संसद् अधिवेशन अन्त्य
राष्ट्रपति विद्यादेवी भण्डारीले संसद्का दुवै सदनको अधिवेशन अन्त्य गरेकी छन्।
मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपति भण्डारीले शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी प्रतिनिधि सभा र राष्ट्रिय सभाको अधिवेशन अन्त्य गरेकी हुन्। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले संसद् अधिवेशन अन्त्यका लागि सिफारिश गरेको थियो।
प्रतिनिधि सभाको अर्को बैठक २९ कात्तिकका लागि तोकिएको थियो। त्यस्तै, राष्ट्रिय सभा बैठक अर्को सूचना नभएसम्मका लागि २५ असोजदेखि स्थगित थियो।
यसैबीच, संघीय संसद्का महासचिव भरतराज गौतमले सूचना जारी गरी राष्ट्रपति कार्यालयबाट संसद् अधिवेशन अन्त्य गरिएको जानकारी आएको बताएका छन्। राष्ट्रिय सभा र प्रतिनिधि सभाका सदस्यहरूको जानकारीका लागि सूचना जारी गरिएको महासचिव गौतमले जनाएका छन्।