वर्गीयता सिर्जित लैङ्गिक उत्पीडनको दस्तावेज
वर्गीय संस्कृति, वर्गीय उत्पीडन, पूँजीवादी अर्थ–संस्कृतिका आडमा विकसित उपभोक्तावादी संस्कृति, शरीर राजनीति जस्ता पक्षहरूको प्रायोगिक विश्लेषण ‘रुइबा’ को शक्ति हो।
नेपाली समाजको अधिकांश क्षेत्र गरीबीको मारमा परेको छ। गरीबीलाई परास्त गर्न अनेक प्रयत्न र सङ्घर्ष अघि सारे पनि एकपछि अर्को सामन्ती संस्कृतिको बढोत्तरीका कारण जनताको सम्पत्ति हडप्ने जस्तो निकृष्ट कृत्य झनै बलशाली अस्तित्वमा जीवित छँदै छ। मिहिनेत गरे पनि श्रमको मूल्य नपाउनु, साहुको चक्रवर्ती ब्याजमा परी घरबारी गुमाउनु, अशिक्षाको अन्धकारमा पिल्सिएर प्रभुत्वको निरन्तरता बेहोर्न बाध्य हुनु जस्ता विषयहरू हाम्रा लागि नौला होइनन्।
यस्तै सामाजिक समस्यामा परी पीडाको सिलसिला पछ्याउन बाध्य धादिङको उत्तरी बस्ती पाबाङको तामाङ समुदायको व्यथालाई चेतनाथ आचार्यले रुइबाको कथाका रूपमा चयन गरी उपन्यासीकरण गरेका छन्। उनले राज्यको उपस्थिति शून्य रहेको समाजका किनारीकृतको पीडालाई उतारेका छन्। मूलतः वर्गीय मुद्दालाई पृष्ठभूमिमा राखी उत्पीडनमा परेकी नारीको कथालाई उपन्यासको आदि-अन्त्यमा समेटिएको छ।
वर्गीयता सिर्जित लैङ्गिक उत्पीडनको विषयलाई पृष्ठभूमिमा राखी प्रस्तुत उपन्यासले पितृसत्ता सिर्जित लैङ्गिक उत्पीडन, पूँजीवादी अर्थ–संस्कृतिको प्रभाव र वस्तुकरण, शरीर राजनीति, तामाङ जातिको जातीय संस्कार, चिनियाँ संस्कृति आदि विषयमाथि विश्लेषणात्मक दृष्टिकोण राखेको छ। शक्तिराष्ट्रका नाममा निर्मित चीनप्रतिको दृष्टिकोण र त्यसले नेपाली समाजमा पारेको प्रभाव यस उपन्यासमा उल्टिएको पाइन्छ। सन्दर्भमा चीनलाई राखेर मानव अधिकार, जेलजीवन, बन्दीलाई गरिने व्यवहार र कानूनी मान्यता जस्ता संवेदनशील विषयहरू अघिपछिको प्रचारभन्दा फरक ढङ्गले विश्लेषण भएका छन्।
न्याउली पात्रका केन्द्रीयतामा संरचित प्रस्तुत उपन्यासको सबैभन्दा महत्त्वपूर्ण पाटो वर्गीय विषयका कारण सिर्जना भएको लैङ्गिक उत्पीडन हो। रेखोपाखो खनीखोस्री कुखुराबाख्रा पालेर जसोतसो जीविकोपार्जन गरेको परिवारकी ज्येष्ठ सदस्यका रूपमा न्याउलीलाई औपन्यासिक परिचय दिइएको छ।
मौका मिल्दा यार्सा (किरा) खोजी परिवारलाई सुख दिने मनसायमा रहेका न्याउलीका पिता त्यसैको खोजीका क्रममा भीरबाट लडेर देह त्याग्छन्। त्यसपछि परिवारलाई कसरी सुरक्षित अवतरण दिने भन्ने चिन्तामा न्याउली हुन्छे। त्यससँगै न्याउलीलाई असमयमै बिहेको बाध्यता आइलाग्छ। त्यसपछिका उनका पीडाका श्रृंखला उपन्यासमा चित्रित गरिएका छन्।
