विदेशमा फेरिंदै छन् हाम्रा नाम र थर, बिलाउँदै छन् गोत्र
हामीले अंग्रेजी बोल्दा गल्ती गर्नु हुँदैन, शुद्ध मानकको उच्चारण र व्याकरण मिलाएर बोल्नुपर्छ, अर्को उपाय नै छैन भने झैं गर्छौं। अंग्रेजीमा हामीलाई गल्ती गर्ने छूट नै नभए जस्तो सोच्छौं। उनीहरू भने आफ्नो जिब्रो जसरी लाग्छ त्यसरी नै दुनियाँलाई बदलिदिन खोज्दा रहेछन्।
सन् २००२ तिर कीर्तिपुर केन्द्रीय क्याम्पसमा पढ्दा प्राध्यापक गोविन्दराज भट्टराईले एक दिन आफ्नो ‘लेक्चर’ का क्रममा भन्नुभएको ठट्टा जस्तो सुनिने एउटा कुराको याद कुनै न कुनै प्रसङ्गले मनमा आज पर्यन्त बजिरहन्छ।
पढाइ वा जागीरको तानाबानाले अंग्रेजीभाषीको देश वा तिनको सङ्गतमा परिरहने मान्छे उहाँ। “मेरो नाम बोलाउँदा ‘गोबिन्डा र्याज ब्याट्री’ भन्छन् विदेशतिर” उहाँले रमाइलो गर्ने शैलीमा भन्नुभएको थियो। हामी कक्षाका झण्डै सय जना विद्यार्थी खूब हाँसेका थियौं, त्यो सुनेर।
कालान्तरमा उनै गुरुको चेलो म अंग्रेजीभाषीको देश क्यानाडा बस्न आएँ, परिवार सहित, र ‘घिमिरे’ बाट ‘गिमिरे’ ‘गिमायर’ र ‘गिम्री’ भएको छु।
नेपाल छँदा मेरो खाइजीविकाको मात्रै भाषा भएको अंग्रेजी यहाँ आएपछि दैनिक उठबसकै भाषा भयो। घर बाहिर त अंग्रेजीमा कनीकुथी नगरी चलेन–चलेन, घरमै पनि बालबच्चासँग अंग्रेजीमै नबोली सुख पाइएन। अलिअलि अंग्रेजी नेपालमै सिकेर आएको भए पनि अन्य देशबाट बसाइँसराइ गरेर आएका गैर–अंग्रेजीभाषीमाझ कुख्यात ‘एक्सेन्ट’ भनिने मातृभाषीको बोलाइको लवजसँग अभ्यस्त नभएको मलाई शुरूशुरूमा यताको कथ्य अंग्रेजी झण्डै–झण्डै ‘भैंसी बराबर’ भयो।
यस्तो स्थिति सधैं भने रहेन। मान्छेका हातगोडा, कान र दिमाग सबै जनावरभन्दा छिटो कुनै पनि कुरामा अभ्यस्त हुन्छन्– अभ्यास र आवृत्तिले भन्ने कुरा पढे, बुझेकै कुरा हो। बिस्तारै क्यानाडेली सञ्चार माध्यमले बोलेका कुरा सबै बुझ्न थालियो। दैनिक जीवनका खनखाँचोमा र काममा हुनु, गर्नुपर्ने सञ्चारका कुरामा क्रमशः सजिलो हुँदै गयो।
अंग्रेज र अमेरिकन भाषाको मामिलामा निकै जब्बर छन्। उनीहरू दुनियाँका सबै कुरालाई अंग्रेजी प्रधान दृष्टिले हेर्न, व्याख्या गर्न, आफ्नै भाषिक गुणमा तिनलाई ढाल्न तम्सिन्छन्। त्यसैले अरूले बोलेको अंग्रेजीलाई ‘ही ह्याज एक्सेन्ट’ ‘शी ह्याज एक्सेन्ट’ भनेर सीमान्तकृत गर्न खोज्छन्।
