जसको मृत्युले हङकङेली नेपाली समुदायलाई शोकमा डुबायो
किसन राईको निधनले हङकङको नेपाली समुदाय अभिभावक गुमाएको टुहुरो जस्तै बनेको छ। यो क्षतिको भर्पाई हुन कठिन छ।
२५ अक्टोबर (८ कात्तिक) बिहानै धरानका दाइ हेम राईले फोन गर्नुभयो, ‘एउटा दु:खद खबर सुन्यौ ? किसन राई ओखलढुंगाबाट खोटाङ हुँदै भोजपुर जाँदै गर्दा बाटोमा शौच गर्न निस्किँदा भीरबाट खसेर बितेछन्। ...’
उहाँ एकोहोरो बोलिरहनुभएको थियो, ‘किसन बितेछन्’ भन्ने उनको स्वर सुइरो बनेर रोपियो। यो अशुभ खबर अपुष्ट रूपमा हङकङेली नेपाली समाजमा डढेलो सरह फैलिंदै थियो।
सपना पो हो कि भन्ने पनि लाग्यो, तर खबर सत्य रहेछ। एकछिनसम्म अक्क न बक्क भएँ। श्रीमती सरिताको ‘कसको फोन हो, के भयो?’ भन्ने प्रश्नमा ‘किसन दाइ दुर्घटनामा परेछन्...’ मात्र मुखबाट निस्कियो।
मोबाइलमा फेसबूक मेसेन्जर खोलें। अघिल्लो दिन बिहान १०:२१ तिर अनलाइन देखेर किसन दाइसँग एक मिनेट कुरा गरेको सम्झिएँ। ‘दाइ, तपाईं कहाँ हो ? काठमाडौंमा राजकुमार दिक्पाल दाइलाई भेट्नुभयो ? हङकङ कहिले फर्किने?’
मेरो एकोहोरो प्रश्नमा दाइको जवाफ थियो, ‘ओखलढुंगाबाट आज धरान झर्दै हो। दिक्पाललाई काठमाडौं पुगेर भेटछु। नोभेम्बरमै हङकङ फर्कने हो। टिकट र होटल बुकिङ भइसकेको छ।’
एक मिनेटमा कति नै धेरै कुरा हुन्छ र! तर ‘धरान झर्दै छु’ भन्ने किसन दाइ भोजपुर जाने बाटोमा भीरबाट लडेको खबर मेरा लागि अचम्मलाग्दो थियो।
बिहान ७ नबज्दै काठमाडौंमा दिक्पाल दाइलाई मेसेन्जरमा कल गरें, ‘खोटाङबाट भोजपुर जाने बाटोमा किसन दाइ दुर्घटनामा परेको खबर आयो, तपाईंले सञ्चारकर्मीको च्यानलबाट बुझ्न पर्यो।’
दाइले ‘म दुई/चार ठाउँमा फोनबाट बुझेर कलब्याक गर्छु' भनेर फोन राख्नुभयाे। दाइले जिल्ला, केन्द्रमा बुझेर सडक दुर्घटना त हैन ‘भीरबाट लडेको’ भन्ने खबरको पुष्टि गर्नुभयो।
यता लगत्तै किराँत राई यायोक्खा हङकङकी अध्यक्ष माया दिदीबाट थाहा भयो, बिहानै बेलायतबाट किसन दाइकी बहिनी गीताले फोन गरेर कसरी हुन्छ शोभा भाउजू, छोरा अरिम र आमालाई नेपाल पठाउने जिम्मेवारी उहाँलाई सुम्पनुभएको रहेछ। नेपाल एअरलाइन्सको जहाज भोलिपल्ट २६ तारिख हङकङ आएर फर्कने भएकाले यसैमा तीन जनालाई जसरी पनि पठाउनुपर्ने थियो। साथै, ‘सिकिस्त भएर अस्पतालमा रहेको’ भन्ने कि ‘सत्य खबर’ सुनाउने? सत्य कुरा बताउँदा ७४ वर्षीया आमा, भाउजू र छोराको अवस्था के होला? कोभिड-१९ परीक्षणदेखि जहाजमा लैजानेसम्मको कुरा कति सहज होला?
