लिम्बुवान दस्तावेजमा इतिहास-चिन्तन
मदन पुरस्कार जस्तो गरिमापूर्ण सम्मान प्राप्त गर्न सफल लिम्बुवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह र ग्रन्थकार भगिराज इङ्नाम नेपालको इतिहास संरक्षण र खोजका क्षेत्रमा नयाँ राष्ट्रिय जागरणको प्रस्थानबिन्दु बन्न सक्नुपर्छ।
इतिहासको लोकप्रियतासँग कथा भन्ने र सुन्ने मानवीय भावनाको आसक्ति गाँसिएको छ। इतिहास केवल घटितहरूको सङ्ग्रह होइन। अतीतका सन्दर्भले मानव सभ्यताको वर्तमान र भविष्यलाई पार्ने प्रभावको चिन्तन गर्दै इतिहासको दार्शनिक अध्ययन हुनुपर्छ भन्ने विचार प्रबोधनकालीन फ्रान्सेली विद्वान् भोल्तेयरले प्रकाशमा ल्याए।
जर्मन विचारक हेगेलले फिलोसफी अफ हिस्ट्री पुस्तक मार्फत भोल्तेयरको इतिहास चिन्तनलाई थप विस्तार गरे। हेगेलको दर्शनले भन्छ- इतिहासबाट पाठ सिकेर नयाँ इतिहासको रचना गर्न सक्नु नै इतिहास बदल्नु हो। इतिहासमा फर्केर घटनाहरू बदल्न सकिँदैन। तर, तिनको औचित्यपूर्ण पुनर्ब्याख्या गर्न सकिन्छ जसले इतिहासलाई सदैव गतिशील र प्रासङ्गिक राख्छ।
विगतका कुनै खास घटनाक्रम वा समयावधिलाई आरम्भमा स्मरणद्वारा र पछि लेख्य परम्पराको विकास भएसँगै लिखित कथाका रूपमा पुस्तान्तरण गरी मानिसले इतिहास बनायो र जोगायो, जसलाई वर्णन इतिहास (न्यारेटिभ हिस्ट्री) भनियो। इतिहास लेखनको वर्णनात्मक परम्पराले प्रामाणिकताका लागि प्राथमिक स्रोतहरूको विश्लेषणलाई मानक बनाउन थालेपछि इतिहास थप विश्वसनीय हुँदै गयो। उद्देश्यवादी (टेलिओलोजिकल) इतिहास लेखनका विषयहरू प्राथमिक स्रोतबाट क्रमशः उपलब्ध तथ्यका कारण रोमाञ्चक मात्र बनेनन्, इतिहास सामान्य मान्छेले पनि बनाउन सक्छ भन्ने तथ्य स्थापित भयो। अनि, इतिहास समाजको वा समुदायको भयो, जनसाधारणको भयो।
ग्रीसको शास्त्रीय युगदेखि युरोपेली पुनर्जागरणकालसम्म व्यापक रहेको शासक-प्रशस्ति (हेगिओग्राफी) छाडेर इतिहास लेखनले प्रबोधनकालदेखि तथ्य र वास्तविक स्रोतको बाटो समातेको पाइन्छ। यसपछि मानिस बिस्तारै इतिहासदेखि डराउन छोड्यो। नकारात्मक इतिहास खोतलिंदा वर्तमान उद्वेलित हुनसक्छ भन्ने त्रासबाट मुक्त हुँदै इतिहासको सामना गर्ने यात्रामा मानव सभ्यता आज पर्यन्त हिंडिरहेको छ। इतिहासबाट सिक्नु वा इतिहास निर्माण गर्नु भनेकै त्यस्तो सम्भावित उद्वेलनबाट निश्चिन्त रहँदै इतिहासको अध्ययन गर्नु हो।
