संसद्ले सिन्को पनि भाँचेन : नेम्वाङ
संसद्ले केही काम गर्न नसकेको नेकपा (एमाले) संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले बताएका छन्।
शनिबार एमाले संसदीय दलको बैठकमा बोल्दै उपनेता नेम्वाङले यस पटकको संसद् अधिवेशन प्रभावकारी हुन नसकेको बताए। प्रतिनिधि सभा र राष्ट्रिय सभाले आफ्नो काम गर्न नसकेको बताउँदै नेम्वाङले भने, “संसद्ले सिन्को पनि भाँचेन।”
संसद्को नवौं अधिवेशनमा प्रतिनिधि सभा र राष्ट्रिय सभाका बैठक बसे पनि औपचारिकताका लागि मात्रै भएको नेम्वाङको भनाइ थियो। सरकारले प्रभावकारी रूपमा काम गर्न नसक्दा संसद्ले पनि काम गर्न नसकेको उनले बताए।
शनिबार बसेको एमाले संघीय संसदीय दलको बैठकमा अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओली उपस्थित नभएपछि उपनेता नेम्वाङले मन्तव्य राखेका थिए। अध्यक्ष ओली पार्टी कार्यक्रममा सहभागी हुन सिन्धुपाल्चोक पुगेका थिए।
सरकारको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले १२ कात्तिक राति १२ बजेबाट संसद्को नवौं अधिवेशन अन्त्य गरेकी थिइन्। संसद् अधिवेशन २३ भदौमा प्रारम्भ भएको थियो।
सभामुख अग्निप्रसाद सापकोटाले आफ्नो पार्टी विभाजनमा भूमिका खेलेको भन्दै एमालेले संसद् अवरुद्ध पार्दै आएको थियो।