इमानको राजनीति गर्ने भन्दै कर्णालीका मुख्यमन्त्री शाहीले दिए राजीनामा
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राजीनामा दिएका छन्।
सोमबार साँझ प्रदेशबासीका नाममा सम्बोधन गर्दै शाहीले राजीनामा दिएका हुन्।
सत्तारूढ दलबीच भएको सहमति अनुसार, इमानको राजनीति गर्न राजीनामा दिएको शाहीले बताएका छन्।
सहमति अनुसार, कर्णाली प्रदेशमा अब नेपाली कांग्रेसका सांसद जीवनबहादुर शाही मुख्यमन्त्री हुनेछन्।
गत वैशाखमा नेकपा (एमाले)ले मुख्यमन्त्री शाहीलाई दिएको समर्थन फिर्ता लिएपछि सरकार अल्पमतमा परेको थियो।
एमालेकै चार सांसदले पार्टीको नीति विपरीत शाहीलाई विश्वासको मत दिएका थिए। शाहीलाई नेपाली कांग्रेसले पनि साथ दिएको थियो।
वैशाखमै नेपाली कांग्रेस र माओवादीबीच आलोपालो सरकार चलाउने सहमति भएको थियो।