इतिहास लेखनमा ‘न्यारेटिभ’ या ‘टेलिओलोजिकल’ शैलीहरू प्रचलित छँदै छन् र रहिरहनेछन्। किनभने, तिनमा मानव मनोविज्ञानसँग जोडिन आउने कथा प्रतिको विछट्ट आकर्षण छ। यद्यपि, तिनको सहारा नलिएर प्राथमिक तथ्यसँग पाठकलाई सोझ्ै साक्षात्कार गराउने वा उपलब्ध तथ्य समेत राखी विश्लेषण गर्ने तेस्रो शैली इतिहास अध्ययनको समीचीन स्वरूप हो। उसो त नेपाली भाषामा ‘इतिहास’ भनिने शब्दको अङ्ग्रेजी समकक्षी ‘हिस्ट्री’ लाई खोज (इन्भेस्टिगेसन) भनी अर्थ्याउन मिल्ने गरी हेरोडोटसले इसापूर्व पाँचौं शताब्दीमा नै ग्रीसेली भाषामा हिस्ट्रीज (इतिहासहरू) पुस्तक लेखे, जसले किंवदन्ती मिश्रित वर्णन परम्पराबाट इतिहासलाई तथ्यतिर हिंडाउने आरम्भिक प्रयास गरेको मानिन्छ।
तीन हजार वर्षको यात्रा पूरा गरिसकेको भन्न मिल्ने प्रामाणिक इतिहास लेखन परम्परालाई नेपालमा प्राज्ञिक रूपमा स्थापना गर्ने श्रेय भने विक्रमको यसै शताब्दीका मूर्धन्य विद्वान् नयराज पन्त र उनले शुरू गरेको इतिहास संशोधन-मण्डललाई जान्छ। सम्बन्धित विद्वान्हरूले प्रचलनमा नल्याएको भए पनि यसलाई ‘इतिहास अध्ययनको संशोधन-मण्डल स्कूल’ (‘स्कूल अफ थट’ भन्ने अर्थमा) भन्न सकिन्छ।
नेपालको इतिहासका प्राथमिक स्रोतलाई सकेसम्म सोझै पाठकको पहुँचमा लैजानुपर्छ भन्ने मान्यता यसै स्कूलका दिग्गज इतिहासकारहरू नयराज पन्त, धनवज्र वज्राचार्य, ज्ञानमणि नेपाल महेशराज पन्त, दिनेशराज पन्त आदिका प्रयासबाट अब स्थापित भइसकेको छ। यस प्रकारका कृतिहरू भने नेपाली इतिहासमा थोरै मात्र लेखिएका छन्। विरलकोटी यस श्रृङ्खलामा धेरै लामो अन्तरालपछि एउटा अध्याय थपिएको छ, भगिराज इङ्नामको खोज र सम्पादनमा प्रकाशित ग्रन्थ लिम्बुवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह।
प्रतिष्ठित मदन पुरस्कारद्वारा हालै सम्मानित भएको उक्त पुस्तक नेपालका पूर्वी पहाडमा बसोबास गर्ने लिम्बू समुदायसँग नेपाल राज्य निर्माण प्रक्रियाको अन्तरसम्बन्ध दर्शाउने करीब तीन सय वर्षका महत्त्वपूर्ण प्राथमिक स्रोतहरूको सङ्ग्रह हो। सङ्ग्रहले लिम्बुवानको सामाजिक र राजनीतिक सङ्घटनका बारेमा पनि उत्तिकै प्रकाश पार्छ।
ग्रन्थमा परेका केही दस्तावेज यस अघि फुटकर रूपमा विभिन्न लिम्बू वंशावली तथा पुस्तकमा सङ्गृहीत थिए। केही कागजात राष्ट्रिय अभिलेखालयबाट लिइएका देखिन्छन् भने अधिकांश दस्तावेजका सक्कल प्रति इङ्नाम आफैंले पूर्वी पहाड र मधेशका गाउँ घुमेर सङ्कलन गरेका हुन्।
