मुख्यमन्त्री राईले दोहोर्याए शेरधन सरकारकै अर्थमन्त्री
प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री राजेन्द्र राईले चार मन्त्री र एक राज्यमन्त्री नियुक्त गरेका छन्।
प्रदेश १ सरकारको आर्थिक मामिला तथा योजना मन्त्रीमा इन्द्रबहादुर आङ्बो, भौतिक पूर्वाधार विकास मन्त्रीमा हिमाल कार्की, आन्तरिक मामिला तथा कानून मन्त्रीमा केदार कार्की, सामाजिक विकास मन्त्रीमा जयराम यादव र सामाजिक विकास राज्यमन्त्रीमा विष्णु तुम्बाहाम्फेलाई नियुक्त गरेका छन्।
नेकपा (माओवादी केन्द्र)बाट मन्त्री बनेका आङ्बो शेरधन राईको सरकारमा पनि आर्थिक मामिला मन्त्री थिए।
कार्कीद्वय नेपाली कांग्रेसबाट मन्त्री बनेका हुन्। यादव जनता समाजवादी पार्टी (जसपा)बाट प्रत्यक्षतर्फबाट निर्वाचित सांसद हुन्। राज्यमन्त्री तुम्बाहाम्फे संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी सांसद हुन्।
नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जसपा र मञ्चका गरी ५० सांसद छन्। नेकपा (एमाले)बाट मुख्यमन्त्री बनेका भीम आचार्यले १५ कात्तिकमा राजीनामा दिएका थिए।