‘गोविन्दराज भट्टराई’ लाई ‘गोबिन्डा र्याज ब्याट्री’ भन्नु नै अर्काको भाषा सजिलै कसैले पनि जान्दैन भन्ने गतिलो सबूत हो। अंग्रेजीभाषी पश्चिमाको नेपाली बोलीमा आउने लवजको नक्कल गरेर त हाम्रोमा राम्रै ‘हास्यव्यङ्ग्य’ र कलाकारिता पनि चलिरहेको छ। अर्काको बोलीमा आउने लवजलाई खिज्याएर गरिने यस्ता काम कला हुन् जस्तो चाहिं मलाई लाग्दैन। मान्छेको जिब्रो आफ्नो मातृभाषा इतरको भाषामा राम्ररी लाग्दैन भने त्यसलाई हाँसो, खिल्ली, कला र व्यवसायको मसला बनाउनु अनुचित कुरा हो। सार के भने, आफ्नो पहिचान, मर्म र आत्मसम्मान बोक्ने छँदाखाँदाको आफ्नो भाषालाई पिठ्यूँपछि धकेलेर अर्काको भाषाले काम चलाउनुपर्दा, गुजारा चलाउनुपर्दा जोकोहीलाई पनि सजिलो छैन।
नजाने पनि सिक्न खोज्नु र सही रूपले भन्न जान्नुको साटो आफ्नै जिब्रोमा अरूका कुरालाई ढाल्न र त्यसैलाई चलाउन र मान्न मात्रै तयार हुने पश्चिमा पारा आज मेरो दरकारको विषय हो।
अंग्रेजी मातृभाषीले हाम्रो ‘कर्म’ लाई ‘कर्मा’ मात्रै भन्दैनन्, ‘कर्मा’ होइन ‘कर्म’ भन्यो भने टेर्दैनन् पनि। अझ ‘कर्म’ को अर्थ र व्याख्या पनि ‘कामको प्रतिफल’ हो भनेर बुझ्छन्। त्यसो होइन, ‘कर्म भनेको काम हो, कर्तव्य हो र हरेक प्राणी र वनस्पतिले निर्वाह गर्नुपर्ने धर्म नै कर्म हो’ भन्यो भने सुन्दैनन्।
‘योग’ लाई ‘योगा’ मात्रै भनेनन्, हाम्रो पूर्वीय मौलिक नामपद ‘योग’ नै मासिने गरी बोले। हामी नि उनैको बोलीको सिको गर्न उद्यत भएर ‘योगा’ नभने कुरै नबुझ्ने भयौं। ‘अवतार’ खूब प्रयोग गर्छन् क्यानाडेली। तर, ‘यावटार’ भन्छन्। ‘यावटार’ होइन, ‘अवतार’ भन्यो भने मान्दैनन्। उसो त अंग्रेजीमा ‘त’ ध्वनिको उच्चारण नहुने भएर नि उनीहरूलाई गाह्रो होला, तर त्यही मात्रै कारण ‘अवतार’ ‘यावटार’ भएको भने होइन।
‘गोर्खा’ हो, नेपालीको पहिचान जोडिएको मौलिक शब्द। तर, आज दुनियाँले ‘गुर्का’ भन्छ। गोर्खा सिक्न अफ्ठ्यारो छैन, अंग्रेजी भाषीलाई। ‘ख’ भन्न नसके पनि अगाडिको ‘गो’ भन्न सक्ने हुन्। ‘गोर्जियस’, ‘गोर्मिट’ भनिरहेकै छन्।
‘पण्डित’ शब्द अर्को हो, शुरूमा प्राणत्व लाएर ‘फ्याँ’ भने जस्तो सुनिएर उनले ‘पाण्डिट’ भन्ने। अर्को छ, ‘निर्वाण’ जसलाई उनीहरू ‘निर्भाना’ भन्छन्।
हाम्रो ‘नमस्ते’ दुनियाँभर ‘नामस्टे’ भएर मात्रै चलेन, यसको मौलिक उच्चारण र महत्त्व नै लोप हुने भएर योग अभ्यास शुरू र अन्त्य गर्दा गरिने एक मुद्रा हो भन्ने भइसक्यो।