अघिल्ला मानक कृतिहरू
घिउ कमिलाको सलबलाउँदो ताँती जस्तै देखिने हस्ताक्षरमा पुस्तकको पहिलो भूमिका लेखिदिएका (दोस्रो भूमिका साहित्यकार वैरागी काइँलाको छ) सत्यमोहन जोशीले प्राथमिक स्रोतमा पाठकको पहुँच स्थापित गर्ने दुई वटा मानक कृति र तिनका स्रष्टालाई सम्मानपूर्वक स्मरण गरेका छन्। २०२० सालमा भाषाशास्त्री बालकृष्ण पोखरेलद्वारा सम्पादित पाँच सय वर्षको प्रकाशन पश्चात् नेपाली भाषा, साहित्य र संस्कृतिको अध्ययनमा नयाँ जागरण आयो। त्यसको करीब एक दशकपछि विख्यात इतिहासकार धनवज्र वज्राचार्यको अन्वेषणबाट प्रकाशमा आएको लिच्छविकालका अभिलेख प्राचीन नेपालको प्रमाणिक इतिहास अध्ययनमा त्यस्तै अर्को मानक कृति हो।
दुई ऐतिहासिक कृतिको उल्लेख सहितको भूमिकामा उपलब्ध जोशीको मार्गदर्शनलाई आधार मानिल्याउँदा यस परम्पराका थप मानक कृति हाम्रा सामु देखा पर्छन्, जसलाई यहाँ उल्लेख गर्नु सान्दर्भिक मात्र होइन आवश्यक नै हुन आउँछ । नयराज पन्तको विद्वत्नेतृत्वमा संशोधन-मण्डलद्वारा प्रकाशमा आएको पृथ्वीनारायण शाहको उपदेशले टेलिओलोजी र तथ्यको बेजोड समागमबाट नेपाल राज्यको एकीकरणलाई हेर्ने नयाँ ऐतिहासिक दृष्टि पाठकलाई प्रदान गर्छ।
इङ्नामको पुस्तकले नेपाल एकीकरणको पूर्वी अभियानका लालमोहर र स्याहामोहर समेत सङ्गृहीत गरेको हुनाले तिनको यथोचित विश्लेषणका लागि सकेसम्म धेरै प्रामाणिक स्रोतसँग तुलनात्मक अध्ययन आवश्यक पर्छ।
इङ्नामको पुस्तकले नेपाल एकीकरणको पूर्वी अभियानका लालमोहर र स्याहामोहर समेत सङ्गृहीत गरेको हुनाले तिनको यथोचित विश्लेषणका लागि सकेसम्म धेरै प्रामाणिक स्रोतसँग तुलनात्मक अध्ययन आवश्यक पर्छ। भनिहालौं, पुस्तकमा सङ्गृहीत ३९५ दस्तावेजलाई इङ्नामले सटीक टिप्पणी सहित जस्ताको त्यस्तै पाठकसामु राखिदिएका छन्, तिनको विश्लेषण गरेका छैनन्।
विगत आठ वर्षमा लिम्बू जातिको इतिहास र तेह्रथुम जिल्लाको सुब्बाङ्गी प्रथा जस्ता गहकिला कृति लेखिसकेका उनी विश्लेषण गर्न नसक्ने पटक्कै होइनन्। तर यस्तो लाग्छ, जिज्ञासु र इतिहास लेखनमा रुचि राख्नेलाई थप कामका लागि उनले आमन्त्रण गरेका छन्। यस प्राज्ञिक हाँकलाई स्विकार्ने हो भने उनको पुस्तकका सामग्रीमाथि दर्जनौं जर्नल लेख र ऐतिहासिक विश्लेषण तयार हुनसक्ने गुन्जाइस छ।