माया दिदीलाई भनें, “सबैलाई सबै कुरा भन्दा के बित्ला? आमाको अवस्था कस्तो होला? तपाईंलाई कुरा मिलाएर भन्न गाह्रो हुन्छ भने किसन दाइका मित्र इन्द्र वनेमलाई भन्न लगाउनुपर्ला। आज नै कोरोना टेस्ट गराउन र टिकट काटिहाल्नुपर्ने हुन्छ।”
बिहान ८ बजेतिर सामाजिक सञ्जालमा ‘अपुष्ट खबर, दु:खद खबर, भयानक खबर’ जस्ता पोस्टहरू आउन थालिसकेका थिए। यस्तो पोस्ट गर्ने केहीलाई माया दिदी, इन्द्र दाइ र मैले ‘परिवारलाई नेपाल पठाउन गाह्रो हुनसक्छ, पोस्ट गर्न हतार नगर्ने हो कि?’ भन्यौं।
मृत्यु भइसकेको समाचार सुनेर परिवारका सदस्यलाई नेपाल पठाउन नसकिएला कि भन्ने चिन्ता थियो। तर, सामाजिक सञ्जालमा खबर फैलिन थालिसकेको थियो।
हङकङको चर्चित अनलाइन एचकेनेपाल डटकममा भीरबाट लडेर मृत्यु भएको समाचार किसन दाइको तस्वीर सहित अपलोड भइसकेको रहेछ। एचकेनेपालका सम्पादक दाइ पशन तमूलाई मैले समाचारले परिवारजनमा गाह्रो होला कि भनेपछि उहाँले केही समयका लागि समाचार ‘हाइड’ गर्नुभएछ।
नेपालबाट नेपालखबर डटकमका सम्पादक पूर्ण बस्नेत दाइले पनि कान्तिपुर, एचकेनेपाल सबैतिर समाचार आइसकेको र आफैंले पनि पोस्ट गर्न लागेको भन्दै खबरको पुष्टि र हङकङको माहोल बुझ्न फोन गर्नुभएको रहेछ। मैले एचकेनेपालका पशन दाइसँगकै कुरा दोहोर्याएँ। अलि पछि नेपालखबरमा उपचाररत अवस्थामा खोटाङको अस्पतालमा राखिएको भन्ने समाचार अपलोड भएछ।
दिउँसो २ बजेतिर माया लिंखा र माया राई दिदी भाउजूहरूलाई कोरोना परीक्षणका लागि लैजान किसन दाइको घर पुगिसक्नुभएको रहेछ। फोनमा माया राई दिदीले ‘मृत्युको खबर दुई जना (शोभा भाउजू र छोरा अरिम)ले बिहानै पाए पनि आमालाई भन्न नसकेका रहेछन्, हामीले भर्खरै भनिदियौं। अब कोरोना टेस्ट गर्न लाँदै छौं’ भन्नुभयो।
दाइको घरमुनिको सडकमै दिदीहरूको साथमा आमा र शोभा भाउजूलाई देख्दा मसँग भन्नलाई कुनै शब्द नै थिएन। भाउजूभन्दा ७४ वर्षकी आमा दह्रो देखें। माया दिदीका अनुसार, राति २ बजे नै छोरा अरिमले खबर पाइसकेका रहेछन्। उनैले आमालाई बिहान ७ बजेतिर बुबा बितेको खबर सुनाए पनि बज्यैलाई भन्न नसकिरहेको अवस्थामा माया दिदीहरू पुग्नुभएको रहेछ।
माया दिदीका अनुसार, सबै मिलेर आमालाई सुनाउँदा आमाको प्रतिक्रिया थियो, ‘मेरो छोराको जाने वेलै भएको थिएन। हरेक वर्ष मैले ‘जान्ने’ लाई देखाउँदा पनि छोराको आयु लामै छ भन्थे। मेरो छोरालाई कसैले धकेलेर मारेको त हैन?’ आमाले नेपाल फर्कनु अघिसम्म घरमा भेट्न आउनेहरूमाझ यस्तो शङ्का व्यक्त गरिरहनुभएको थियो।
उसो त हङकङबाट नेपाल जान रोक्न दाइसँग भाउजूले झगडा गरेको कुरा दुवै जनाले सुनाउनुभएको थियो। तर, दाइलाई रोक्न नसकेर भाउजू लाचार हुनुहुन्थ्यो। भन्नुहुन्थ्यो, ‘कोरोना महामारीको यस्तो वेला नजानुस् न भनेर कति सम्झाएँ, तर मान्नुभएको छैन।’