कुरा के छ भने, हामी गैर–अंग्रेजीभाषीलाई अंग्रेजी शुद्ध उच्चारण गर्न जानिएन भने शर्म हुन्छ, हेपाइ खाइएला भन्ने हुन्छ, काम, अवसर र बढुवामा पछि परिएला भन्ने भय हुन्छ। हामीले अंग्रेजी बोल्दा गल्ती गर्नु हुँदैन, शुद्ध मानककको उच्चारण र व्याकरण मिलाएर बोल्नुपर्छ, अर्को उपाय नै छैन भने झैं गर्छौं। अंग्रेजीमा हामीलाई गल्ती गर्ने अधिकार नै नभए जस्तो व्यवहार गर्छौं। उनीहरू भने आफ्नो जिब्रो जसरी लाग्छ त्यसरी नै दुनियाँलाई बदलिदिन खोज्दा रहेछन्। ‘सगरमाथा’ नभएर ‘माउन्ट एभरेस्ट’ नै प्रख्यात हुनु यही कडी हो। यसमा सम्बन्धित देशको दूरदृष्टि र बाठोपन पनि कारण हुन सक्ला। सँगैमा पेरुको ‘माच्चु पिच्चु’को अंग्रेजी नाम राखेर रैथाने नामलाई पन्साउन सकेनन्।
‘गोर्खा’ हो, नेपालीको पहिचान जोडिएको मौलिक शब्द। तर, आज दुनियाँले ‘गुर्का’ भन्छ। गोर्खा सिक्न अफ्ठ्यारो छैन अंग्रेजीभाषीलाई। ‘ख’ भन्न नसके पनि अगाडिको ‘गो’ भन्न सक्ने हुन्। ‘गोर्जियस’, ‘गोर्मिट’ भनिरहेकै छन्। ‘ख’ ध्वनि अंग्रेजीमा नभएकाले ‘ख’ लाई ‘क’ ले नै चलाएर ‘गोर्का’ भन्दा हुन्थ्यो। तर, उनीहरूले स्रोत भाषाबाट यसको सही उच्चारण र हिज्जेको प्रयास र अभ्यास गरेर अरूको भाषा र भावनालाई सम्मान गर्नै चाहेनन्। कतै नभएको ‘गु’ अगाडि ल्याएर ‘गुर्का’ भनेपछि मौलिक शब्द गोर्खाको कुनै छेकछन्द नै आएन। त्यस्तै, हाम्रो ‘खुकुरी’ लाई ‘कुकुरी’ बनाएर अक्सफोर्ड शब्दकोशमा हालेका छन्।
दश वर्षअघिको कुरा, टोरन्टोमा बस्दा कामको म्यानेजर थियो, इरानी मूलको क्यानाडेली। मुस्लिम परिवार र संस्कृतिमा जन्मिएको उसको नाम ‘हुस्यान’ थियो। उसको अंग्रेजी हिज्जे अलिक अनौठो थियो र अंग्रेजी मातृभाषीले ‘हुस्याङ्ग’ भन्न थाले। अब त नाम फेर्नैपर्ने भयो भनेर साथीभाइ, परिवारले खूब दबाब र सल्लाह दिए रे उसलाई। तर, ऊ टसको मस भएन।
"किन फेर्छु म मेरो नाम? मैले बाटामा अनेक मान्छे भेटें र तिनले मेरो नाम भन्न जानेनन् भनेर मैले मेरो नाम फेर्ने कि तिनलाई मेरो नामको सही उच्चारण यसो हो भनेर सिकाउने? मलाई मेरो संस्कृति र परिवारले दिएको नाम त्यागेर ‘डेभिड’ वा ‘वार्नर’ हुनु छैन,” उसको तर्क यही थियो।
पहिलो सुनाइमै मलाई उसको तर्क औधी मन पर्यो। हो त नि! कोही खेल खेल्न जान्दैन भनेर उसका लागि खेलको नियम नै बदल्ने त? कि खेल्न सिकाउने?
