स्थानीय तहको निर्वाचनका लागि मतदाता नामावली सङ्कलन गरिंदै
निर्वाचन आयोगले आउँदो स्थानीय तहको निर्वाचनलाई लक्षित गरी मतदाता नामावली सङ्कलन विशेष अभियान सञ्चालन गर्ने भएको छ।
स्थानीय तहको निर्वाचनको मिति घोषणा हुनुपूर्व नै मतदाता नामावली सम्बन्धी काम सम्पन्न गर्नुपर्ने कानूनी व्यवस्था अनुरूप आयोगले नामावली सङ्कलनको अभियान सञ्चालन गर्न लागेको हो। सबै स्थानीय तहका केन्द्रमा टोली खटाएर मतदाता नामावली सङ्कलन विशेष अभियान अघि बढाउन लागिएको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बताए। “आउँदो चैतसम्ममा स्थानीय तहको निर्वाचन हुन्छ भन्ने कानूनी व्यवस्थालाई टेकेर आउँदो मंसीरसम्म अभियान सम्पन्न गर्ने हेतुले मतदाता नामावली सङ्कलन विशेष अभियान सञ्चालन गरिनेछ,” थपलियाले भने।
जनताको घरदैलो नजिक पुगेर सेवा प्रदान गर्ने क्रममा आयोगले नामावली सङ्कलन गाउँपालिकाको केन्द्रमै दर्ता टोली खटाएर गराउन लागेको हो। मतदाता नामावलीमा नाम दर्ताका लागि १८ वर्ष पुगिसकेका व्यक्तिले पालिका केन्द्रमा आउने टोली समक्ष नेपाली नागरिकताको प्रमाणपत्र देखाएर आफ्नो नाम दर्ता गराउन सक्नेछन्।
अभियानमा नाम दर्ताका सन्दर्भमा १६ वर्ष उमेर पुगेका व्यक्तिको समेत नाम दर्ता र तस्वीर खिच्ने काम हुनेछ। निर्वाचनका लागि मतदाता नामावली सबैभन्दा प्राथमिक विषय मानिएकाले आयोगले विशेष अभियान मार्फत मतदाता नामावली अद्यावधिक गर्न लागेको हो।
आयोगले रोजगारी, पठनपाठन र व्यवसायका सिलसिलामा स्थायी ठेगानाभन्दा बाहिर बसेका मतदातालाई छिट्टै नै सबै निर्वाचन कार्यालय, इलाका प्रशासन कार्यालय र जिल्ला प्रशासन कार्यालयमा ३६५ दिन नियमित रूपमा मतदाता नामावली नाम दर्ताका लागि आवश्यक स्थायी बन्दोबस्ती मिलाउन लागेको छ।
कार्यस्थलबाटै आफनो स्थायी ठेगानामा मतदाता नामावलीमा नाम सङ्कलन गर्न चाहनेलाई सहज तुल्याउन देशभरका सबै निर्वाचन कार्यालयबाट बाह्य जिल्लाको समेत मतदाता नामावलीमा नाम दर्ता गर्ने अभियान पनि प्रारम्भ गरिने आयोगले जनाएको छ।
आगामी दिनमा यो अभियानलाई कानूनी बन्दोबस्तभित्र राखेर नियमित रूपमै सङ्कलन गर्ने व्यवस्था मिलाइने प्रमुख आयुक्त थपलियाले जानकारी दिए।
विद्यमान निर्वाचन ऐन अनुरूप निर्वाचनको मिति तय भएपछि मतदाता नामावली सङ्कलन गर्न नसकिने प्रावधान छ। मतदाता नामावली सङ्कलन गर्न निर्वाचन आयोगलाई एकाधिकार छ।
आयोगले नियमित रूपमा जिल्ला प्रशासन कार्यालय, जिल्ला निर्वाचन कार्यालय र इलाका प्रशासन कार्यालयबाट मतदाता नामावली दर्ता गर्दै आएको छ। (रासस)