प्रस्तावित राजदूतबारे उजुरी आह्वान, समावेशी बनाउन संसदीय समितिको निर्देशन
संसदीय सुनुवाइ समितिले भारत, अमेरिका र बेलायतका लागि प्रस्तावित राजदूतहरूको सुनुवाइ प्रक्रिया शुरू गरेको छ।
सिंहदरबारमा मंगलबार बसेको बैठकले प्रस्तावित राजदूतहरूबारे कुनै उजुरी भए १० दिनभित्र दिन उजुरी आह्वानको निर्णय गरेको समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए।
सरकारले भारतका लागि शंकर शर्मा, अमेरिकाका लागि श्रीधर खत्री र बेलायतका लागि राजदूतमा ज्ञानचन्द्र आचार्यको नाम प्रस्ताव गरेको छ। अघिल्लो सरकारले नियुक्त गरेका राजदूतहरूलाई फिर्ता बोलाएर नयाँ राजदूत पठाइन लागेको हो।
सुनुवाइ समितिले राजदूत नियुक्त गर्दा समावेशी बनाउन समेत निर्देशन दिएको छ। “तीन जना राजदूतको नाम हेर्दा समावेशी देखिएन,” सभापति कर्णले हिमालखबरसँग भने, “अझै डेढ दर्जन देशमा राजदूत नियुक्ति गर्न बाँकी छ, त्यति वेला समावेशी बनाउन निर्देशन दिएका छौं।”