एप्पलकी त्यो ‘सिरी’ भन्ने केटीले मेरो साथी ‘विमल पौडेल’ लाई फोन लगाउँदै भन्छे, ‘कलिङ बाइमल पडल।’ अर्थात्, ‘विमल’ ‘बाइमल’ भइरहेको छ, र ‘पौडेल’ सबै आकार, औकार फुकालेर, फ्यालेर शुद्ध सावाँ अक्षरको ‘पडल’ मात्रै भएर चल्दै छ।
अरूको जिब्रोको सजिलोका लागि आफ्नो नाम कुनै हालतमा नफेर्ने कटिबद्ध विचार र व्यवहारको हामी नेपालीलाई नि यो भूमिमा खूब हर्जा छ। पारि अमेरिकातिर पनि हविगत यही हो।
हामीले सुने पढेका छौं, शब्दहरू अपभ्रंश हुँदै कहाँबाट कहाँ पुग्छन् र केबाट के हुन्छन्। ‘गोमा दिदी’ भन्दा भन्दा ‘ग्वाँदी’ भएको सुनाउँथे कतै मान्छेले। अंग्रेजीभाषी देशमा बसोबास गर्ने नेपालीका नाम र थरले नि यो अपभ्रंश हुँदै आफ्नो खास नाम र मौलिक थरबाट टाढिने दिन आउन केही पुस्ता पनि कुर्नु नपर्ने देखिन्छ।
मेरो थर ‘घिमिरे’ हो। यो उच्चारण गर्ने क्यानाडेलीका तीन ताल छन्। कोही ‘गिमाइर’ भन्छन्, कोही ‘गिमिरी’ भन्छन् र कोही ‘गिम्री’ भन्छन्। समकालीन समाजले काममा, पढाइमा, खेलमा, जमघट र समारोहमा, दैनिक उठबसमा घिमिरेलाई ‘गिमायर’ वा ‘गिम्री’ भन्दै गयो भने कालान्तरमा ‘घिमिरे’ ‘गिम्यार’ हुँदै ‘गिमार’ ‘गिम्मिरी’ र ‘गिरी’ हुने पक्कापक्की देखिंदै छ!
एप्पलको सिरीले गर्ने उच्चारण अंग्रेजीको उत्तर–अमेरिकी मानक हो। जसो सिरीले भन्छे, क्यानाडेली र अमेरिकी रैथानेहरूले नि हामीलाई त्यस्तै नाम, थरको उच्चारणले बोलाउँछन्।
मोटर हाँक्दै गर्दा कहिलेकाहीं कुरा गर्नुपर्ने भयो भने, स्टेयरिङका बटन थिचेर म साथीभाइलाई फोन लाउन आइफोनकी ‘सिरी’ लाई कासन दिन्छु। एप्पलकी त्यो ‘सिरी’ भन्ने केटीले मेरो साथी ‘विमल पौडेल’ लाई फोन लगाउँदै भन्छे, ‘कलिङ बाइमल पडल।’ अर्थात्, ‘विमल’ ‘बाइमल’ भइरहेको छ, र ‘पौडेल’ सबै आकार, औकार फुकालेर, फ्यालेर शुद्ध सावाँ अक्षरको ‘पडल’ मात्रै भएर चल्दै छ।
त्यही सिरी सालो भाइ ‘अन्जान लामिछाने’ लाई फोन लगा भन्यो भने ‘कलिङ अन्जन् लामिचेन’ भन्छे। ‘कलिङ टेक क्याट्री’ भन्छे, टेक खत्रीलाई। अर्थात्, ‘खत्री’ ‘क्याट्री’ हुँदै छ। मेरो साथी ‘दीर्घ भण्डारी’ अमेरिकामा ‘डिर्गा ब्यान्डरी’ दरिएको छ। मेरा जेठान दाइ ‘हरि रिजाल’ लाई ‘ह्यारी राइजल’ कहलिनुपरेको छ। दाताराम पोख्रेल ‘डेटर्याम पक्रेल’ भएर गुजारा चल्दै छ।
हिजोको पोख्रेल अहिलेको ‘पक्रल’ कालान्तरमा ‘पकल’ हुने भो यसरी। यस मानेले हेर्दा, हिजोको दाताराम पोख्रेल वा आजको डेटर्याम पक्रेलको अमेरिकी पनाति ‘डेभिड पकल’ हुने भयो, चार पुस्तापछि। त्यसपछि न देउथलो खार्पा, न मूलथलो झापाको खोजी गर्न सकियोस्, अमेरिकी पोख्रेलको।
