ईश्वरको मृत्युमा
दुःख सिवाय
केही दिएन ईश्वरले
आँसुको दहमा चुर्लम्म डुबेका छौं हामी
हाम्रो उमेरसँगै हुर्किएको छ अभाव
पोलिएका छौं प्रेमबाट हरपल
ठगिएका छौं, जाल झैं बिछ्याइएका प्रत्येक सम्बन्धबाट।
ईश्वरबाट सम्पन्नता चाह्यौं हामीले सधैं
सधैं सुखको झरना माग्यौं ईश्वरसँग
फेरि ईश्वर नै भाकेर कसम खायौं पटक पटक
तर कतै केही मिलेन, यी मूर्ति जस्ता ईश्वरबाट।
अभावको झरी बर्सिरह्यो
आँसुको दह कहिल्यै सुकेन
र प्रेममा सधैं ओदानको पीडा भोगिरह्यौं
र पनि ईश्वर पुजिरह्यौं जिन्दगीभर
‘ईश्वरले हेर्छन् र घाम लाग्छ एक दिन’
मनमा शान्ति खोज्यौं
तर डर सिवाय केही दिएन ईश्वरले।
समानता मौलाएको छातीमा गहना जस्तो सजाएर बूटको दाग
म देशसँग सोध्छु, ‘ईश्वर र शासकमा के भिन्नता छ?’
म खोस्छु, शासकको कम्मरमा सजिएको तरबार
र, रोप्छु ईश्वरको छातीमा।