स्थानीयभन्दा पहिले प्रतिनिधि सभाको चुनाव गर्नेबारे छलफल भइरहेको छ : दाहाल
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले स्थानीय तहभन्दा पहिले प्रतिनिधि सभाको चुनाव गर्ने विषयमा छलफल भइरहेको बताएका छन्।
नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन निजामतीले सोमबार काठमाडौंमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले अब चुनावमा केन्द्रित हुने वेला आएको बताए। केही दिनअघि निर्वाचन आयोगले प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गरेको प्रसङ्ग उल्लेख गर्दै सबै तहको चुनाव नजिकिन लागेको अध्यक्ष दाहालको भनाइ थियो।
राज्य र जनतालाई सजिलो हुने गरी कसरी चुनाव गर्ने भन्ने विषयमा छलफल भइरहेको उनले बताए। तीनै तहको निर्वाचन एकै पटक गर्ने कि भन्ने विचार पनि आएको उनले बताए। “सबैभन्दा राम्रो राज्यलाई कम भार पर्ने, जनतालाई कम दुःख हुने भनेको तीनै तहको निर्वाचन एकै चोटि गर्ने हो,” दाहालले भने।
यस्तो गर्दा राजनीतिक दललाई पनि सजिलो हुने उनको भनाइ थियो। “धेरै चलखेल, षड्यन्त्र पनि गर्न नपाउने, राज्यको आर्थिक बोझ पनि कम हुने, राजनीतिक दललाई पनि सजिलो हुन्छ कि भन्ने एउटा विचार छ,” उनले भने।
तर, यो प्राविधिक रूपमा सम्भव नभएको दाहालको भनाइ थियो। केही दिनअघि प्रधानमन्त्री देउवासँगको भेटमा पनि निर्वाचन आयोगका पदाधिकारीले कानूनी रूपमा तीनै तहको निर्वाचन एकै पटक गर्न नसकिने बताएका थिए। माओवादी अध्यक्ष दाहालले त्यसैलाई उल्लेख गर्दै अर्को विकल्पमा छलफल भइरहेको बताए।
तीनै तहको निर्वाचन एकै पटक गर्न नमिल्ने भएपछि पहिले प्रतिनिधि सभाको निर्वाचन गर्ने कि भन्ने विषयमा छलफल भइरहेको उनले बताए। दाहालले भने, “पहिले संघको निर्वाचन गर्ने, त्यसपछि स्थानीय तहको निर्वाचन गर्ने कि भन्ने विचार छ।” अहिले छलफलकै चरणमा रहेको र छिटै टुङ्गो लाग्ने उनको भनाइ थियो।
अध्यक्ष दाहालले सरकार संघीय गणतन्त्रलाई सुदृढ बनाउने गरी काम गरिरहेको बताए। यसअघिको सरकारले संघीय लोकतान्त्रिक गणतन्त्र सुदृढ गर्न आवश्यक ऐन, कानून बनाउनुतर्फ ध्यान नदिएको उनको भनाइ थियो।