पृथ्वीनारायण शाहको उपदेश जत्तिको गहकिलो सम्पादन नभए पनि प्राथमिक स्रोतको सङ्ग्रहका दृष्टिमा अर्को उल्लेख्य कृति योगी नरहरिनाथको इतिहास प्रकाश सन्धिपत्र सङ्ग्रह हो। त्यसैगरी, शाह राजाहरूसँग थारूहरूको सम्बन्धमाथि प्रकाश पार्ने ५० वटा दस्तावेज तेजनारायण पन्जियारले सङ्ग्रह गरेका थिए, जसलाई नेपालका राजाहरू तथा तराईका थारू (२०५८) शीर्षकमा टेकबहादुर श्रेष्ठको सम्पादनबाट नेपाल तथा एशियाली अध्ययन केन्द्रले प्रकशित गर्यो। उक्त सङ्ग्रह गिसेल क्राउस्कोफ र पामेला डोएल मायरको सम्पादनमा सन् २००० मा अङ्ग्रेजी भाषामा उपलब्ध भयो, द किङ्स अफ नेपाल एण्ड द थारू अफ द तराईः द पन्जियार कलेक्सन अफ फिफ्टी रोयल डकुमेन्ट्स फ्रम १७२६-१९७१ शीर्षकमा।
प्रकाशन-समयका दृष्टिले अघिपछि भए पनि कर्णाली क्षेत्रका ऐतिहासिक प्राथमिक स्रोत, पृथ्वीनारायण शाहका उपदेश, लिच्छविकालका अभिलेख, सन्धिपत्र सङ्ग्रह, थारू दस्तावेज हुँदै इङ्नामद्वारा सङ्गृहीत लिम्बुवान क्षेत्रका स्रोत–सङ्ग्रहसम्म आइपुग्दा नेपालको समग्र प्रामाणिक इतिहासले बल्ल एक फन्को देश घुम्न पाएको प्रतीत हुन्छ। दिनेशराज पन्तद्वारा लिखित गोर्खा राज्यको इतिहासका भाग चारसम्म तथा पूर्णिमा पत्रिकालाई नेपाली इतिहासको अध्ययनमा थप मानक कृति मान्न सकिन्छ।
इङ्नामको सङ्ग्रहका मात्र होइन, धेरै अघिदेखिका ऐतिहासिक सामग्रीले के पुष्टि गर्छन् भने स्थानीय शासकका रूपमा लिम्बू सुब्बा र थुमका प्रमुखहरूले आफ्नो क्षेत्रका अन्य समुदायको समेत परम्परा र संस्कार जोगाइदिएका हुन्।
नलेखिएका कुरा
इङ्नामको दस्तावेज सङ्ग्रहमा परेका ३९५ लालमोहर, स्याहामोहर, कस्यपत्र, रूक्कापत्र र अन्य ऐतिहासिक कागजातको सम्पूर्ण विश्लेषण एउटा सानो लेखमा सम्भव छैन। सरसर्ती छोटकरी तथ्य राख्नु अघि लिम्बू समुदायको इतिहास र समाज अध्ययन गर्ने तीन जना प्रमुख लेखकलाई उल्लेख गरेपछि मात्र इङ्नामले नयाँ के गरे भनी प्रष्ट पार्न सकिन्छ।
लिम्बू जातिको मात्र होइन, नेपालकै इतिहासको अध्ययन गर्दा प्रायः नछुट्ने नाम हो, इमानसिंह चेम्जोङ। दार्जीलिङमा बढेपढेका उनलाई अङ्ग्रेजी भाषामा समेत प्रवीणताका कारण नेपालबारे पश्चिमा इतिहासकारहरूले सङ्ग्रह गरेका सामग्रीको अध्ययनमा सहजता हुनु स्वाभाविक हुन गयो। उनका लागि लिम्बुवान भन्नाले पूर्वी नेपालका पाँच जिल्ला (धनकुटा, तेह्रथुम, ताप्लेजुङ, पाँचथर र इलाम) मात्र नभएर पूर्वोत्तर भारतका दार्जीलिङ र सिक्किम पनि हुन्, जहाँ लिम्बू समुदायको ऐतिहासिक अस्तित्वका प्रमाणहरू