कर्णालीका नवनियुक्त मुख्यमन्त्री शाहीले लिए शपथ
कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री जीवनबहादुर शाहीले पद तथा गोपनीयताको शपथ लिएका छन्।
कर्णाली प्रदेश प्रमुख गोविन्द्रप्रसाद कलौनीले मुख्यमन्त्री शाहीलाई पद तथा गोपनीयताको शपथ गराएका छन्। प्रदेश प्रमुखको कार्यालयमा आयोजित विशेष समारोहमा मुख्यमन्त्री शाहीले मंगलबार साँझ शपथ लिएका हुन्।
संविधानको १६८ को उपधारा २ बमोजिम मंगलबार साँझ नै प्रदेश प्रमुख कलौनीले शाहीलाई मुख्यमन्त्री नियुक्त गरेका थिए। उनी नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)का सांसदको समर्थनमा मुख्यमन्त्री बनेका हुन्।
गत वैशाखमा कांग्रेस र माओवादीबीच आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएको थियो। त्यही अनुसार, माओवादी संसदीय दलका नेता महेन्द्रबहादुर शाहीले सोमबार मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए।
४० सदस्यीय प्रदेश सभामा अहिले ३५ सदस्य मात्रै छन्। सरकार गठनका लागि १८ सांसदको समर्थन आवश्यक पर्छ। उनको समर्थनमा कांग्रेस, माओवादी र एकीकृत समाजवादीका गरी २१ सांसद पुगेका छन्।
जसमा माओवादीका १२, कांग्रेसका ६ र एकीकृत समाजवादीका तीन सांसद छन्। प्रदेश सभामा नेकपा (एमाले) का १३ र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक सांसद छन्।