स्वीकृति लिएका प्रणालीमा बाहेक भुक्तानी नगर्न राष्ट्रब्याङ्कको आग्रह
नेपाल राष्ट्र ब्याङ्कले आधिकारिक रूपमा स्वीकृति पाएका भुक्तानी प्रणालीबाहेक अन्य कुनै पनि प्रणालीबाट भुक्तानी नगर्न÷नगराउन आग्रह गरेको छ ।
ब्याङ्कका कामु कार्यकारी निर्देशक सिरता भट्ट अधिकारीका अनुसार विदेशी पेमेण्ट सिस्टमसँग आबद्ध भएको क्यूआर कोड, पोओएस मेशिन वा अन्य भुक्तानी प्रणाली प्रयोग गर्दा आधिकारिक रूपमा स्वीकृति लिएको हो वा होइन भन्ने स्पष्ट हुन आग्रह गरिएको छ ।
केन्द्रीय ब्याङ्कको स्वीकृतिबिना कसैले अनधिकृत रूपमा कारोवार गरेमा त्यस्तो कारोबारबाट विदेशी विनिमय अपचलन हुने भएकाले कानूनअनुसार कारवाही हुने जनाइएको छ ।
६ अर्बको ऋणपत्र बिक्री गरिने
यस्तै नेपाल राष्ट्र ब्याङ्कले मंगलबार रु ६ अर्ब बराबरको ‘विकास ऋणपत्र २०८७ ख’ बिक्री गर्ने भएको छ । बोलकबोलको प्रक्रियाबाट ऋणपत्र बिक्री गर्न लागिएको ब्याङ्कले जनाएको छ ।
ऋणपत्र ब्याङ्क तथा वित्तीय संस्था, गैरब्याङ्किङ, बीमा समिति, संगठित संस्था तथा नेपाली नागरिकले खरीद गर्न सक्नेछन् । ऋणपत्रको अर्धवार्षिक रूपमा ब्याज भुक्तानी हुनेछ भने ब्याजमा आयकर लाग्ने छैन ।