प्रतिनिधि सभाको बैठक बस्दै, एमालेले अवरोध गर्ने
दुई सातापछि आज प्रतिनिधि सभाको बैठक बस्न लागेको छ। आजको बैठकमा पनि नेकपा (एमाले)ले अवरोध जारी राख्ने भएको छ।
सभामुख अग्निप्रसाद सापकोटाको भूमिकाप्रति असहमति जनाउँदै एमाले सांसदले प्रतिनिधि सभा बैठकमा अवरोध गर्दै आएका छन्। आफ्ना माग सम्बोधन नभएकाले आजको बैठकमा पनि विरोध जारी रहने एमालेका प्रमुख सचेतक विशाल भट्टराईले बताए। “हाम्रा माग सम्बोधन भएका छैनन्, त्यसैले आज पनि विरोध जारी रहन्छ,” भट्टराईले भने।
यसअघि प्रतिनिधि सभाको बैठक २५ असोजमा बसेको थियो। ९ कात्तिकका लागि तय भएको प्रतिनिधि सभा बैठक एमालेको स्थानीय तहको अधिवेशनका कारण आजलाई सारिएको हो।
आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन २०७७/७८ पेश गर्ने कार्यसूची छ।