वातावरणमैत्री स्यानिटरी प्याडको शुभारम्भ
नेपाल सीआरएस कम्पनीले डडेल्धुरामा ‘फ्रीडम’ ब्रान्ड नामबाट वातावरणमैत्री स्यानिटरी प्याडको शुभारम्भ गरेको छ।
११ कात्तिकमा डडेल्धुराको अमरगढी नगरपालिका–७ पोखरास्थित उग्रतारा माविमा स्यानिटरी प्याड सार्वजनिक गरिएको हो।
अमरगढी नगरपालिकाका प्रमुख विश्वेश्वरप्रसाद ओझा, जर्मनी दूतावासका उपप्रमुख साइमन हेन्केले, केएफडब्लुका प्रमुख शंकरराज पाण्डेय, मिस नेपाल वर्ल्ड २०१५ इभाना मानन्धर लगायतले विद्यालयका छात्रालाई प्याड वितरण समेत गरेका थिए।
ग्रामीण क्षेत्रमा मातृ तथा शिशु स्याहार सुधार कार्यक्रम अन्तर्गत महिला तथा किशोरीहरूको महीनावारी स्वच्छता व्यवस्थापन र सुधारका लागि वातावरणमैत्री स्यानिटरी प्याडको शुभारम्भ गरिएको कम्पनीले जनाएको छ।
यो कार्यक्रम सुदूरपश्चिम प्रदेशको डडेल्धुरा सहित बैतडी, डोटी र बझाङमा लागू गरिएको छ।
नेपाल सीआरएस कम्पनीले चार दशकदेखि परिवार नियोजन, मातृ तथा बाल स्वास्थ्य र यौन रोगको रोकथामका विभिन्न साधनको बिक्री वितरण तथा व्यवहार परिवर्तन सम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आएको छ।