कोप-२६ लाई काठमाडौंबाट ट्रली बसको सन्देश
सरकार कार्बन घटाउने आफ्नो प्रतिबद्धतामा इमानदार छ भने तत्काल नै ट्रली बसको ग्यारेजमा चार्जिङ स्टेशन बनाएर स्वच्छ ऊर्जा प्रयोगको राम्रो उदाहरण पेश गर्न सकिन्छ।
प्रधानमन्त्री शेरबहादुर देउवा आजदेखि ग्लास्गो शहरमा शुरू हुन लागेको जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसंघीय महासन्धिको पक्ष राष्ट्रहरूको २६औं सम्मेलन (कोप-२६) को बैठकमा भाग लिन बेलायतमा छन्। प्रधानमन्त्री देउवा बेलायत जानुअघि ११ कात्तिकमा बसेको मन्त्रिपरिषद् बैठकले तीन वटा महत्त्वपूर्ण नीतिगत दस्तावेज र कार्ययोजना पारित गरेको थियो।
यीमध्ये एउटा हो, सन् २०४५ भित्र नेपालको कुल कार्बन उत्सर्जन शून्यमा झार्ने रणनीति। यो महत्त्वपूर्ण रणनीति पारित गरेकोमा सरकारलाई धन्यवाद छ। तर, समय धेरै छैन। त्यसैले यो रणनीतिलाई तत्काल कार्यान्वयनमा लगिहाल्नुपर्छ।
यदि कार्यान्वयनमा ढिलाइ गर्यौं भने यो रणनीतिको मात्रै होइन, हाम्रो भविष्य कस्तो हुन्छ भन्ने देखाउने एउटा उदाहरण बानेश्वरस्थित संघीय संसद् भवन छेवैमा देखिन्छ। झण्डै पाँच दशक पुरानो ट्रली बसको ग्यारेजमा रहेका ट्रली बस र सफा टेम्पोले गिज्याइरहेका छन्। एउटा ट्रली बसमा लेखिएको पनि छ, ‘म नै भविष्य हुँ।’
राजधानीमा आरामदायी र प्रदूषणरहित सार्वजनिक यातायात सेवा दिनुपर्ने बसहरू अहिले लुगा सुकाउने डोरी बाँध्न प्रयोग भइरहेका छन्। ट्रली बस सञ्चालन गर्ने र यसको रुट बढाउने भनेर विभिन्न नीति र पञ्च वर्षीय योजनाहरूमा पनि उल्लेख गरिएको थियो। तर, आज एकातिर दैनिक करीब ४०० मेगावाट बिजुली खेर फालिरहेका छौं भने अर्कातिर महँगोमा तेल किनेर प्रदूषण र व्यापार घाटा बढाउन तल्लीन छौं।
त्यति वेला यी ट्रली बस चीनले अनुदानमा दिएको थियो। अहिले चक्रपथ विस्तारमा सहयोग गर्दै छ। चीनलाई यो विस्तारित चक्रपथमा बिजुली बस चलाउन छुट्टै लेन सहितको द्रुत बस प्रणाली बनाउन ‘सहयोग गरिदेऊ’ भन्न सक्छौं।
तर, हामीभित्रै विरोधाभास छ। एकातिर सरकारकै लगानी बोर्डले चक्रपथमा विद्युतीय द्रुत बस (इलेक्ट्रिक बस र्यापिड ट्रान्जिट: ई–बीआरटी) सेवाका लागि अध्ययन गर्दै छ। अर्कातिर, सरकारकै सडक विभागले दुई लेनबाट आठ लेनमा विस्तार गर्न लागिएको चक्रपथका सबै लेनमा पुरानै ढर्राका गाडी सञ्चालन हुने गरी तयार पारिरहेको छ।
फेरि ट्रली बसलाई नै सम्झौं। बानेश्वरमा थन्किएका पुराना ट्रली बसलाई पुनः सञ्चालनमा ल्याउन नसकिएला, तर त्यहाँ बिजुली बस तथा अन्य विद्युतीय गाडीको चार्जिङ स्टेशन बनाउन सकिन्छ। त्यस्तै, चक्रपथमा विद्युतीय द्रुत बस चलाउने व्यवस्थाका लागि चीन सरकारसँग वार्ता गर्न सकिन्छ।
अर्को, सरकार कार्बन घटाउने आफ्नो प्रतिबद्धतामा इमानदार छ भने तत्काल नै ट्रली बसको ग्यारेजमा चार्जिङ स्टेशन बनाएर स्वच्छ उर्जा प्रयोगको राम्रो उदाहरण पेश गर्न सकिन्छ। यदि त्यो स्थानमा बहुतले शपिङ कम्प्लेक्स वा त्यस्तै अन्य संरचना बनायौं भने ‘म नै भविष्य हुँ’ भनिरहेका ट्रली बस र भविष्यको पुस्ताले सराप्नेछन्।