तीन सय सङ्क्रमित थपिए, नौ सय निको भए
आज देशभर ३७२ जनामा कोरोनाभाइरसको सङ्क्रमण देखिएको छ भने ९११ जना निको भएका छन्।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार, पछिल्लो २४ घण्टामा सात हजार ९११ जनाको स्वाब परीक्षण गर्दा ३७२ जनामा सङ्क्रमण पुष्टि भएको हो। जसमध्ये पाँच हजार ३१६ जनाको पीसीआर परीक्षण गर्दा २९७ जनामा र दुई हजार ५९५ जनाको एन्टिजेन परीक्षण गर्दा ७५ जनामा कोरोना देखिएको हो।
त्यस्तै, पछिल्लो २४ घण्टामा ९११ जना निको भएका छन्। अब सक्रिय सङ्क्रमितको सङ्ख्या नौ हजार ५२६ मात्रै रहेको छ।
कोभिड–१९ बाट मृत्यु हुनेको सङ्ख्या भने अझै पनि रोकिएको छैन। आइतबार कोेभिड–१९ बाट ११ जनाको मृत्यु भएको छ। योसँगै अहिलेसम्म मृत्यु हुनेको सङ्ख्या ११ हजार ३९९ पुगेको छ।
अहिलेसम्म देशभर आठ लाख १२ हजार १९४ जनामा कोरोना देखिएको छ। त्यसमध्ये सात लाख ९१ हजार २६९ जना निको भइसकेका छन्।
कोरोनाविरुद्धको खोप लगाउने क्रम पनि जारी छ। आइतबार देशभर एक लाख ७३ हजार ५९ जनालाई खोप लगाइएको छ।
अहिलेसम्म ७१ लाख ५२ हजार ३९ जनाले पूर्ण रूपमा खोप पाएका छन् भने ८६ लाख ६७ हजार ४२७ जनाले पहिलो डोज लगाएका छन्।