कर्णालीमा सत्ता हस्तान्तरणको समयावधि सकिंदै
कर्णाली प्रदेशमा नेकपा (माओवादी केन्द्र) र नेपाली कांग्रेसबीच भएको सहमति अनुसार सत्ता हस्तान्तरणको समयावधि आज सकिन लागेको छ।
मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिनुअघि गत वैशाखमा माओवादी र कांग्रेसबीच सत्ता साझेदारी गर्ने सहमति भएको थियो। माओवादीले १५ कात्तिकसम्म सरकारको नेतृत्व गर्ने र त्यसपछि कांग्रेसलाई हस्तान्तरण गर्ने सहमति बनेको थियो।
त्यस अनुसार, अब मुख्यमन्त्री शाहीले सरकारको नेतृत्व हस्तान्तरण गर्नुपर्ने कांग्रेस नेताहरू बताउँछन्। कांग्रेसका तर्फबाट संसदीय दलका नेता जीवनबहादुर शाहीले सरकारको नेतृत्व गर्न पाउनुपर्ने उनीहरूको भनाइ छ।
माओवादीले भने सत्ता हस्तान्तरण नगर्ने निर्णय गरिसकेको छ। माओवादी प्रदेश कार्यालयको विस्तारित बैठकले शाहीले नै बाँकी समय पनि सरकारको नेतृत्व गर्ने निर्णय गरेपछि सत्तारूढ दलबीच विवाद बढेको हो।
कांग्रेस संसदीय दलका नेता शाही भने सत्ता हस्तान्तरणका विषयमा छलफल भइरहेको बताउँछन्। “माओवादीले सहमति कार्यान्वयन गर्छ भन्ने विश्वास छ,” कांग्रेस नेता शाहीले हिमालखबरसँग भने, “अहिले भइरहेका छलफलमा माओवादी नेताहरू सकारात्मक देखिएका छन्।”
माओवादीले सत्ता हस्तान्तरण नगरे सरकारलाई दिएको समर्थन फिर्ता लिन सक्ने कांग्रेस नेताहरू बताउँछन्। शाही भने अहिले त्यस्तो निष्कर्षमा नपुगिएको बताए। मुख्यमन्त्रीले सहमति कार्यान्वयन नगरेपछि मात्रै के गर्ने भन्ने निर्णय हुने उनको भनाइ छ।
कर्णालीमा कांग्रेस र नेकपा (एकीकृत समाजवादी)को समर्थनमा माओवादी संसदीय दलका नेता शाहीले सरकारको नेतृत्व गरिरहेका छन्।
४० सदस्यीय प्रदेश सभामा अहिले ३५ सदस्य मात्रै छन्। जसमा माओवादीका १२, कांग्रेसका ६ र एकीकृत समाजवादीका तीन सांसद छन्। त्यस्तै, नेकपा (एमाले)का १३ र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक सांसद छन्।