नेपालले पायो भारतीय बजारमा विद्युत् निर्यातको अनुमति, पहिलो चरणमा ३९ मेगावाट निर्यात हुँदै
नेपालले भारतीय ऊर्जा बजारमा प्रतिस्पर्धी दरमा विद्युत् बिक्रीको अनुमति पाएको छ।
भारतको विद्युत् मन्त्रालयको सहमतिमा अन्तरदेशीय विद्युत् व्यापारका लागि स्वीकृति दिने निकायले सोमबार नेपाल विद्युत् प्राधिकरणलाई भारतीय ऊर्जा एक्सचेन्ज मार्केटमा विद्युत् बिक्री गर्न अनुमति दिएको हो। पहिलो चरणमा प्राधिकरणको स्वामित्वमा नुवाकोटमा सञ्चालित २४ मेगावाटको त्रिशूली र १५ मेगावाटको देवीघाट विद्युत्गृहबाट उत्पादित ३९ मेगावाट विद्युत् भारतीय ऊर्जा एक्सचेन्ज (आईआईएक्स)मा बिक्री गर्न अनुमति दिइएको हो।
दुई विद्युत्गृहबाट उत्पादित विद्युत्लाई स्रोत मानी भारतीय बजारमा बिक्रीका लागि अनुमति दिइएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ। प्राधिकरणले मंगलबार राति १२ बजेबाट ढल्केबर–मुजफ्फपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइन मार्फत विद्युत् निर्यात शुरू गर्नेछ। हाल यो लाइनबाट विद्युत् आयात मात्र भइरहेको छ।
नेपालले भारतीय ऊर्जा एक्सचेन्ज (आईआईएक्स)मा विद्युत् खरीद गरी आयात गर्न यसअघि नै अनुमति पाइसकेको छ। प्राधिकरणले १७ वैशाखबाट आवश्यक परेको वेला आईआईएक्स मार्फत प्रतिस्पर्धी दरमा विद्युत् आयात गर्दै आएको हो। निर्यातको अनुमति पाएसँग नेपाल र भारतबीचको विद्युत् व्यापार नयाँ चरणमा प्रवेश गरेको छ।
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री पम्फा भुसालले भारतीय ऊर्जा एक्सचेन्ज बजारबाट विद्युत् बिक्री र खरीदका लागि प्रवेश गर्ने नेपाल दक्षिणएशियाकै पहिलो राष्ट्र बनेको बताइन्। “राजनीतिक, कूटनीतिक र प्रशासनिक तहको निरन्तरको प्रयासबाट नेपालमा खपत गरेर जगेडामा रहेको विद्युत् बिक्रीका लागि अनुमति पाएका छौं, यो दुई मुलुकबीचको ऊर्जा व्यापारका लागि एउटा कोशेढुङ्गा हो,” उनले भनिन्।
नेपालले ४५६ मेगावाटको माथिल्लो तामाकोशी, ६९ मेगावाटको मर्स्याङ्दी र ४५ मेगावाटको माथिल्लो भोटेकोशी विद्युत्गृहबाट उत्पादित विद्युत् भारतीय बजारमा बिक्रीको अनुमति मागेको थियो। तर, भारतले भने २४ मेगावाटको त्रिशूली र १५ मेगावाटको देवीघाट विद्युत्गृहको बिजुली मात्रै बिक्रीको अनुमति दिएको हो। मन्त्री भुसालले नेपालले माग गरेको आयोजनाको विद्युत् बिक्रीका लागि पनि छिटै अनुमति पाउने अपेक्षा गरेको बताइन्।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत् निर्यातका लागि भारतीय पक्षबाट सहमति प्राप्त भएसँगै नेपाल–भारतबीचको सम्बन्धमा थप इँटा थपिएको बताए। नेपाल–भारतबीचको विद्युत् व्यापारका लागि लामो समयको प्रयासपछि नेपालको विद्युत् भारतीय बजारमा निर्यात शुरू भएसँगै नेपालका जलविद्युत् विकासको ठूलो ढोका खुलेको उनको दाबी छ। उनले भने, “विद्युत् निर्यातको शुरूआत थोरै परिमाणबाट भए पनि चाँडै नै हामीले प्रस्ताव गरेका माथिल्लो तामाकोशी लगायत अन्य आयोजनाको विद्युत् पनि भारतीय बजारमा निर्यात हुने विश्वास लिएका छौं।”
भारतको केन्द्रीय विद्युत् प्रणाली अन्तर्गत दैनिक विद्युत् बजार (डे अहेड मार्केट)मा नेपालले विद्युत् बिक्री गर्नेछ। प्राधिकरणले हरेक दिन बिहान १० बजेदेखि मध्यान्न १२ बजेसम्म एक्सचेन्ज बजारमा बिक्री गरिने विद्युत्को परिमाण सहित बिडमा प्रतिस्पर्धा गर्नेछ। विद्युत् प्रणाली मार्फत तय हुने ‘मार्केट क्लियरिङ प्राइस’ का आधारमा विद्युत्को प्रति युनिट बिक्री दर तय हुनेछ। प्रतिस्पर्धी दर तय भएपछि २४ घण्टा विद्युत् निर्यात हुनेछ। भारतमा कोइलाको मूल्य बढ्दा एक्सचेन्ज मार्केटमा प्रति युनिट विद्युत्को मूल्य २८ भारतीय रुपैयाँसम्म पुगेको थियो।
प्राधिकरणका तर्फबाट एक्सचेन्ज बजारको सम्पूर्ण कारोबार नेपालसँगको विद्युत् व्यापारका लागि तोकिएको सम्पर्क निकाय एनटीपीसी विद्युत् व्यापार निगम (एनभीभीएन)ले गर्नेछ। एनभीभीएनले हरेक दिनको कारोबार सम्बन्धी विवरण प्रत्येक दिन साँझ ६ बजे प्राधिकरणलाई पठाउनेछ।
भारतीय बजारमा विद्युत् बिक्रीको अनुमति नपाउँदा गत असारयता दैनिक औसतमा ५०० मेगावाटभन्दा धेरै बिजुली खेर गइरहेको छ।