मुख्यमन्त्री पाण्डेले तिहार लगत्तै विश्वासको मत लिने
बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले तिहार लगत्तै विश्वासको मत लिने भएका छन्। त्यसपछि मात्रै मन्त्रिपरिषद् विस्तार हुने भएको छ।
मुख्यमन्त्री पाण्डेले २२ कात्तिकमा प्रदेश सभाबाट विश्वासको मत लिने तयारी गरेका हुन्। त्यसका लागि उनले प्रदेश सभा सचिवालयमा पत्र पठाइसकेका छन्। विश्वासको मत लिने प्रयोजनका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट पत्र प्राप्त भएको प्रदेश सभा सचिवालयका प्रवक्ता विनोद अमात्यले बताए।
संविधानको धारा १६८ बमोजिम मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिन खोजेका हुन्। यसको उपधारा ४ मा दुई वा दुईभन्दा बढी दलको समर्थनमा बनेका मुख्यमन्त्रीले नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था गरिएको छ।
मन्त्रिपरिषद् विस्तार गर्दा असन्तुष्ट सांसदले विश्वासको मत दिन नसक्ने भएकाले मुख्यमन्त्री पाण्डेले छिटै विश्वासको मत लिन खोजेको स्रोतले जनाएको छ। त्यसपछि मात्रै उनले मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन्।
यससँगै मन्त्रालयको सङ्ख्या पनि बढाइने भएको छ। केही मन्त्रालय फुटाएर १२ पुर्याउने तयारी भएको जनाइएको छ।
नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)ले चार-चार मन्त्री र एक-एक राज्यमन्त्री मागेपछि पाण्डे मन्त्रालय फुटाउने तयारीमा लागेका हुन्। यसअघि शपथ ग्रहण लगत्तै मुख्यमन्त्री पाण्डेले गठबन्धनमा रहेका दललाई चित्त बुझाएर मन्त्रिपरिषद् विस्तार गर्ने बताएका थिए।
उनी ११ कात्तिकमा कांग्रेस, माओवादी र जनता समाजवादी पार्टीको समर्थनमा मुख्यमन्त्री बनेका हुन्।