छरिएका छन्। लिम्बू जातिको मूल उद्गमस्थल विजयपुर रहेको यकिन गर्नेदेखि मुन्धुम, सिरिजङ्गा लिपि र लिम्बू अस्तित्वको जरोकिलो खोज्ने कार्यमा हज्सन पाण्डुलिपि, फ्रान्सिस बुचानन-ह्यामिल्टन आदिका सङ्कलन÷विश्लेषणबाट प्रामाणिक स्रोतहरूको अध्ययन गरी प्रकाशमा ल्याउने श्रेय निस्सन्देह चेम्जोङलाई जान्छ, जानुपर्छ।
लिम्बू समाजलाई पूर्वी नेपालका बाहुनसँग द्वन्द्वको समाजशास्त्रीय आँखाबाट विश्लेषण गर्ने अङ्ग्रेज लेखक लियोनेल कप्लानको सन् १९७० मा प्रकाशित पुस्तक हो- ल्यान्ड एन्ड सोसल चेन्ज इन इस्ट नेपालः अ स्टडी अफ हिन्दू ट्राइबल रिलेसन्स। अधिकांश पश्चिमा प्राज्ञिक जगत्ले लिम्बू समुदायबारे अध्ययन गर्दा यसै पुस्तकलाई मानक बनाएको देखिन्छ र यसैबाट अनेकौं ‘न्यारेटिभ’ रचित छन्। समुदायको स्वामित्वमा रहने किपट जमीनलाई राजा महेन्द्रले भूमिसुधार कानुन लागू गरी रैकरीकरण गरेकामा लिम्बू समाजभित्र त्यस बखत विद्यमान असन्तोषलाई आवाज दिने कप्लानको पुस्तकले राज्यको आधुनिकीकरण हुँदै जाँदा पुराना मान्यता तथा उत्पादन सम्बन्धमा परिवर्तन आउने यथार्थलाई आत्मसात् गर्न सकेको छैन।
समुदायबीच हुने स्वाभाविक सामाजिक अन्तक्रियात्मक सम्बन्धबाट पैदा हुने अन्तर्घुलनको पक्षलाई अस्वीकार गर्न अपवादलाई मूल प्रवृत्ति मान्नु नेपालबारे उपलब्ध धेरै समाजशास्त्रीय-नृशास्त्रीय विश्लेषणको स्वभाव रहेको छ। लिम्बुवानको इतिहासले चाहिं प्रामाणिक रूपमा फरक कुरा देखाइरहेको छ। इङ्नामको सङ्ग्रहका मात्र होइन, धेरै अघिदेखिका ऐतिहासिक सामग्रीले के पुष्टि गर्छन् भने स्थानीय शासकका रूपमा लिम्बू सुब्बा र थुमका प्रमुखहरूले आफ्नो क्षेत्रका अन्य समुदायको समेत परम्परा र संस्कार जोगाइदिएका हुन्। यस क्षेत्रको समाजशास्त्रीय अध्ययनलाई इतिहासले अझै सूचित गर्नुपर्ने आवश्यकता पूरा गर्न इङ्नामको सङ्ग्रह उपयोगी हुने विश्वास गर्न सकिन्छ।
त्यसपछि अर्का इतिहासकार शिवकुमार श्रेष्ठको नाम लिनुपर्छ। उनले २०४२ सालमा लिम्बुवानको ऐतिहासिक अध्ययन कृति मार्फत पूर्वी पहाडको प्रामाणिक इतिहास लेखे। त्यस पुस्तकमा श्रेष्ठले विक्रम सम्वत् १७४१ देखि यताका सेनकालीन र शाहकालीन लालमोहरहरूका धेरै उतार प्रतिहरू समेत सामेल गरेका छन्।
विजयपुरका सेन राजाहरूले आफूलाई हिन्दू अधिपति मानेको र त्यसै समेतको आधारमा लिम्बू पुर्खालाई खान्गी बापत जमीन दिएको तथ्य काममदत्त सेनको स्याहामोहरबाट पुष्टि हुन आएको छ।
