कर्णालीका मुख्यमन्त्रीको साँझसम्म राजीनामा आउँछ : कांग्रेस नेता शाही
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आज साँझसम्म राजीनामा दिन लागेको नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता जीवनबहादुर शाहीले बताएका छन्।
गत वैशाखमा भएको सहमति अनुसार मुख्यमन्त्रीले राजीनामा दिन लागेको कांग्रेस नेता शाहीको भनाइ छ। “हामीसँग पहिले नै सरकार सञ्चालनको विषयमा सहमति भएको थियो,” उनले भने।
यसका लागि मुख्यमन्त्री शाहीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। साँझ ५ बजे मन्त्रिपरिषद्को बैठक बस्न लागेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ। बैठकमा मुख्यन्त्री शाहीको राजीनामाका विषयमा छलफल हुने एक मन्त्रीले बताए।
नेकपा (माओवादी केन्द्र)का सांसदहरूले भने मन्त्रिपरिषद्को बैठकपछि मात्रै राजीनामा दिने वा नदिने टुङ्गो लाग्ने प्रतिक्रिया दिएका छन्। प्रदेश सरकार प्रवक्ता एवं आन्तरिक मामिला तथा कानून मन्त्री सीताकुमारी नेपालीले मन्त्रिपरिषद्को बैठकपछि मात्रै राजीनामाको विषयमा थाहा हुने बताइन्। “मन्त्रिपरिषद्को बैठक बस्दै छ, त्यसपछि मात्रै राजीनामा दिने वा नदिने थाहा हुन्छ,” मन्त्री नेपालीले हिमालखबरसँग भनिन्।
वैशाखमा नेकपा (एमाले)ले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाही विरुद्ध प्रदेश सभामा अविश्वासको प्रस्ताव दर्ता गरेको थियो। त्यसपछि कांग्रेसले समर्थन गरेपछि शाहीको सरकार जोगिएको थियो।
त्यतिवेला माओवादी र कांग्रेसबीच ११ बुँदे सहमति भएको थियो। जसमा ६-६ महीना सरकारको नेतृत्व गर्ने उल्लेख थियो। त्यो सहमित अनुसार, आज मुख्यमन्त्री शाहीको ६ महीने अवधि सकिएको छ।