अनुदान लिने नलिने नेपालको हातमा : एमसीसी
अमेरिकाले नेपालको संसद्ले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता अनुमोदन नगर्दा लाखौं नेपालीले यसको लाभ लिन नपाएको बताएको छ।
आइतबार एक विज्ञप्ति जारी गर्दै एमसीसीले परियोजना कार्यान्वयनको ढिलाइका कारण दुई करोड ३० लाख नेपालीलाई विश्वसनीय विद्युत् र सुरक्षित सडकको पहुँच दिने कार्यक्रम अन्याेलमा परेको उल्लेख गरेको हाे।
नेपालमा सम्झौताबारेको विवाद कायम रहेका वेला एमसीसीले भने यो परियोजना अघि बढाउने वा नबढाउने भन्ने विषय नेपालको हातमा रहेको बताएको छ।
एमसीसीले आफ्ना अधिकारीहरूले नेपाल भ्रमणका क्रममा सम्झौताबारे सम्पूर्ण स्पष्टीकरण दिइसकेको र नेपाल सरकार तथा राजनीतिक नेतृत्वले पनि सम्झौतालाई अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको उल्लेख गरेको छ।
विज्ञप्तिमा भनिएको छ, "एमसीसी सम्झौता अनुमोदनमा भएको ढिलाइले ५०० मिलियन डलरको अनुदान सहायता तथा दुई करोड ३० लाख नेपाली जनतालाई विश्वसनीय विद्युत् र सुरक्षित सडकको पहुँच दिने अवसरलाई जोखिममा पारेको छ।"