प्रधानन्यायाधीशको राजीनामा माग गर्दै नेपाल बारद्वारा आन्दोलन घोषणा
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग गर्दै नेपाल बार एसोसिएशनले आन्दोलन घोषणा गरेको छ।
शुक्रबार बसेको बारको केन्द्रीय कार्यसमितिको बैठकले बुधबारसम्म राजीनामा गर्न प्रधानन्यायाधीश जबरासँग माग गरेको छ। त्यसपछि चरणबद्ध आन्दोलनमा जाने बारले निर्णय गरेको उपाध्यक्ष रक्षा बस्यालले जानकारी दिइन्।
बारको बैठकले आइतबारदेखि पाखुरामा पट्टी बाँधेर विरोध जनाउने भएको छ। यससँगै प्रधानन्यायाधीश जबरालाई आफ्ना लागि इजलास नतोक्न पनि बारले आग्रह गरेको छ।
त्यस्तै, थप आन्दोलनका कार्यक्रम तय गर्न देशभरका एकाइसँग अन्तरक्रिया गर्ने बारको बैठकको निष्कर्ष छ। बारका देशभर ९० वटा एकाइ छन्। आइतबार भर्चुअल माध्यमबाट सबै एकाइका पदाधिकारीसँग छलफल गरिने भएको छ।