मोतीपुर घटनाः सर्वसाधारणलाई मोहरा बनाउँदै दल
रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्रको जग्गा कब्जा गर्ने समूह र प्रहरीबीच भएको भिडन्तमा चार जनाको मृत्यु हुनुमा राजनीतिक दलहरू मुख्य जिम्मेवार देखिन्छन्। उनीहरूले आफ्नो राजनीतिक फाइदाका लागि सर्वसाधारणलाई मोहरा बनाइरहेका छन्।
२४ असोज २०७८ मा बुटवल उपमहानगरपालिकाको वडा नम्बर १७ र १८ स्थित मोतीपुर औद्योगिक क्षेत्रको जग्गा कब्जा गर्ने समूह र प्रहरीबीच भएको भिडन्तमा चार सर्वसाधारणको मृत्यु भयो। मृत्यु हुनेमा पूर्वी नवलपरासीको अरुणखोलाका १८ वर्षीय उज्ज्वल कुमाल, रुपन्देहीको शुद्धोधन गाउँपालिकाका वीरेन्द्रप्रसाद कुर्मी, कपिलवस्तुको वाणगंगाका रमेश परियार र अर्का एक व्यक्ति छन्।
चार जनाको मृत्यु, प्रहरी र सर्वसाधारण गरी ५० जना घाइते हुने गरी भएको उक्त घटनापछि रुपन्देही अहिलेसम्म शान्त छ। घटनापछि राजनीतिक दलहरूले दुःख प्रकट गर्दै विज्ञप्ति निकालेर औपचारिकता पूरा गर्ने बाहेक अन्य कुनै विरोधका कार्यक्रम गरेनन्।
जिल्ला प्रशासन कार्यालय रुपन्देहीका अनुसार, मोतीपुर औद्योगिक क्षेत्रको करीब दुई सय बिघा जग्गामा १५ दिन अघिदेखि विभिन्न ठाउँबाट आएका व्यक्ति छाप्रा बनाएर बसेका थिए। उनीहरूले छाप्रा बनाउने र प्रहरीले भत्काउने क्रम केही दिन चलिरह्यो। तर, २४ असोजमा जग्गा कब्जा गरेर बसेको समूह आक्रोशित बनेपछि झडपको स्थिति उत्पन्न भयो। र, घटनाले फरक मोड लियो।
चार जनाको मृत्यु भएपछि अर्को दिनदेखि रुपन्देही जिल्लाभर आन्दोलन हुने अनुमान र सन्त्रास सर्वसाधारणमा थियो। किनभने, दलहरूले यस्ता घटनालाई राजनीतिक नाफा–घाटाका रूपमा लिएर आन्दोलन गर्ने गरेको विगत थियो।
तर, मोतीपुरमा भएन। कारण थियो, मृत्यु हुनेहरू स्थानीय नभएर बाहिरबाट आएका थिए। र, उनीहरूलाई स्थानीयको साथ थिएन। बरु, जुन राजनीतिक दलले उनीहरूलाई उचालेर जग्गा कब्जाका लागि प्रोत्साहन गरिरहेका थिए, उनीहरू पनि पन्छिने स्थिति बन्यो। किनभने, घटनाको जिम्मा लिएर विरोध गर्दा उल्टो सरकारी जग्गा कब्जा गर्न उक्साएको आरोप लाग्ने भयो। त्यसकारण दलहरू एकअर्कालाई आरोप–प्रत्यारोप गर्नमै लागे।
के हो विवाद?
२४ असोजमा प्रहरीको गोलीबाट चार सर्वसाधारणले अनाहकमा ज्यान गुमाउनुको पछाडिका मुख्य जिम्मेवार त्यहाँका प्रमुख राजनीतिक दल हुन्। एमाले, कांग्रेस, माओवादी र नेकपा (एकीकृत समाजवादी)बीचको राजनीतिक प्रतिस्पर्धाकै कारण बुटवलमा उक्त अवस्था उत्पन्न भएको हो।
सुकुम्बासीका नाममा एकले अर्को पक्षलाई कमजोर बनाएर बुटवलको राजनीतिमा आफू बलियो बन्ने दलहरूको प्रतिस्पर्धा र महत्त्वाकाङ्क्षाले उक्त घटना भए पनि सबै दलहरूले एकअर्कालाई दोषारोपण गरिरहेकै छन्।
नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सदस्य एवं लुम्बिनी प्रदेश कार्यालय सचिव सिद्धिचरण भट्टराई एमालेले केही व्यक्तिलाई त्यहाँ ल्याएर बसालेको र सरकारलाई बदनाम गराउन उक्त घटना घटाएको आरोप लगाउँछन्। “मर्ने मानिस पनि एमालेका छन्। सरकारलाई बदनाम गराउन त्यहाँ एमालेले मान्छे बसालेर घटना घटायो,” उनी भन्छन्।
तर, एमालेका जिल्ला नेताहरू भने रुपन्देहीको राजनीति र विकास निर्माणका काममा एमालेले अगुवाइ गरेपछि अन्य दलहरू अत्तालिएर एमालेलाई असफल पार्ने प्रयास स्वरूप मोतीपुर घटना घटाइएको बताउँछन्। एमाले जिल्ला सदस्य एवं बुटवल उपमहानगरपालिका अध्यक्ष बाबुराम पन्थी एमाले सरकारको पालामा उद्घाटन गरिएको मोतीपुर औद्योगिक क्षेत्रलाई असफल पार्न अन्य दलहरूले सुकुम्बासीका नाममा बाहिरका मानिस ल्याएर बिथोल्ने प्रयास गरेको बताउँछन्।
हुन पनि २१ फागुनमा मोतीपुर औद्योगिक क्षेत्रको शिलान्यासका लागि पुगेका तत्कालीन अर्थमन्त्री एवम रुपन्देही क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद विष्णु पौडेल र उद्योगमन्त्री लेखराज भट्ट सहभागी कार्यक्रममा ढुङ्गामुढा गरिएको थियो।
कार्यक्रमस्थलमा ढुङ्गामुढा भएपछि पौडेल र भट्ट कार्यक्रम छोडेर हिंडेका थिए। “हिजो एमालेलाई असफल बनाउन मान्छे उचाल्ने र सरकारी जग्गामा मान्छे बसाल्ने काम आफैंले गरे,” पन्थी भन्छन्, “आज आफैंले ल्याएर बसालेका मानिसलाई गोली हानेर मार्ने काम पनि गरे।”
औद्योगिक क्षेत्र विस्तारका क्रममा लालपुर्जा भएका र वर्षौंदेखि भोगचलन गर्दै आएकाहरूलाई क्षतिपूर्ति दिनुपर्ने र मोतीपुरमा औद्योगिक क्षेत्र बन्नुपर्ने पार्टीको धारणा रहेको उनी बताउँछन्।
त्यति वेला पौडेल र भट्ट सहभागी भएको शिलन्यास कार्यक्रमलाई बिथोलेर असफल गर्ने कामको नेतृत्व एकीकृत समाजवादी रुपन्देहीका अध्यक्ष राजु गुरुङले गरेका थिए।
२४ असोजको घटनापछि साँझ बुटवलमा राजनीतिक दल, प्रहरी प्रशासन सहितको सर्वदलीय बैठकमा गुरुङले शिलान्यास कार्यक्रम बिथोल्ने काममा आफ्नो नेतृत्वमा जनपरिचालन गरिएको बताएका थिए। घनश्याम भुसाल लगायत त्यति वेला सरकार विरुद्ध आन्दोलन गरिरहेका दलको निर्देशनमा आफूले उक्त कामको नेतृत्व गरेको उनको भनाइ थियो। गुरुङको यो भनाइले पनि राजनीतिक दलहरूले आफ्नो स्वार्थपूर्तिका लागि सर्वसाधारणलाई कसरी मोहरा बनाइरहेका छन् भन्ने पुष्टि हुन्छ।
रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ र ३ को निर्वाचनमा भूमिहीन तथा सुकुम्बासीको मत निर्णायक मानिन्छ। त्यसकारण पनि सुकुम्बासीका नाममा आफू बलियो बनेर प्रतिपक्षलाई कमजोर गराउने प्रतिस्पर्धा बुटवलको राजनीतिमा पहिलेदेखि हुँदै आएको छ। सुकुम्बासी बस्तीलाई आफ्नो पकडमा राख्न सकेका कारण नै एमाले बलियो रहेको अन्य राजनीतिक दलको बुझाइ छ।
हुन पनि २०६४ देखि यताका सबै निर्वाचनमा एमाले उपमहासचिव समेत रहेका विष्णु पौडेल उक्त निर्वाचन क्षेत्रबाट विजयी हुँदै आएका छन्। त्यसैगरी, बुटवल उपमहानगरपालिकामा पनि एमालेले जितेको छ। बुटवलको राजनीतिमा स्थापित हुन यहाँका प्रमुख दलहरूबीच अस्वस्थ प्रतिस्पर्धा हुने गर्दछ। जसको मारमा सर्वसाधारण पर्ने गरेका छन्।
सरकारले २०७२ सालमा मोतीपुरमा औद्योगिक क्षेत्र बनाउने घोषणा गरेको थियो। सोही अनुरूप बुटवल, तिलोत्तमा, सियारी र शुद्दोदन गरी मोतीपुर औद्योगिक क्षेत्रलाई चार वटा ब्लकमा विभाजन गरिएको छ। यी चार वटा ब्लकमा करीब आठ सय बिघा जग्गा मोतीपुर औद्योगिक क्षेत्रको नाममा छ। आठ सय बिघामध्ये दुई सय बिघा जग्गा स्थानीयले भोगचलन गर्दै आएको ऐलानी तथा केही लालपुर्जा भएको जग्गा समेत पर्दछ।