बागमती प्रदेशकी मुख्यमन्त्री शाक्यले विश्वासको मत लिंदै
बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज विश्वासको मत लिने भएकी छन्।
मुख्यमन्त्री बनेको दुई महीनापछि शाक्यले आज अपराह्न १ बजे बस्ने प्रदेश सभा बैठकमा विश्वासको मत लिने भएकी हुन्।
प्रदेश सभा सचिवालयका सचिव कृष्णहरि खड्काका अनुसार, विश्वासको मतका लागि सत्तापक्ष र प्रतिपक्षलाई छुट्टाछुट्टै मतदान कक्षको व्यवस्था मिलाइएको छ।
दस्तखत सहितको मत विभाजन सम्बन्धी कार्यविधि, २०७८ प्रदेश सभाबाट पारित भएपछि मतदान प्रक्रिया अगाडि बढाइने प्रदेश सभा सचिवालयका प्रवक्ता विनोद अमात्यले जानकारी दिए।
मुख्यमन्त्री शाक्यले २४ असोजमा प्रदेश सभाको दोस्रो बैठकमा विश्वासको मत प्राप्त गर्न प्रस्ताव पेश गरेकी थिइन्। प्रदेश सभाका सदस्यले उठाएका प्रश्नको मुख्यमन्त्री शाक्यले आज जवाफ दिने भएकी छन्।
गठबन्धनका दलहरू नेकपा (माओवादी केन्द्र), नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी नेपालले विश्वासको मतको विपक्षमा मतदान गर्ने जनाएका छन्।
बागमती प्रदेश सभामा हाल १०९ जना सदस्य छन्। सरकार गठनका लागि ५५ सांसद आवश्यक पर्छन्।
नेकपा एमाले विभाजनपछि १३ जना सांसदले एकीकृत समाजवादीमा सनाखत गरेका छन्। अहिले एमालेसँग ४३ सांसद छन्।
यसैगरी, प्रमुख प्रतिपक्षी नेकपा माओवादीका २३, नेपाली कांग्रेसका २२, विवेकशील साझा पार्टीका तीन, नेपाल किसान मजदूर पार्टी (नेमकिपा) का दुई जना, राप्रपाका दुई र जनता समाजवादी पार्टी (जसपा) का एक जना प्रदेश सभा सदस्य छन्।