प्रशिक्षक अल्मुताइरीले गरे तीन वर्षको सम्झौता
राष्ट्रिय फूटबल टीमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले तीन वर्षको सम्झौता गरेका छन्।
मुख्य प्रशिक्षक अल्मुताइरीले अखिल नेपाल फूटबल संघ (एन्फा)सँग मंगलबार तीन वर्षका लागि सम्झौता गरेको राष्ट्रिय टीमका व्यवस्थापक मधुसुदन उपाध्यायले बताए। अब अल्मुताइरी सन् २०२४ सम्म नेपाली राष्ट्रिय टोलीको जिम्मेवारी सम्हाल्नेछन्।
उनी एक वर्षअघि मुख्य प्रशिक्षक नियुक्त भएका थिए। तर, एन्फा पदाधिकारीसँगको विवादका कारण जिम्मेवारी छाड्ने घोषणा गरेका थिए।
गत महीना माल्दिभ्समा भएको साफ च्याम्पियनसिपको फाइनल खेल नै आफ्नो अन्तिम खेल हुने बताएका थिए। उनी माल्दिभ्सबाटै कतार गएका थिए।
एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पासँगको छलफलपछि उनी आइतबार नेपाल फर्किएका हुन्। आज उनले तीन वर्ष नेपाली टोली सम्हाल्ने सम्झौता गरेका छन्।