मौका मिल्दा यार्सा (किरा) खोजी परिवारलाई सुख दिने मनसायमा रहेका न्याउलीका पिता त्यसैको खोजीका क्रममा भीरबाट लडेर देह त्याग्छन्। त्यसपछि परिवारलाई कसरी सुरक्षित अवतरण दिने भन्ने चिन्तामा न्याउली हुन्छे। त्यससँगै न्याउलीलाई असमयमै बिहेको बाध्यता आइलाग्छ। त्यसपछिका उनका पीडाका श्रृङ्खला उपन्यासमा चित्रित छन्।
हाम्रो समाजमा क्रमशः मजबूत बन्दै गइरहेको विदेशिने संस्कृतिले समाजका हरेक वर्ग, समुदाय र व्यक्तिलाई के-कसरी प्रभाव पार्दै छ भन्ने विषयलाई उधिनिएको छ। उपन्यासकार आचार्यमा नेपाली ग्रामीण इलाका र त्यहाँ पाइने प्राकृतिक सौन्दर्यको दृश्यावली वर्णन गर्ने मीठो शैली रहेको छ।
यसका साथै, पशुप्राणी र चराको चिनारीमा समेत सप्रेम शब्द खर्चिएर उनले आफूमा रहेको पर्यावरणीय चेतनाको उद्घाटन गरेका छन्। न्याउली नामको चरालाई प्रमुख पात्रका नाममा समेटी त्यस चराले गाउने विरही भाकालाई पात्रको जीवन भोगाइका सादृश्यमा उतार्ने कार्यलाई उपन्यासकारमा रहेको पर्यावरण प्रेम र चेतनाका रूपमा बुझ्न सकिन्छ।
पूँजीवादी अर्थ–संस्कृतिको प्रभावले हाम्रो जस्तो कमजोर अर्थतन्त्र भएको मुलुकलाई कसरी गाँज्दै छ भन्ने विषयको औपन्यासिक चिरफार पनि यसको अर्को विशिष्ट पक्ष हो। नारीको शरीरलाई वस्तुका रूपमा उपभोग गर्ने उपभोक्तावादी संस्कृतिका कारण सिर्जना भएको शरीर राजनीति निम्न वर्गीय पात्रहरूमा कसरी सल्किँदै छ भन्ने वास्तविकतालाई उपन्यासकारले न्याउलीको गरीबीमाथि खेलिएको खेल मार्फत चिनाएका छन्।
वर्तमान विश्वमा पूँजीवादीले रचना गरेको जालमा निरीह, असहाय र गरीबहरू फसेको यथार्थ विवरण प्रस्तुत गरी उनले यतातिरको सचेतनाका लागि गम्भीर आवाज सम्प्रेषण गरेका छन्। बालमन्दिर जस्तो पवित्र भनिएको स्थलबाट मोटो रकम असुलेर विदेशीका हातमा बालबालिकालाई सुम्पिने प्रवृत्ति उपभोक्तावादी संस्कृतिका प्रभावमा निर्मित जटिल सामाजिक कुसङ्केतन हो। यस्तो विकृतिलाई नेपाली तथा चिनियाँ दुवै समाजको अवस्था चित्रणका माध्यमबाट आचार्यले प्रस्ट्याउने प्रयत्न गरेका छन्।
तामाङ जातिको जातीय संस्कारलाई उपन्यासकारले राम्ररी समाउने प्रयत्न गरेका छन्। नेपाली भाषा बोल्दा उनीहरूबाट प्रकट हुने लवज उतारेर आचार्यले आञ्चलिकताको सुवास पस्किएका छन्।
