दुई महीनामै सरकारबाट बाहिरिए आचार्य
प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले सोमबार पदबाट दिएको राजीनामा स्वीकृत भएको छ।
प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ ले मुख्यमन्त्रीबाट आचार्यले दिएको राजीनामा स्वीकृत गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ। आचार्यले साेमबार नै मुख्यमन्त्रीबाट राजीनामा दिएका थिए।
सोमबार प्रदेश सभामा उनको विश्वासको मतको प्रस्तावमाथि मत विभाजन हुने कार्यसूची रहेको थियो। विपक्षी गठबन्धनका दलहरूले विश्वासको मत नदिने निर्णय गरेपछि उनले पदबाट राजीनामा दिएका हुन्।
नेकपा (एमाले) विभाजनसँगै उनी १० भदौमा मुख्यमन्त्री बनेका थिए। एमालेका १० सांसदले नेकपा (एकीकृत समाजवादी) रोजेपछि उनी अल्पमतमा परेका थिए।
अहिले प्रदेश सभामा एमालेका सभामुख सहित ४१ सांसद छन्। उनलाई मुख्यमन्त्रीको पद जोगाउन ६ सांसदको समर्थन आवश्यक थियो। तर, विपक्षी गठबन्धनमा ५० सांसद पुगेपछि उनी विश्वासको मतको प्रस्तावमाथि टुङ्गो नलाग्दै राजीनामा दिन पुगेका हुन्। उनले ६८ दिन मात्रै सरकार चलाउन पाए।
अब विपक्षी गठबन्धनबाट एकीकृत समाजवादीको संसदीय दलका नेता राजेन्द्र राई मुख्यमन्त्री हुने भएका छन्। विपक्षी गठबन्धनले राईलाई मुख्यमन्त्री बनाउने आइतबार नै निर्णय गरिसकेको छ।
तिहारपछि पूर्णता दिने गरी अहिले सानो आकारको मन्त्रिपरिषद् बनाउने तयारी गरिएको राईले बताए।