हङकङबाट काठमाडौं ओर्लिए लगत्तै साथीहरूसँग घुम्न जोमसोमतिर निस्किएका किसन दाइ घुमफिरमै मग्न हुनुहुन्थ्यो। काठमाडौं पुगेको र जोमसोमतिर हिंडेको जानकारी बाहेक दाइले घरमा भाउजूलाई समेत धेरै कल, मेसेज गर्नुभएको थिएन। २५ तारिख बिहानै यस्तो खबर आयो, भाउजू मात्र नभई पूरै हङकङेली नेपाली समुदायको सातो लिएर गयो।
***
२०५२ सालको जाडोयामतिर हुनुपर्छ, पत्रकार राजकुमार दिक्पालको पछि लागेर धरानको देशीलाइन माछा भौडीको डिलमा रहेको ज्ञानोदय पुस्तक पसल जाँदा पहिलो पटक मैले किसन राईलाई भेटेको थिएँ। दिक्पाल दाइले मेरो परिचय गराउँदै भन्नुभएको थियो, ‘यिनी डम्बरकृष्ण भाइ, यहाँको सयपत्री साप्ताहिकमा लेख्छन्। अनि उहाँ किसनजी, यो पुस्तक पसलको साहुजी। धरानको ज्ञानोदय स्कूल पनि उहाँकै हो।’
लाहुरेको शहर, वामपन्थी राजनीतिको गढ धरानमा वामपन्थी राजनीतिमा जोडिएका किसन राई करीब दुई दशकअघि आफ्नो राजनीतिक यात्रा टुङ्ग्याउँदै, व्यवसाय र ज्ञानोदय स्कूल अरूलाई जिम्मा लगाएर हङकङ हानिनुभएको थियो। आफ्ना सपना थाती राखेर उहाँ सन्तानको भविष्यका लागि श्रीमती र आमाको करबलले जानुभएको थियो।
किसन दाइसँग धरानमा गाँसिएको सम्बन्ध उहाँ हङकङ पुगे पनि झन् गाढा बन्दै गयो। सन् २००१ तिर हङकङमा एभरेष्ट मिडिया नै खोलेर यहाँको नेपाली समाजको उन्नतिमा दाइ होमिनुभएको थियो। एभरेष्ट दैनिक, साप्ताहिक हुँदै मासिकसम्म आइपुग्दाको यो २० वर्षमा उहाँ हङकङको नेपाली समुदायमा दरिलो स्तम्भका रूपमा स्थापित भइसक्नुभएको थियो।
किसन दाइ हङकङमा हरेक कुरामा साथ दिने मेरा अभिभावक हुनुहुन्थ्यो। सन् २००४ तिर दाइसँगै हङकङमा एभरेष्ट मिडियाले आयोजना गरेको वार्षिक कार्यक्रममा नेपालबाट जनगायक रामेश सहित हामी धराने सञ्चारकर्मी जसकुमार राई, यात्रा थुलुङ, मोजेश राई र मलाई किसन दाइले निम्त्याउनुभएको थियो। २००९ तिर किसन दाइ र एभरेष्ट मिडियाकै पहलमा मैले देवराज राई, जगत अम्बु गुरूङ, अमोद राई, मातृदीप राईको सहयोगमा ‘हङकङेली नेपाली’ को जीवन, सङ्घर्ष र सफलता समेटेर वृत्तचित्र निर्माण गरेको थिएँ।
२००४ तिरबाटै नेपालबाट एभरेष्ट मिडियालाई सघाइरहेको थिएँ। पछि यसको नेपाल संयोजकको जिम्मेवारीमा लामो समय रहें। २०१६ यता हङकङलाई कर्मथलो बनाएपछि भने मेरो लागि दुई बाटो थिए। आफ्नो र परिवारका लागि राम्रो कमाइ हुने यहाँका बहुसङ्ख्यक नेपालीले गर्ने निर्माण क्षेत्रको काम या एभरेष्ट मिडियामा किसन दाइसँग सहकार्य।