आफ्नो नाम नफेर्नुहोस्। छोराछोरीको नाम पनि आधुनिक स्वाद र प्रचलनको राखे पनि सुन्दा नेपाली नै भाषा हो भन्ने गन्ध आउने गरी राख्नुहोस्। आफ्नो नाम र थर भन्न सिकाउन अलिकति मिहिनेत परे पनि आफ्नै नाम र थर कायम राख्नुहोस्।
मेरो नाम ‘यम’ अंग्रेजीको स्वादिष्ट, मिठो अर्थको ‘थग’ सँग उच्चारणमा मिलेकाले सबैलाई सजिलै लाग्छ। तर, थर ‘घिमिरे’ को शुद्ध उच्चारण सिकाउन सकिएन। अंग्रेजी भाषामा ‘घ’ ध्वनि नभएकाले उनीहरूले ‘घि’ भन्नै नसक्ने भए। त्यसो हुँदा ‘गिमिरे’ ले काम नचलाई उपाय भएन। त्यो नि आज सिकायो, भोलि बिगारिहाल्छन्। सिकारुलाई सम्झिन सजिलाका लागि मैले मेरो थर उच्चारण गर्न सिकाउने एउटा विधि बनाएको छु। ‘गिभ मी’ (मलाई देऊ) भनेर हात तेर्स्याउने, त्यसपछि ‘वाट?’ (के) भनेर सोध्ने अनि ‘चोरी औंलोले आकाशतिर देखाउँदै ‘रे’ (सूर्यको किरण) भन्ने। त्यसपछि ‘गिभ मी रे’ (मलाई सूर्यको किरण देऊ) भनेर ‘गिमिरे’ मा ल्याउने र तीन–चार पल्ट ‘गिमिरे’ ‘गिमिरे’ भनेर दाेहाेर्याइदिने। यो विधि निकै फलदायी भएको छ। सबै सहकर्मी र भुराभुरीले सजिलै ‘मिस्टर गिमिरे’ भन्न सकेका छन् अहिले। घिउको साटो तेलको धूप भने झैं सुन्दा सुन्दा त्यही ‘गिमिरे’ नि अब त ‘घिमिरे’ नै सुन्न थालेको छु।
आफ्नो नाम नफेर्नुहोस्। छोराछोरीको नाम पनि आधुनिक स्वाद र प्रचलनको राखे पनि सुन्दा नेपाली नै भाषा हो भन्ने गन्ध आउने गरी राख्नुहोस्। आफ्नो नाम र थर भन्न सिकाउन अलिकति मिहिनेत परे पनि आफ्नै नाम र थर कायम राख्नुहोस्।
कतैबाट नाता परेन, गोरु बेचेको नाताले पनि भेटेन भने एउटै गोत्रका परिएछ भनेर भए नि सामूहिकता र आत्मीयताको गाँठो जुराउनुपर्ने हामीलाई यता ‘गोत्र’ को त कुरै गर्नुपरेन। दैनिक चाहिने नाम र थर त जोगाउन धौ–धौ छ, ‘कश्यप’ र ‘कौडिन्य’, भारद्वाज र धनञ्जय, घृतकौशिक र अगस्ति आदि हाम्रा प्रिय गोत्र त अक्करमाथि भीर हुने भए। ‘उसै त कम चल्ने गोत्र त्यसमाथि अमेरिकामा’ भन्ने एउटा उखान बनाएर गोत्र थन्क्याउने बाहेक अन्य उपाय देखिन्न।
नाम नफेरे नामैका आधारमा रोजगारी, अन्तर्वार्ता, बढुवा लगायत अवसरमा पछि पार्छन् भन्ने मान्यता उडन्ते शैलीमा फैलिएको भए पनि ध्रुवसत्य होइन। तपाईं आफ्नो क्षेत्रमा योग्य हुनुहुन्छ भने, फरर्र अंग्रेजी बोल्न र बुझ्न सक्नुहुन्छ भने, र यहाँको समाज, परिवार, जीवनशैली, पर्व, संस्कृतिका बारेमा ज्ञान राख्नुहुन्छ भने उत्तर अमेरिकी समाजमा सामान्यतया नाम, थर र वर्णकै कारणले सीमान्तकृत हुनु पर्दैन।
यी योग्यता र खूबी छैनन् वा बनाउन सकिएन भने जनकले ‘जोन’ भएर मात्रै चाहिं पुग्दैन, आफ्नो कुलकुटुम्ब, नातागोता, हितेरीमितेरीको लहरो, पहरो र भनसुन हामीलाई उपलब्ध नभएको यो मुलुकमा।