यस सिलसिलामा आएको इङ्नामको नयाँ सङ्ग्रहले लिम्बुवानको इतिहास र समाज अध्ययनको हालसम्म उपलब्ध दायरालाई अझ्ै फराकिलो पार्छ। लिम्बू भन्ने थर वा पदवी सेनकालीन अभिलेखमा स्पष्ट देखिएको हुनाले लिम्बू अस्तित्वको ऐतिहासिकता धेरै पुरानो प्रमाणित हुन्छ। नगरा निशान र सुब्बाङ्गी प्रथा समेत सेन कालदेखिकै निरन्तरता देखिन्छ। किपटको व्यवस्था लिम्बुवानमा मात्र नभएर नेपालभरि थियो भन्ने तथ्यलाई सङ्गृहीत कागजातले उजागर गरेका छन्।
नेपालका लिम्बूहरूको हिन्दू परम्परासँग भेट हुनुमा नेपाल एकीकरणभन्दा धेरै अघिदेखिका सामाजिक व्यवहार र राज्यसँग स्थापित सम्बन्ध जिम्मेवार रहेको तथ्य इङ्नामको सङ्ग्रहले पुनरुद्घाटन गर्छ। विजयपुरका सेन राजाहरूले आफूलाई हिन्दू अधिपति मानेको र त्यसै समेतको आधारमा लिम्बू पुर्खालाई खान्गी बापत जमीन दिएको तथ्य काममदत्त सेनको स्याहामोहरबाट पुष्टि हुन आएको छ।
हालसम्म अप्रकाशित यस दस्तावेजलाई इङ्नामले प्रकाशमा ल्याएका छन्। यस अघि इमानसिंह चेम्जोङद्वारा प्रकाशमा आएका तथ्यलाई पुनर्पुष्टि गर्दै एकीकरण पश्चात् मात्रै लिम्बूहरूको ‘हिन्दूकरण’ गरिएको भन्ने मतलाई यस सङ्ग्रहले थप प्रमाणबाट खण्डन गर्छ।
नेपाल एकीकरणको क्रममा साना राज्यहरू जित्न पृथ्वीनारायण शाह र उनका उत्तराधिकारीहरूले सैन्य बल तथा कूटनीतिक चातुर्यको एकसाथ प्रयोग गरेका हुन्।
कीर्तिपुर र लिम्बुवानले मात्र पृथ्वीनारायणको विजय अभियानमा एक हदसम्मको प्रतिरोध गर्न सकेका थिए। राज्य विस्तारमा बल प्रयोग हुनु, प्रतिद्वन्द्वीको एकतामा फुट ल्याउन प्रयास गर्नु तथा कल, बल र छलको प्रयोग हुनु सिङ्गो मानव सभ्यताले भोगेको साझ इतिहास हो।
किताबमा नभएका कुरा
विद्वान् इतिहासकार महेशराज पन्तलाई पङ्क्तिकारले पुस्तकका सन्दर्भमा प्रश्न गर्दा उहाँको जवाफ थियो- ‘प्राथमिक स्रोतहरू सकेसम्म धेरै प्रकाशमा आएको खण्डमा इतिहास अध्ययनले अझै सार्थकता पाउने हुनाले यस्ता ग्रन्थहरू लेखिंदै जानुपर्छ।’ यसलाई इङ्नामको सङ्ग्रहको महत्ता दर्शाउने महावाक्य मान्न सकिन्छ। परीक्षित विद्वान्ले तौलिएर बोलेका वाक्यहरू आफैंमा प्रमाण हुन्छन्- आप्तवाक्यं प्रमाणम्। यहाँनेर दत्तचित्त भई सङ्ग्रह गर्नु र टिप्पणी सहित प्रकाशमा ल्याउनु नै इङ्नामको मौलिक योगदान हुन गएको छ।
