प्रदेश-१ मा राजेन्द्र राईलाई मुख्यमन्त्री बनाउने पाँच दलको सहमति
प्रदेश-१ का विपक्षी दलहरू नेकपा (एकीकृत समाजवादी)का सांसद राजेन्द्र राईलाई मुख्यमन्त्री बनाउन सहमत भएका छन्।
नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा) र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले राईलाई मुख्यमन्त्रीमा अघि सार्ने निर्णय गरेका हुन्।
विराटनगरमा आइतबार बसेको बैठकको निर्णयबारे जानकारी दिंदै मञ्चकी सांसद विष्णु तुम्बाहाम्फेले भनिन्, “मुख्यमन्त्री भीम आचार्यको विपक्षमा मत दिने र राजेन्द्र राईलाई मुख्यमन्त्रीमा अघि सार्ने सहमति गरेका छौं।”
नेकपा (एमाले)बाट मुख्यमन्त्री बनेका आचार्यले १५ कात्तिकमा विश्वासको मत लिने कार्यक्रम छ। त्यसको अघिल्लो दिन पाँच दलले नयाँ मुख्यमन्त्रीबारे निर्णय गरेका हुन्।
प्रदेश-१ मा मुख्यमन्त्रीका लागि ४७ सांसदको समर्थन आवश्यक पर्छ। विपक्षी पाँच दलसँग ५० सांसद छन्।