राजेन्द्र पाण्डेसँगै तीन मन्त्रीले शपथ लिने तयारी
बागमती प्रदेशको मुख्यमन्त्री नियुक्त हुन लागेका नेकपा (एकीकृत समाजवादी)को संसदीय दलका नेता राजेन्द्र पाण्डेले आजै शपथ लिने तयारी गरेका छन्।
अष्टलक्ष्मी शाक्यले १० कात्तिकमा राजीनामा दिएपछि विपक्षी गठबन्धनका तर्फबाट पाण्डेले मुख्यमन्त्रीका लागि दाबी पेश गरेका छन्। बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले मुख्यमन्त्रीका लागि दाबी पेश गर्न आज अपराह्न ३ बजेसम्मको समय दिएका छन्।
एकीकृत समाजवादी, नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा)का तर्फबाट ५९ सांसदको हस्ताक्षर सहित पाण्डेले बुधबार नै दाबी पेश गरिसकेका छन्। एमालेका तर्फबाट भने दाबी पेश नगरिने जनाइएको छ।
मुख्यमन्त्री नियुक्त भएसँगै पाण्डेले तीन जना मन्त्री बनाउने तयारी गरेका छन्। कांग्रेसका तर्फबाट कृष्ण भँडेल, माओवादीका तर्फबाट कुमारी मोक्तान र एकीकृत समाजवादीका तर्फबाट कृष्ण खनाल मन्त्री हुने भएका छन्।
मोक्तानले अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्ने माओवादी स्रोतले जनाएको छ। त्यस्तै, कांग्रेसका भडेलले भौतिक पूर्वाधार र एकीकृत समाजवादीका खनालले सामाजिक विकास मन्त्रालयको जिम्मेवारी सम्हाल्ने तय भएको छ।
कांग्रेसका भँडेल भक्तपुर १ ‘क’ बाट प्रदेश सभामा निर्वाचित भएका हुन्। त्यस्तै, माओवादीकी मोक्तान मकवानपुर २ ‘ख’ बाट र एकीकृत समाजवादीका खनाल चितवन २ ‘ख’ बाट बागमती प्रदेश सभामा निर्वाचित भएका हुन्।
यसअघि खनाल शाक्य नेतृत्वको सरकारमा सामाजिक विकास मन्त्री थिए। उनले मन्त्रीबाट राजीनामा दिएर एकीकृत समाजवादी रोजेका थिए।
तीनै जना मन्त्रीलाई पनि आजै पद तथा गोपनीयताको शपथ खुवाउने तयारी गरिएको छ।