दुई महीनामै पेट्रोलियम पदार्थको मूल्यवृद्धि, तीन दिनपछि फेरि बढ्न सक्छ : निगम
नेपाल आयल निगमले पेट्रोलिमय पदार्थको मूल्यवृद्धि गरेको छ। दुई महीनामै मूल्यवृद्धि गरेको निगमले फेरि पनि मूल्य बढ्न सक्ने जनाएको छ।
निगमले गएराति १२ बजेदेखि लागू हुने गरी खाना पकाउने ग्यास, पेट्रोल, डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्यवृद्धि गरेको हो। निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रति लिटर रु.३ ले बढाएको छ।
अब डिजल र मट्टीतेलको मूल्य प्रति लिटर रु.११६ भएको छ। यसअघि प्रति लिटर रु.११३ रहेको थियो।
त्यस्तै, पेट्रोलको मूल्य प्रति लिटर रु.१३३ पुगेको छ। यसअघि प्रति लिटर रु.१३० रहेको थियो।
निगमले खाना पकाउने ग्यासको मूल्य रु.५० ले बढाएको छ। अब ग्यास प्रति सिलिन्डर रु.१५०० पुगेको छ। यसअघि प्रति सिलिन्डर रु.१४५० रहेको थियो।
आन्तरिक तथा बाह्य हवाई इन्धनको मूल्य पनि बढेको छ। प्रति लिटर रू.१० ले वृद्धि हुँदा आन्तरिक हवाई इन्धनको मूल्य प्रति लिटर रु.९६ पुगेको छ।
निगमका सहप्रवक्ता पुष्कर कार्कीले प्रेस विज्ञप्ति जारी गरी निगम सञ्चालक समितिले मूल्यवृद्धि गर्ने निर्णय गरेको जनाएका छन्। उनले तीन दिनपछि फेरि मूल्यवृद्धि हुन सक्ने बताएका छन्।
सहप्रवक्ता कार्कीले भनेका छन्, “अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढिरहेको अवस्था देखिएकाले आगामी तीनपछि अर्थात् १५ कात्तिक (१ नोभेम्बर, २०२१) मा निगमलाई प्राप्त हुने मूल्य अझै वृद्धि भई आउने देखिएकाले निगमको घाटा कम गर्न आगामी दिनमा पनि मूल्यवृद्धि गर्नुपर्ने बाध्यतामा निगम रहेको छ।”
यसअघि पनि निगमले निरन्तर मूल्य बढाउँदै आएको थियो। पछिल्लो पटक ७ भदौमा पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो।