१८ अङ्कले बढेर नेप्से परिसूचक २७६९ बिन्दुमा
बुधबार शेयर बजार १८.०६ अङ्कले उकालो लागेको छ।
लगातार चौथो दिन हरियाली देखिएको बजार परिसूचक २७६९.१३ बिन्दुमा पुगेको हो। यो साता शेयर बजारमा लगातार दोहोरो अङ्कको वृद्धि भइरहेको छ।
आज २२८ कम्पनीका १ करोड १५ लाख ९२ हजार कित्ता शेयर खरीदबिक्री हुँदा ६ अर्ब ६१ करोड २६ लाख रुपैयाँको कारोबार भएको छ।
यो साता कारोबार रकममा पनि वृद्धि भएको छ। गत सातासम्म दैनिक कारोबार रकम रु.३ अर्ब हाराहारी थियो।
आज बेस्ट फाइनान्स कम्पनीको शेयर मूल्य ८.६८ प्रतिशतले बढेको छ। त्यसैगरी, एनआईसी एशिया लघुवित्तको शेयर ७.२१, गुह्येश्वरी मर्चेन्ट ६.७४, मानुषी लघुवित्त ६.११, गुराँस लाइफ इन्स्योरेन्सको शेयर मूल्य ६.०८ प्रतिशतले बढेको छ। सबैभन्दा बढी कारोबार चाहिं नबिल ब्यांकको भएको छ।
आज विकास ब्यांक, होटल तथा पर्यटन, जलविद्युत् र उत्पादन उपसमूहको सूचक चाहिं घटेको छ।