पूर्वी पहाडको भूगोल बुझउन ‘लिम्बुवान’ शब्द प्रयोगको ऐतिहासिकीबारे एउटा खोजमूलक लेख चाहिं पुस्तकमा आवश्यक पथ्र्यो भन्ने यस पङ्क्तिकारको तर्क छ। त्यस क्षेत्रलाई किन लिम्बुवान भनियो भन्नेबारे धेरै इतिहासकारले सप्रमाण लेखिसकेका छन्। यसलाई विशुद्ध प्राज्ञिक रूपले निरन्तर पुनर्जीवन दिइरहनुपर्छ। किनभने, ‘लिम्बुवान’ शब्दसँग लिम्बू समुदायको अपनत्व जोडिए जस्तै त्यही शब्दसँग अन्य समुदायको ‘त्रास’ पनि यदाकदा जोडिएको छ।
पहिचानवादी राजनीतिक आन्दोलनका क्रममा त्यस शब्दको प्रशस्त मानवीकरण भइसकेको भए पनि इङ्नामले मानेका छन्- दस्तावेज सङ्ग्रह गर्दा ‘लिम्बुवान’ खोज्न हिंडेको मान्छे भनी धेरैजना डराए। उनी थप भन्छन्- ‘दस्तावेज अध्ययन गर्न, प्रकाशन गर्न खोज्दा साम्प्रदायिक सद्भाव बिथोलिन सक्ने डर सरकारी कार्यालयमै छ।’ समुदायमा थप अन्तक्रिया गर्न अध्येताहरूलाई यस्ता घटनाले प्रेरित गर्नुपर्छ।
‘लिम्बुवान’ शब्द आजका मानिसको रचना होइन। पूर्वी पहाडको भूगोललाई जनाउन त्यस शब्दको प्रयोग कमसेकम साढे तीन शताब्दी अघिदेखि हुँदै आएको इतिहासकारहरू बताउँछन्।
समुदायबीचको निरन्तर संवादले मात्र एकअर्कासँग अनुभव गरिने असुरक्षाको भावना क्रमशः न्यूनीकरण गर्दै लैजान्छ। लिम्बुवानको इतिहास अध्ययन हुँदा वर्तमानमा त्यस क्षेत्रको समाज उद्वेलित हुँदैन भन्ने स्थापित भएका दिन इतिहासको महत्त्व धेरै मानिसले बुझ्नेछन्। युरोपेलीहरूले चार शताब्दी अघि पहिल्याएको यो सत्य हामी अझै पनि बुझ्ने बुझाउने चरणमै छौं।
‘लिम्बुवान’ शब्द आजका मानिसको रचना होइन। पूर्वी पहाडको भूगोललाई जनाउन त्यस शब्दको प्रयोग कमसेकम साढे तीन शताब्दी अघिदेखि हुँदै आएको इतिहासकारहरू बताउँछन्। पहिचानको आन्दोलनले अन्य समुदायको मनमा ‘लिम्बुवान’ शब्द प्रति उस्तै अपनत्व जगाउन सके मात्र त्यसको सार्थकता हुनसक्छ। ‘लिम्बुवान’ सँग नागरिक तर्सिनुपर्ने अन्य कारण केही पनि छैन। लिम्बू समुदायको पहिचान र इतिहासको संरक्षण हुँदा नेपालको समग्र राष्ट्रिय पहिचान र इतिहास झ्नै बलियो हुन्छ। तर, प्राज्ञिक विषयमा प्रज्ञाभन्दा राजनीति अगाडि लागेपछि लिम्बुवानको मात्र होइन सबै क्षेत्रको उस्तै बेहाल हुन्छ।
थप दस्तावेजको खोजी
