को हुन् नवनियुक्त मुख्यमन्त्री राजेन्द्र राई?
२०७४ मा प्रदेश सभा निर्वाचनका लागि उम्मेदवार बनेर प्रचारमा जाँदा राजेन्द्र राईले कार्यकर्तालाई भनेका थिए, यो पटक होइन, अर्को पटक मुख्यमन्त्रीका लागि दाबी गर्छु। तर, राजनीतिक फेरबदलका कारण उनी यसै पटक प्रदेश १ को मुख्यमन्त्री बनेका छन्।
प्रदेश सभामा चौथो ठूलो दलको नेतृत्व गर्दै राई मुख्यमन्त्री नियुक्त भएका छन्। प्रदेश प्रमुख साेमनाथ अधिकारीले उनलाई मुख्यमन्त्री नियुक्त गरेका छन्। उनलाई नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा)को समर्थन छ।
उनी विद्यार्थी राजनीतिबाट उदाएका नेता हुन्। भोजपुरको षडानन्द नगरपालिका झ्याउपोखरीका राई आरआर क्याम्पस काठमाडौंमा अनेरास्ववियुको सदस्य बनेका थिए। त्यसपछि २०४९ सालमा सभापति भए। अनेरास्ववियुको महासचिव हुँदै दुई कार्यकाल अध्यक्षको जिम्मेवारी पनि सम्हाले।
राजा ज्ञानेन्द्र शाहले सत्ता हातमा लिएपछि भएको विद्यार्थी आन्दोलनबाटै राई चर्चित बनेका हुन्। एकीकृत समाजवादी मोरङका प्रचार विभाग प्रमुख वसिम आलमका अनुसार, त्यति वेला अनेरास्ववियुको अध्यक्ष रहेका राईले राजदरबार अगाडि गणतन्त्रको नारा लगाएका थिए। त्यसकारण उनी विरुद्ध राजद्रोहको मुद्दा पनि लागेको थियो।
त्यसपछि पार्टी राजनीतिमा लागेका उनी भोजपुर ‘क’ बाट प्रदेश सभामा निर्वाचित भए। उनले संघीय समाजवादी फोरमका अजम्बर राई काङवाङलाई पराजित गरेका थिए। काङवाङ एमाले छाडेर फोरममा गएका थिए।
२०७४ को प्रदेश सभा निर्वाचनमा भोजपुर ‘ख’ बाट शेरधन राई उम्मेदवार थिए। उनलाई मुख्यमन्त्रीका रूपमा प्रचार गरिएको थियो। भोजपुर ‘क’ बाट उम्मेदवार बनेका राई भने अर्को चुनावमा मुख्यमन्त्रीको दाबी गर्ने मनस्थिति बनाएर प्रचारमा हिंडेका थिए।
प्रदेश १ मा एमालेले बहुमत ल्याएपछि शेरधन राई नै मुख्यमन्त्री बने। तर, एमाले विभाजनसँगै राजेन्द्र राईका लागि मुख्यमन्त्री बन्ने बाटो खुल्यो। “उहाँले पदको नभई निष्ठाको राजनीति गरेकाले सफल हुनुभएको हो,” नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सदस्य महेश रेग्मी भन्छन्, “धेरै नेता पदमा पुगेपछि स्वार्थमा लाग्छन्, तर उहाँ त्यस्तो हुनुहुन्न।”
एमाले विभाजन भएपछि उनी एकीकृत समाजवादीमा लागे। उनीसँगै १० सांसदले एमाले छाडे। एकीकृत समाजवादीले उनलाई नै संसदीय दलको नेता बनायो। तथापि, उनको मुख्यमन्त्री पदप्रति चासो नभएको रेग्मी सुनाउँछन्। “मुख्यमन्त्रीप्रति उहाँको त्यत्ति चाहना पनि थिएन,” नेता रेग्मी भन्छन्, “परिस्थितिले मुख्यमन्त्री बन्ने अवसर जुटायो।”
विद्यार्थी राजनीतिमा सफल भएकाले पार्टी राजनीतिमा उनलाई अवसर मिलेको रेग्मी बताउँछन्। “स्वार्थमा नलाग्ने राम्रो अभियन्ता भएकाले राई पार्टीमा पनि राम्रो नेताका रूपमा स्थापित हुँदै आए,” उनी भन्छन्।
राजनीतिसँगै राई लेखनमा पनि सक्रिय छन्। उनका आयु र विचारको खेती पुस्तक प्रकाशित छन्।
अब भने उनलाई प्रदेशको नामकरण चुनौतीका रूपमा रहेको छ। उनले प्रदेश १ को नामको अगाडि किरात लेख्नुपर्ने किरात जातिको मागलाई समर्थन गर्दै आएका छन्। मुख्यमन्त्री भएपछि भने कोशी वा सगरमाथा नामलाई समर्थन गर्नुपर्ने बाध्यतामा छन्।