राष्ट्रपतिको मुक्तिनाथ र ढोरपाटन यात्रा (तस्वीरहरू)
राष्ट्रपति विद्यादेवी भण्डारीले मुस्ताङको मुक्तिनाथ र बाग्लुङको ढोरपाटन शिकार आरक्ष क्षेत्रको भ्रमण गरेकी छन्।
राष्ट्रपति भण्डारी आइतबार बिहान नेपाली सेनाको हेलिकप्टरबाट मुक्तिनाथ पुगेकी हुन्। उनले मुक्तिनाथ मन्दिरमा पूजाअर्चना गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ।
त्यसपछि राष्ट्रपति भण्डारीले आजै ढोरपाटन शिकार आरक्ष क्षेत्रको अवलोकन गरेकी छन्। राष्ट्रपति भण्डारीले आरक्ष कार्यालयको निरीक्षणसँगै आरक्षबारे जानकारी लिएको प्रमुख संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेल बताए।
प्रमुख संरक्षण अधिकृत कँडेल र आरक्षको सुरक्षार्थ तैनाथ नेपाली सेनाको शत्रुमर्दन गुल्मका गुल्मपति सेनानी गोविन्द विष्टले आरक्षका गतिविधि र सुरक्षा स्थितिबारे जानकारी गराएका थिए।
कोरोनाभाइरसको महामारीका कारण थला परेको पर्यटन क्षेत्रको प्रवर्द्धनका लागि राष्ट्रपति भण्डारीले मुक्तिनाथ र ढोरपाटनको भ्रमण गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ। यससँगै राष्ट्रपति भण्डारीले आइतबार लुम्बिनी र सोमबार मनाङको भ्रमण गर्ने कार्यक्रम रहेको छ।