सर्वोच्चका १५ न्यायाधीश विरुद्ध रिट
सर्वोच्च अदालतका १५ जना न्यायाधीश विरुद्ध सर्वोच्च अदालतमै रिट परेको छ।
सर्वोच्च अदालतमा पेशी तोकिएको अवस्थामा १५ जना न्यायाधीशले सुनुवाइ नगरी बसेको जनाउँदै सात जना कानून व्यवसायीले शुक्रबार रिट दिएका हुन्। रिटमा सर्वोच्च अदालतका न्यायाधीशरू दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, आनन्दमोहन भट्टराई, प्रकाशमान सिंह राउत, बमकुमार श्रेष्ठ, टंकबहादुर मोक्तान, प्रकाशकुमार ढुंगाना, सुष्मालता माथेमा, कुमार रेग्मी, हरिप्रसाद फुँयाल, डा.मनोजकुमार शर्मा, डा. कुमार चुडाल र नहकुल सुवेदीलाई विपक्षी बनाइएको छ।
न्यायाधीशहरूले मुद्दाको सुनुवाइ नगर्दा बन्दी प्रत्यक्षीकरणका रिट निवेदक थुनामै बस्नुपरेको जनाइएको छ। रिटमा भनिएको छ, “पेशी सूचीमा प्रकाशित भएर पनि माननीय न्यायाधीशहरू सम्मानित सर्वोच्चमा उपस्थित भएर पनि त्यस प्रकारका गम्भीर मुद्दाहरूमा सुनुवाइ नगरी बेन्चमा नै नबसी मुद्दा सुनुवाइ नगरेको कारणले मौलिक हक प्रचलन हुन सकेको छैन। त्यो केवल माननीय न्यायाधीशहरूकै कारणले मात्र भएको हो।”
मन्त्रिपरिषद्मा भागबण्डा खोजेको भन्दै प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको विरोध हुँदै आएको छ। नेपाल बार एसोसिएशन र सर्वोच्च अदालतका न्यायाधीशले प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै आएका छन्। जसले गर्दा न्यायाधीशहरू पनि इजालसमा बसेका छैनन्। सर्वोच्च अदालतका प्रधानन्यायाधीश जबराले मात्रै मुद्दाको सुनुवाइ गरिरहेका छन्।
रिटमा उनीहरूलाई इजलासमा बसी मुद्दा सुनुवाइ गर्न आदेश माग गरिएको छ। “विपक्षी न्यायाधीशज्यूहरूका नाममा आजकै मितिदेखि संविधानको धारा १३३ (२), (३) बमोजिम पेशी सूचीका कुनै पनि मुद्दा नरोक्नु, इजलासमा बसी स्वच्छ सुनुवाइ गर्नू भन्ने व्यहोराको परमादेश जारी गरी पाऊँ,” रिटमा भनिएको छ।
अधिवक्ता कृष्ण प्रसाईं, तोयनाथ ढुंगाना, कीर्तिनाथ शर्मा पौडेल, सभ्यता नेपाल, नकुल तिमिल्सिना, शिवराम थापा र नेत्रप्रसाद मैनालीले रिट दायर गरेका हुन्।