हाम्रो समाजमा देखिने पितृसत्ता र यसले सिर्जना गरेको लैङ्गिक उत्पीडनको विषयलाई उपन्यासकारले अवलोकन गरेका छन्। न्याउलीको प्रतिरोधी आवाजलाई दबाउँदै ठूला मानिसको सेवालाई अन्यथा ठान्न नहुने तर्क दिने पितृसत्ताकी पोषक नारी चरित्रको औपन्यासिक उपस्थितिले हाम्रो समाजमा रहेको पितृसत्ताको अस्तित्व र प्रभावलाई राम्ररी चिनाएको छ। सेते, टिमुरे, नेता तथा पुरुषको भोगवादी चरित्रलाई सहयोग गर्ने नारी जस्ता नारीद्वेषी चरित्रहरूले पितृसत्ताको प्रभुत्वशाली अस्तित्वलाई संरक्षण गरी लैङ्गिक हिंसालाई मलजल गरेका छन्।
प्रस्तुत उपन्यासमा न्याउलीले पटक पटक उत्पीडनको सिलसिला छिचोल्नुपरेको छ। एकपछि अर्को हिंसात्मक घटनामा जोडिएकी न्याउलीको निरीहता अन्त्य हुन सकेको छैन। उनी पटक पटक पुरुषभोगकी साधन बनेकी छन्। अनेक होटलमा पीडित परिस्थिति सहेर गुज्रिनुपरेको छ। यति भएर पनि उनमा प्रतिरोधको तह भने शून्यको शून्य नै देखिन्छ। उनको मधुरो आवाजलाई प्रतिरोधका तहसम्म पुग्न दिइएको छैन।
चीनको हिरासत र जेलमा बन्दीबाटै नराम्ररी पिटिए पनि उनमा प्रतिरोध जन्मिन सकेको छैन। अधिक उत्पीडनलाई प्रतिरोधको कारण मानिन्छ, तथापि न्याउलीको प्रतिरोध शून्यता बोकेरै उपन्यासकार आचार्य कथाको आदि–अन्त्य हिंडेका छन्। उत्पीडनले उचाइ नाघिरहँदा न्याउलीमा थोरै भए पनि प्रतिरोध चेतना भर्न सकिएको भए उपन्यासले सांस्कृतिक सन्तुलनका दिशामा केही राहत प्रदान गर्ने थियो कि भन्न सकिन्छ।
तामाङ जातिको जातीय संस्कारलाई उपन्यासकारले राम्ररी समाउने प्रयत्न गरेका छन्। नेपाली भाषा बोल्दा उनीहरूबाट प्रकट हुने लवज उतारेर आचार्यले आञ्चलिकताको सुवास पस्किएका छन्। तामाङ जातिको जन्म, विवाह, मृत्यु लगायत संस्कार चित्रणमा स्थानीय सांस्कारिक मान्यताको समेत चिनारी दिएर उनले उपन्यासलाई जीवन्त बनाएका छन्।
कहिलेकाहीं पूर्वी पहाडी क्षेत्रमा चलेको लवज र शब्द धादिङको परिवेशमा मिसाइँदा मौलिकता चित्रणको स्वभाविकतामा मधुरो ठक्कर लागेको आभास हुन्छ। यसका साथै, उनले चीनको सांस्कृतिक विषयलाई औपन्यासिक सन्दर्भले मागे जति समेटेका छन्। उनले त्यहाँ प्रचलित वसन्त चाड, पुर्खा दिवस आदिसँग बन्दीगृहमा रहेकी न्याउलीलाई समेत जोड्न भ्याएका छन्। यसबाट उनमा स्वदेशी तथा विदेशी दुवै संस्कारप्रति उदार दृष्टि रहेको बुझ्न सकिन्छ।
अधिक उत्पीडनलाई प्रतिरोधको कारण मानिन्छ, तथापि न्याउलीको प्रतिरोध शून्यता बोकेरै उपन्यासकार आचार्य कथाको आदि–अन्त्य हिंडेका छन्। उत्पीडनले उचाइ नाघिरहँदा न्याउलीमा थोरै भए पनि प्रतिरोध चेतना भर्न सकिएको भए उपन्यासले सांस्कृतिक सन्तुलनका दिशामा केही राहत प्रदान गर्ने थियो कि भन्न सकिन्छ।
