को हुन् मुख्यमन्त्री पाण्डे, के छन् चुनौती?
साढे तीन वर्षको कसरतपछि बागमती प्रदेशको मुख्यमन्त्री बनेका राजेन्द्र पाण्डेलाई आफ्नो छवि सुधार्ने अवसर मिलेको छ।
नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा)को समर्थनमा पाण्डे मुख्यमन्त्री बनेका हुन्। मुख्यमन्त्री नियुक्त भए लगत्तै उनले प्रदेश प्रमुख यादवचन्द्र शर्माबाट पद तथा गोपनीयताको शपथ लिएका छन्।
२९ जेठ २०१३ मा धादिङको गजुरीमा जन्मिएका पाण्डे विद्यार्थी जीवनदेखि नै राजनीतिमा सक्रिय भएका हुन्। उनले ग्रामीण विकास विषयमा स्नातकोत्तर गरेका छन्।
२०३२ सालमा जेल परेपछि उनी सक्रिय राजनीतिमा लागेका हुन्। त्यति वेला सरस्वती क्याम्पसमा विद्यार्थी आन्दोलनको नेतृत्व गर्दा पक्राउ परेका थिए।
जेलमा उनको झापाली आन्दोलनका राजबन्दीसँग भेट भयो। त्यहींबाट झापाली आन्दोलनको समर्थन गर्दै सक्रिय राजनीतिमा लागे। २०३३ सालमा राष्ट्र विप्लवको मुद्दामा उनलाई जेल सजाय समेत सुनाइएको थियो।
नेकपा (माले)को सहसचिव हुँदै उनी २०४३ मा जिल्ला पञ्चायत सभापति भएका थिए। २०५० सालमा नेकपा (एमाले)को अञ्चल सचिव र २०५५ मा केन्द्रीय सदस्य भए।
उनी लगातार निर्वाचित हुने नेतामा पर्छन्। धादिङबाट २०४८, २०५१, २०५६ र २०७० को प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए। उनले स्थानीय विकास मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका छन्।
चार पटक प्रतिनिधि सभा सदस्य भइसकेका उनी २०७४ को निर्वाचनमा भने मुख्यमन्त्री बन्ने उद्देश्यले प्रदेश सभामा फर्किएका थिए। उनी धादिङ १ ‘क’ बाट बागमती प्रदेश सभामा निर्वाचित पनि भए। तर, एमालेले बहुमत प्राप्त गरे पनि अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पक्षका डोरमणि पौडेललाई मुख्यमन्त्री बनाए।
एमाले विभाजन भएपछि उनले नेकपा (एकीकृत समाजवादी) रोजे। एमालेबाट निर्वाचित पाण्डे पार्टी विभाजनपछि नेकपा (एकीकृत समाजवादी)को संसदीय दलका नेता भए। अहिले एकीकृत समाजवादीको केन्द्रीय उपाध्यक्ष पनि छन्।
सक्रिय राजनीतिमा आउनुअघि उनी शिक्षण पेशामा आबद्ध थिए। २०३६, २०३८ र २०४२ सालमा शिक्षक आन्दोलनको नेतृत्व पनि गरेका थिए। उनका एक सहकर्मी भन्छन्, “पार्टीमा गरेको योगदान र उनको क्षमतालाई हेर्ने हो भने संघीय सरकारकै मन्त्री हुनुपर्ने व्यक्ति हुन्, तर अहिले प्रदेशमा मुख्यमन्त्री बन्न पाउँदा पनि खुशी नै देखिएका छन्।”
विवादित विगत
मुख्यमन्त्री पाण्डे पार्टीभित्र र बाहिर पनि विभिन्न विवादमा पर्दै आएका छन्। अहिले एमाले विभाजन गर्न मुख्य भूमिका रहेका नेतामध्ये उनलाई पनि लिने गरिएको छ।
एमाले विभाजनअघि पनि उनी पटक पटक विवादमा आएका थिए। जेठमा सम्पन्न राष्ट्रिय सभाको उपनिर्वाचनमा आफ्नै पार्टी एमालेका उम्मेदवार रामबहादुर थापा विरुद्ध लागेर खिमलाल देवकोटालाई जिताउन सक्रिय रहेको उनका समकक्षी बताउँछन्।
पार्टी बाहिरका विवादमा पनि उनको नाम जोडिंदै आएको छ। उनी नेटवर्किङ व्यवसाय सम्बन्धी संस्था युनिटीको विवादमा मुछिएका थिए। युनिटीले नेटवर्किङ मार्फत सर्वसाधारणलाई ठगी गरेको थियो। त्यति वेला उनी युनिटीको बोर्डमा थिए।
त्यस्तै, उनी अध्यक्ष भएको मनमोहन सहकारी अस्पतालका लागि उठाएको रकम पारदर्शी नभएको आरोप एमालेकै नेताहरूले लगाउँदै आएका छन्। स्वास्थ्य क्षेत्र सुधारको माग राखी आन्दोलन गर्दै आएका डा.गोविन्द केसीको विरोध गर्ने एमाले नेतामा उनी एक थिए। अनशन बसेको वेला डा.केसी विरुद्ध अभिव्यक्ति दिएर उनी विवादित बनेका थिए।
अब उनले विगतका विवाद बिर्साउने गरी काम गर्नुपर्ने समकक्षीहरू बताउँछन्। स्वार्थ बाझिने र विवाद हुने काम नगर्दा मात्रै पनि पाण्डे सफल मानिने उनीहरूको भनाइ छ।