३ प्रतिशतले पूर्ण मात्रा र ३९.८ प्रतिशतले एक मात्रा खोप लगाएको मन्त्रालयको कोभिड–१९ सम्बन्धी स्वास्थ्य क्षेत्रको प्रतिकार्य नामक दैनिक बुलेटिनमा उल्लेख छ। यस अनुसार, १५ कात्तिकसम्म कुल तीन करोड तीन लाख ७८ हजार ५५ नागरिकमध्ये कोरोनाको पहिलो र दोस्रो मात्रा लगाउनेको सङ्ख्या एक करोड ५९ लाख २३ हजार ३०९ छ।
इन्टरन्यूजको सहयोगमा, साथमा राधेश्याम कुशवाहा, सर्लाही ।