नेपालको इतिहास अध्ययनमा कोशी पूर्वको भूगोल अझै पनि उर्वर र खोजी नगरिएको तर प्रशस्त सम्भावना भएको क्षेत्र हो। पश्चिमको कर्णाली, दैलेख आसपास, सुर्खेत र काठमाडौं उपत्यकाभित्र खोजी गरिएका प्रमाणका आधारमा आजसम्म नेपालको इतिहास लेखिंदै आएको छ। इङ्नामले पूर्वको खास भूगोलमा उपलब्ध दस्तावेजहरूको सङ्ग्रह गरे जस्तै त्यस क्षेत्रका पुराना मन्दिर, देउराली र अन्य ऐतिहासिक स्थानमा उपलब्ध शिलालेख, ताम्रपत्र तथा व्यक्तिको संरक्षणमा रहेका महत्त्वपूर्ण कागजातको खोजी गर्न सकिने प्रशस्त सम्भावना छन्।
यस क्षेत्रलाई केन्द्रित गरेर यस प्रकारको प्रयास भएकै छैन भने पनि हुन्छ। त्यसको गहकिलो शुरूआत गरेको हुनाले पनि इङ्नामको सङ्ग्रहको गुरुत्व बढ्न गएको छ। सङ्कलनका क्रममा उनलाई कागजात उपलब्ध गराउने व्यक्तिहरूले फिर्ता मागेर समेत लगेको र कतिपयले भएका दस्तावेज पनि नदिएको हुनाले अझ्ै प्रशस्त सामग्रीहरू गाउँ-गाउँमा रहेको मान्नुपर्छ।
ऐतिहासिक दस्तावेजबाट ठूलो आर्थिक लाभ हुनसक्ने गलत मनोविज्ञान यसका संरक्षकहरूमा छ, जसले तिनलाई प्रकाशमा आउनबाट रोकिरहेका छन्।
गएको १२ असोजमा काठमाडौं अनामनगरस्थित इङ्नाम निवासमा पङ्क्तिकारले उनीसँग पूर्वी क्षेत्रबारे थोरबहुत चर्चा गर्ने अवसर पायो। यस्ता असङ्ख्य दस्तावेजहरू व्यक्तिको स्वामित्वमा रहेको हुनाले तिनको संरक्षण र प्रकाशनका लागि ठूलो प्रयास गरिनुपर्ने उनको विचार रहेको देखियो। पुस्तकको भूमिकामा उनले उल्लेख गरे अनुसार, ऐतिहासिक दस्तावेजबाट ठूलो आर्थिक लाभ हुनसक्ने गलत मनोविज्ञान यसका संरक्षकहरूमा छ, जसले तिनलाई प्रकाशमा आउनबाट रोकिरहेका छन्। सङ्कलक वा इतिहासका जानकारहरूले दस्तावेज खोजी गर्दा तत्काल विश्वास नगरिने प्रमुख कारण पनि यही हो।
एकातिर सामग्रीहरू प्रकाशमा नआउने, अर्कोतिर सम्बन्धितले तिनको महत्त्व नबुझ्दा दुरुपयोग भएका दृष्टान्तहरू पनि प्रशस्तै पाइन्छन्। गाउँमा बन्दूकको छुसी केफ हाल्न वा अलिक अघिसम्म चकमकको झूलो बनाउन समेत पुराना कागज प्रयोग गरिएका उदाहरण भेटिन्छन्। घरमूलीको मृत्यु भएपछि दाहसंस्कार गरिंदा सम्बन्धित कागजातहरू पनि सँगै जलाइने वा पुरिने चलनका कारण धेरै महत्त्वपूर्ण दस्तावेजहरू प्रकाशमा नआउँदै लोप भएका छन्।
मदन पुरस्कार जस्तो गरिमापूर्ण सम्मान प्राप्त गर्न सफल लिम्बुवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह र ग्रन्थकार भगिराज इङ्नाम नेपालको इतिहास संरक्षण र खोजका क्षेत्रमा नयाँ राष्ट्रिय जागरणको प्रस्थानबिन्दु बन्न सक्नुपर्छ।
(ढकाल राष्ट्रपतिका सञ्चार विज्ञ हुन्। यो उनको निजी विचार हो। हिमाल मासिकको २०७८ कात्तिक अंकबाट।)