उच्च अदालतले घटायो पूर्व मन्त्री सञ्जयकुमार साहको कैद
जनकपुरधाममा पाँच जनाको ज्यान जाने गरी भएको बम विस्फोटका मुख्य आरोपी पूर्व राज्यमन्त्री सञ्जयकुमार साह ‘टकला’ को कैद सजाय उच्च अदालतले घटाएको छ।
जिल्ला अदालतले सुनाएको सजायलाई घटाउँदै उच्च अदालत, जनकपुरले ११ वर्ष सजाय सुनाएको हो। साहको योजनामा पाँच जनाको ज्यान जाने गरिए भएको बम विष्फोटको घटनामा जिल्ला अदालत, धनुषाले जन्मकैदको सजाय सुनाएको थियो।
विक्की दास कथबनियाले दायर गरेको मुद्दामा बहस गर्दै धीरबहादुर चन्द र रमेश ढकालको संयुक्त इजलाशले पूर्व राज्यमन्त्री साहको कैद सजाय घटाउने फैसला गरेका हुन्। फैसलामा साहले पाँच जनाको ज्यान जाने गरी भएको घटनामा षड्यन्त्र रचेको ठहर गरिएको छ।
यसअघि २०७५ मा जिल्ला अदालतले उनलाई मुख्य अभियुक्त ठहर गरेको थियो। मुख्य अभियुक्त भएकै कारण जन्मकैदको सजाय सुनाएको थियो। अहिले साह काठमाडौंको नख्खु कारागारमा जेल सजाय भुक्तान गरिरहेका छन्।
उनी धनुषा ३ बाट संविधानसभाको दुवै निर्वाचनमा विजयी भएका थिए। पहिलो पटक तत्कालीन मधेशी जनअधिकार फोरमबाट र दोस्रो पटक तत्कालीन सद्भावना पार्टीबाट चुनाव जितेका उनलाई संविधानसभा सदस्य रहेकै वेला दिल्लीबाट पक्राउ गरी ल्याइएको थियो।
१८ वैशाख २०६९ मा मिथिला राज्यको माग गर्दै रामानन्द चोकमा धर्ना बसेका स्थानीय बासिन्दा् लक्षित बम विस्फोट गरिएको थियो। विस्फोटमा मिथिला नाट्य कला परिषदका कलाकार रञ्जु झा सहित पाँच जनाको मृत्यु भएको थियो भने ३२ जनाभन्दा बढी घाइते भएका थिए।
उनी विरुद्ध २९ जेठ २०६९ मा अभियोगपत्र दर्ता गरिएको थियो। उनीसँगै मुकेश चौधरी, राजन मुक्ति, जयप्रकाश चौधरी, मुकेशकुमार कर्ण, सुरेशकुमार कर्ण, रिपेन्द्र झा र आदित्य देवलाई विपक्षी बनाइएको थियो।
त्यही वर्ष २४ चैतमा प्रहरीले पूरक अभियोगपत्र दर्ता गरी मुख्य अभियुक्तका रूपमा साहलाई कैद सजाय माग गरेको थियो।
साहले ठेक्कापट्टामा अवरोध गर्दै आएका तत्कालीन जिल्ला विकास समितिका सहलेखापाल समेत रहेका स्थानीय जीवनाथ चौधरीको हत्या गर्ने योजना अनुसार बम विस्फोट गराएको खुलेको थियो। चौधरी कांग्रेस निकट थिए।
दुवै जनाबीचको व्यक्तिगत टकरावकै कारण घटना भएको पाइएको थियो। बम विस्फोट गराएका सशस्त्र समूहका मुकेश चौधरीले नै साहले विस्फोट गराउन लगाएको बताएका थिए। उनीहरूबीचको टेलिफोन कुराकानी सार्वजनिक भएपछि साह पक्राउ परेका थिए।
मिथिला राज्य संर्घष समितिका संयोजक परमेश्वर कापडीले सजाय घटाउनु सन्तोषजनक नरहेको बताए। तथापि, पूर्व राज्यमन्त्रीलाई सजाय दिने फैसलाले कानूनी राज्यको अनुभूति गराएको उनको भनाइ छ।
आपराधिक क्रियाकलापबाटै राजनीतिमा स्थापित
आपराधिक क्रियाकलापबाटै उनी राजनीतिमा स्थापित भएका थिए। शुरूआतमा ठेक्कापट्टामा लागेर सामान्य आपराधिक कार्य गर्दै आएका उनी बिस्तारै राजनीतिमा लागेका थिए।
मधेशी जनअधिकार फोरममा लागेका उनले पहिलो संविधानसभाको निर्वाचनमा टिकट मात्रै पाएनन्, जित पनि हासिल गरे। त्यतिवेला उनले नेकपा (एमाले)का नेता रघुवीर महासेठलाई पराजित गरेका थिए।
त्यसपछि उनी २०७० सालको दोस्रो संविधानसभाको निर्वाचनमा धनुषा–४ बाट निर्वाचित भए। त्यतिवेला उनले नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री रामसरोज यादवलाई पराजित गरेका थिए। राजनीतिमा पहुँच बढेसँगै उनले आफ्ना विरोधी नेतालाई समेत धम्क्याउने गरेको खुलेको थियो।