बिहेपछि तामाङ जातिकी नारीको थर परिवर्तन नहुने संस्कारलाई उपन्यासकारले चिनाएका छन्। उनका अनुसार, रुइ अर्थात् हाड (थर) माइतीकै अधीनमा रहने मान्यताका कारण तामाङ जातिकी नारीको बिहेपछि पनि थर परिवर्तन हुँदैन। ती नारीको दाहसंस्कारमा माइतीको उपस्थिति अनिवार्य रहने र उपस्थिति हुन नसके शवबाट अस्थि झिकी त्यसलाई माइतीका सहभागितामा सेलाउने गरिन्छ।
यस्तो संस्कारलाई आचार्यले उपन्यासको प्रारम्भमै चिनाएका छन्। उनले चीनको जेलमा जन्मकैद झेल्न बाध्य न्याउली तामाङको अवस्था चित्रणका माध्यमबाट अलमलिएको रुइबा संस्कारलाई प्रतीकात्मक बिम्बका रूपमा अघि सारेका छन्। राज्य नै यस्तो अवस्थाको सर्जक हो, जो हरेक पटक मूकदर्शक भई जनताका पीरमर्कामा बेखबर बनिरहेको हुन्छ। यस्तो कटु यथार्थसित रुइबा संस्कारको अलमल परिस्थिति जोडी उपन्यासकारले राज्य सञ्जालमाथि चोटिलो व्यङ्ग्य प्रहार गरेका छन्। त्यसैले उपन्यासको शीर्षक नै हाम्रो सामाजिक संरचना र युगीन परिवेशमाथि कसिलो व्यङ्ग्य बन्न पुगेको छ।
वर्गीयता सिर्जित लैङ्गिक उत्पीडनका धरातलमा विकसित कथाका रूपमा रुइबा उपन्यासको औपन्यासिक स्वरूपलाई ग्रहण गर्न सकिन्छ। धादिङको पाबाङ गाउँको निम्न वर्गीय तामाङ समुदायमा हुर्किएकी न्याउली तामाङ र उसको परिवारले निम्न आर्थिक हैसियतका कारण बेहोर्नुपरेको भुक्तमान नै यस उपन्यासको कथानकको मूल स्रोत बन्न पुगेको छ।
नेपाली समाजमा निम्न आर्थिक हैसियत भएका मानिसहरू आफ्नो वर्गीय अवस्था सुधार्नका लागि सुखको सपना बोकेर शहर हुँदै विदेशिने संस्कृति के-कसरी फराकिलो बन्दै छ र यसका अन्तरकुन्तरमा रहेको सामन्ती संस्कृतिले उनीहरूलाई के-कसरी थिलथिलो पार्दै छ भन्ने विषयलाई सूक्ष्म निरीक्षण गरी उपन्यासमा उतारिएको छ। वर्गीय संस्कृति, वर्गीय उत्पीडन, पूँजीवादी अर्थ–संस्कृतिका आडमा विकसित उपभोक्तावादी संस्कृति, शरीर राजनीति जस्ता पक्षहरूको प्रायोगिक विश्लेषण यस उपन्यासको शक्ति हो।
सुधारिएको भनिएको नेपाली समाजमा अद्यापि कायम सांस्कृतिक प्रभुत्वको अवस्था विश्लेषण गरी आचार्यले उपन्यासलाई चमक प्रदान गरेका छन्। नेपाली समाजको सामाजिक तथा सांस्कृतिक अवस्थाको अन्वेषणमा प्रस्तुत कृति केन्द्रित छ। निम्न आर्थिक हैसियतमा गुज्रिन बाध्य नेपाली जनताको गरीबीलाई समातेर वर्तमानका काखमा मौलाएको लैङ्गिक तथा सांस्कृतिक शोषणको अनुसन्धानात्मक विश्लेषण नै यस उपन्यासको धरातल हो, जसलाई समसामयिक नेपाली उपन्यास यात्राको प्रशंसायोग्य पहलका रूपमा सम्बोधन गर्दा अतिशयोक्ति नठहरिएला।
पुस्तक : रुइबा, विधा : उपन्यास, लेखक : चेतनाथ आचार्य
प्रकाशक : फिनिक्स बुक्स, काठमाडौं, पृष्ठ : २६२+८, संस्करण : पहिलो, २०७८ असोज