मध्य भोटेकोशीको निर्माण ७५ प्रतिशत सकियो, एक वर्षभित्र सक्ने लक्ष्य
सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेगावाटको मध्य भोटेकोशी जलविद्युत् आयोजनाको ७५ प्रतिशत काम सकिएको छ भने अर्को वर्षको पुसभित्र निर्माण सक्ने लक्ष्य रहेको कम्पनीले जनाएको छ।
चिलिमे जलविद्युत् कम्पनीको अगुवाइमा निर्माणाधीन आयोजनाको बाँध, बालुवा थिग्य्राउने पोखरी लगायत मुख्य संरचनाको निर्माण आगामी जेठ अगाडि नै सक्ने लक्ष्य राखिएको छ। विद्युत्गृह भवन निर्माण आगामी पुसभित्र र ७.२ किलोमिटर सुरुङमध्ये खन्न बाँकी ४१५ मिटर तीन महीनाभित्र सक्ने लक्ष्य राखिएको आयोजनाले जनाएको छ।
प्राकृतिक विपत्ति र सिभिल एन्ड हाइड्रोमेकानिकल कार्यको ठेकेदार चिनियाँ कम्पनी क्वाङ्सी हाइड्रो एन्ड इलेक्ट्रिकल कन्स्ट्रक्सनको कमजोर कार्य सम्पादनका कारण आयोजनाको निर्माण सम्पन्न हुने तालिका प्रभावित हुँदै आएको छ।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, आयोजनाको प्रवर्द्धक मध्य भोटेकोशी जलविद्युत् कम्पनीका अध्यक्ष हरराज न्यौपाने र सञ्चालक सहितको टोलीले निर्माणस्थलको निरीक्षण गरी निर्माण प्रगतिको जानकारी लिएको छ। टोलीले आयोजना व्यवस्थापन, ठेकेदार कम्पनी र परामर्शदातासँग छलफल गरी २०७९ को पुसभित्र कुनै पनि अवस्थामा निर्माण सम्पन्न हुने गरी एकीकृत तालिका बनाएर काम गर्न निर्देशन दिएको छ।
कार्यकारी निर्देशक घिसिङले आयोजनाको मुख्य सुरुङ बाहेक अन्य संरचनाको निर्माण प्रगति उत्साहजनक देखिएको बताए। “आयोजना प्रभावित तथा मुलुकभरका नेपाली नागरिकले महँगो ब्याजदरमा ऋण काढेर भए पनि शेयर खरीद गरी आयोजनामा लगानी गरेका छन्, निर्माणमा ढिलाइ हुँदा आयोजनाको लागत बढिरहेको छ भने विद्युत् बिक्रीबाट प्राप्त हुने आम्दानी गुम्दा लगानीकर्ताले प्रतिफल पाउन सकिरहेका छैनन्,” घिसिङले भने।
प्राधिकरणका उपकार्यकारी निर्देशक एवं कम्पनीका अध्यक्ष न्यौपानेले आयोजनाको निर्माण विशिष्ट अवस्थामा प्रवेश गरेको उल्लेख गर्दै बाँकी काम सम्पन्न गर्न एकीकृत तालिका बनाएर अगाडि बढ्नुपर्ने बताए। कम्पनीका प्रमुख कार्यकारी अधिकृत रामगोपाल सिवाकोटीले ठेकेदार कम्पनीको कार्य सम्पादनमा सुधार आएकाले अहिलेको गतिमा काम भए तोकिएको समयमा आयोजना निर्माण सम्पन्न हुने देखिएको बताए।
ठेकेदार कम्पनीका प्रतिनिधिले जनशक्ति तथा उपकरण बढाएर तोकिएको समयमा निर्माण सम्पन्न गर्ने प्रतिबद्धता जनाएका छन्। आयोजनाको लागत बढ्न नदिन सिभिल तथा हाइड्रोमेकानिकलको काम इन्जिनियरिङ, खरीद र निर्माण (इपीसी) मोडेलमा चिनियाँ कम्पनी क्वाङ्सीले ठेक्का लिएको थियो। इलेक्ट्रो मेकानिकलतर्फको काम भने एन्ड्रिजले गरिरहेको छ।
आयोजनाको अनुमानित लागत कर्मचारी सञ्चयकोषसँग ऋण सम्झौता हुँदा निर्माण अवधिको ब्याज बाहेक रु. १२ अर्ब २८ करोड ३३ लाख थियो। आयोजनाको अद्यावधिक अनुमानित लागत निर्माण अवधिको ब्याज बाहेक रु. १५ अर्ब ३ करोड २ लाख ९० रहेको छ।