मेयरको घर अगाडि फोहोर फालेर विरोध प्रदर्शन
जनकपुरधाम उपमहानगरपालिकाले सरसफाइमा ध्यान नदिएपछि स्थानीय बासिन्दाले मेयरको घर अगाडि फोहोर फालेर विरोध जनाएका छन्।
आइतबार बिहानै स्थानीय बासिन्दा र जनप्रतिनिधिले मेयर लालकिशोर साहको घर अगाडि फोहोर फालेका हुन्। फोहर व्यवस्थापन गर्न पटक पटक आग्रह गर्दा सुनवाइ नभएपछि स्थानीय र जनप्रतिनिधले मेयर साहको घर अगाडि फोहोर फालेको बताएका छन्।
दीपावली नजिकिंदै गर्दा नगर क्षेत्रमा फोहोर उठ्न नसकेको स्थानीयले बताए। मेयरले वास्ता नगरेपछि बाध्य भएर स्थानीय बासिन्दासँगै आन्दोलनमा उत्रिएको जनकपुरधाम–७ का वडाध्यक्ष जानकीराम साहले बताए। “फोहोर व्यवस्थापनका लागि पटक पटक आग्रह गर्दा पनि मेयरले वास्ता गर्नुभएन,” वडाध्यक्ष साहले भने।
उनीसँगै जनपुरधाम वडा नं. १ का वडाध्यक्ष शत्रुधन साह, वडा नं. ३ का वडाध्यक्ष दीपेन्द्र साह र वडा नं. ४ का वडाध्यक्ष सुदर्शन सिंह पनि विरोधमा उत्रिएका छन्। उनीहरूले नगरपालिका कार्यालय अगाडि धर्ना पनि दिएका छन्।
मेयर साहको घर अगाडि फोहोर फाल्दा प्रहरीले रोकेपछि उनीहरू नगरपालिका कार्यालय अगाडि धर्नामा बसेका हुन्। जनकपुरधाम उपमहानगरभित्रका विभिन्न वडामा थुपारिएको फोहोर व्यवस्थापनमा असहयोग गरेको भन्दै उनीहरू विरोधमा उत्रिएका हुन्।