अफिसको खर्च धान्नै मुश्किल हुने एभरेष्टको काम भन्दा हङकङको महँगीमा बाँच्न निर्माण क्षेत्रमा १२ घण्टे काममा होमिनुको विकल्प मसँग थिएन। म निर्माण क्षेत्रमा तीन वर्ष मजदूरी गरेपछि एक वर्ष अघिदेखि भने एभरेष्ट मिडियामा फेरि जोडिन पुगेको थिएँ, एभरेष्टखबर मासिकमा कार्यकारी सम्पादकको जिम्मेवारीमा। निर्माण क्षेत्रको १२ घण्टे मजदूरीबाट निस्केर फेरि एभरेष्टमा जोडिए पनि सानोतिनो व्यवसाय शुरू गरेकाले मलाई आर्थिक रूपमा सजिलो भएको थियो।
तर, हरेक महीना निस्किने भनेको एभरेष्टखबर म्यागजिन आर्थिक सङ्कटकै कारण दुई महीना, चार महीनाको अन्तरालमा निस्किरहेको थियो। चिल्लो कागजमा रङ्गीन पृष्ठहरूका साथ प्रकाशन हुने एभरेष्टखबर पसल-पसलमा निःशुल्क वितरण गरेको देखेर धेरैले पत्रिकाबाट हामीले मनग्गे पैसा कमाइरहेको कुरा गर्थे। तर, छपाइ खर्च, नेपालबाट हुने डिजाइन, लेखकहरूलाई दिने पारिश्रमिक, अफिस भाडा तिरेर किसन दाइ एक जनालाई धान्ने खर्च पनि पुग्दैनथ्यो। दाइको २० वर्षदेखिको लगाव र सक्रियता देखेरै सघाइरहेको मेरा लागि थोरै पारिश्रमिक तोकिए पनि म भन्थें, ‘दाइ, सबै खर्च गरेर कमाइ भो भने मात्र दिनुहोला।’
पछिल्लो ४ महीनायता फेरि म उही बिहानदेखि बेलुकीसम्म निर्माण क्षेत्रकै काममा गइरहेको थिएँ। कामपछिको केही घण्टा र छुट्टीको समय एभरेष्टखबर मासिकको तयारीका लागि दाइलाई सघाइरहेको हुन्थें।
***
सेप्टेम्बर २०२१ को अन्तिम सातातिर निस्किएको एभरेष्टखबर प्रेसबाट हङकङका पसलहरूमा पुर्याउँदै गर्दा किसन दाइको पछिपछि एक गोरो युवकले पत्रिकाको ट्रली तानिरहेको धेरैले देखे। उनी बेलायतबाट बाबा-आमालाई सघाउन र हङकङमै बस्ने गरी फर्केका दाइका जेठा छोरा अरिम थिए। त्यसको केही दिनअघि दाइ ‘केटो त आयो, तर यसलाई के काममा अल्झाउने होला?’ भन्दै आफ्ना निकट साथीभाइहरूसँग सल्लाह लिइरहेका देखिनुहुन्थ्यो। आफूले कहिल्यै गर्न नचाहेको निर्माण क्षेत्र र सुरक्षा गार्डको काममा अरिम नलागोस्, बरू सानोतिनो व्यापार-व्यवसायतिर लगाउन पाए हुन्थ्यो भन्ने उहाँको चाहना थियो। तर, अक्टोबर पहिलो साता नेपाल जानुभएको दाइ कहिल्यै नफर्किने गरी महाप्रस्थानमा निस्किनुभयो।
किसन दाइको निधनपछि हङकङको नेपाली समुदाय शोकमा छ। हङकङमा दाइको निकट रहेका व्यक्तिहरू र संघ-संस्थामा उहाँको अभाव महसूस हुन थालिसकेको छ। एभरेष्टखबर हङकङका सम्पादक/प्रकाशक, आदिवासी जनजाति महासंघ हङकङ, नेपाल पत्रकार संघ हङकङका अध्यक्ष, गैरआवासीय नेपाली संघ (एनआरएनए) का नवनिर्वाचित केन्द्रीय सदस्य रहनुभएकाे उहाँको निधनले हङकङको नेपाली समुदाय अभिभावक गुमाएको टुहुरो जस्तै बनेको छ। यो क्षतिको भर्पाई हुन कठिन छ।
किसन दाइले यति चाँडै छाडेर गएको अझै पत्याउन मुश्किल भइरहेको छ। तर, यो सत्य स्विकार्नुको विकल्प छैन।
अलबिदा दाइ !