संस्कृतिको समग्र ‘पृथकता’ अर्को सौम्य शक्ति
बौद्ध धर्मलाई भारतले आफ्नो सौम्य शक्तिको अस्त्र बनाउँदै गर्दा, चीनले सगरमाथाको प्रवर्द्धन गर्दा र वीर गोर्खालीको अर्थलाई फेरि केलाउनुपर्दा के यी शक्ति सधैं पर्याप्त छन् त भन्ने प्रश्न गरी नेपालले अन्य ठाउँमा पनि आफ्नो अस्तित्व खोज्नुपर्ने देखिन्छ।
२१औं शताब्दीसम्म आइपुग्दा विश्व परिस्थिति, कूटनीतिका अभ्यास र एक देशले अर्कोलाई प्रभावित पार्ने तौरतरीका फेरिएका छन्। आफ्नो राज्यबारे अन्तर्राष्ट्रिय धारणा निर्धारण गर्न अहिले अर्को राज्यसत्तालाई मात्रै प्रभावित गर्ने नभई बृहत् जनसङ्ख्यालाई नै आकर्षित गर्ने चलन आएको छ।
केही दशक अघिसम्म देशको ‘शक्ति’ भन्नासाथ आर्थिक र सैन्य बल तथा चलखेल बुझिन्थ्यो। दबाब र दमनको राजनीतिले अन्य देशमा वितृष्णा पैदा हुने भएकाले अमेरिकाका राजनीतिशास्त्री जोसेफ नाईले सन् १९८० तिर ‘सफ्ट पावर’ (सौम्य शक्ति) सिद्धान्तको प्रतिपादन र प्रवर्द्धन गरे।
दाम र दण्डको ठाउँमा मीठो र शालीन शैली तथा व्यवहारबाट अर्काको मन जितेर आफू अनुकूलको परिस्थति सिर्जना गर्ने भूराजनीतिक विद्या हो, सौम्य शक्ति। सौम्य शक्तिको मान्यता अनुसार, नेपाल जस्ता साना देशलाई सैन्य बलले भन्दा देशको पृथक् पक्षको प्रवर्द्धनले धेरै फाइदा पुग्छ।
लुम्बिनी बाहेक काठमाडौं उपत्यका चौथो महत्त्वपूर्ण बौद्ध तीर्थस्थल थियो र शिवभक्तमाझ पशुपतिनाथ उत्तिकै चर्चित तीर्थस्थल थियो। यसले आजसम्म पनि आकर्षण र महत्त्व कायम राखेको छ।
विकल्पको खोजी
नेपाल सरकारले प्रकाशन गरेको ‘परराष्ट्र नीति, २०७७’ मा ‘सफ्ट पावर’ भन्ने शब्दावली परेको छ। नेपाल प्रति आकर्षण बढाउने वस्तुहरूमा राष्ट्रको सम्पदा, प्राकृतिक धरोहर, कला र संस्कृतिलाई सौम्य शक्तिका रूपमा उक्त नीतिमा उल्लेख गरिएको छ।
नेपालले सधैंभरि सगरमाथा, गौतम बुद्ध र गोर्खाली सैनिकलाई देशका विशिष्ट पहिचानका रूपमा प्रचार गर्दै आएको छ। विगतमा यी नै हाम्रा पृथकता भएकाले यिनको प्रचार भएको हुनसक्छ। बौद्ध धर्मलाई भारतले आफ्नो सौम्य शक्तिको अस्त्र बनाउँदै गर्दा, चीनले समेत सगरमाथाको प्रवर्द्धन गर्दा र वीर गोर्खालीको अर्थलाई फेरि केलाउनुपर्दा के यी शक्ति नेपालका लागि सधैं पर्याप्त छन् त भन्ने प्रश्न गरी नेपालले अन्य ठाउँमा पनि आफ्नो अस्तित्व खोज्नुपर्ने देखिन्छ।
सन् १९९५ मा कर्निल जेस्टले भने अनुसार, लुम्बिनी बाहेक काठमाडौं उपत्यका चौथो महत्त्वपूर्ण बौद्ध तीर्थस्थल थियो र शिवभक्तमाझ पशुपतिनाथ उत्तिकै चर्चित तीर्थस्थल थियो। यसले आजसम्म पनि आकर्षण र महत्त्व कायम राखेको छ।
नहिंडिएको बाटो
देशले आत्मसात् गर्ने सौम्य शक्तिका उपायहरू यसका आफ्ना मौलिक स्रोत र क्षमताहरू हुन्। नेपालका आफ्नै केही पृथक् परम्परा छन्, जुन धेरै हदसम्म बाँकी विश्वबाट हराइसकेका छन्। बौद्ध र आर्य धर्म बाहेक नेपालको हिमाली क्षेत्रमा बोन धर्म, कर्णालीमा खसहरूको मष्ट संस्कृति, पूर्वमा किरात धर्मले नेपाललाई एक पृथक् देश सावित गर्छ।
उत्तर-वैदिक कालदेखि विदेह राज्य अर्थात् मिथिला राज्यको व्याख्या गरिएको पाइन्छ, जुन नेपालकै एक अभिन्न अङ्ग हो। प्रश्न यो मात्र रहन्छ, यो परिचयलाई नेपालले कसरी प्रस्तुत गर्नसक्छ र के कस्तो लाभ प्राप्त गर्ने अवसर जुटाउन सक्छ। भारतले ‘रामायण सर्किट’ तीर्थस्थल घुमाउने उद्देश्यले बनाएको पूर्ण कार्यक्रम हो। नेपालले पनि बुद्ध सर्किट, मुन्धुम सर्किटको प्याकेज बनाएर प्रचार गर्नसक्छ।
उत्तर-वैदिक कालदेखि विदेह राज्य अर्थात् मिथिला राज्यको व्याख्या गरिएको पाइन्छ, जुन नेपालकै एक अभिन्न अङ्ग हो। प्रश्न यो मात्र रहन्छ, यो परिचयलाई नेपालले कसरी प्रस्तुत गर्नसक्छ र के कस्तो लाभ प्राप्त गर्ने अवसर जुटाउन सक्छ।
सन् २००२ देखि थाइल्यान्डको रेस्टुरेन्ट व्यवसायलाई सहयोग गर्दै आएको थाई सरकारबाट पनि नेपालले सिक्नसक्छ। थाई कुजिनले ग्यास्ट्रोडिप्लोमेसी (व्यञ्जन कूटनीति) अघि बढाएको थियो। अरूले जे गर्यो, हामीले त्यसकै नक्कल गर्नुपर्छ भनेको होइन। अरूलाई फाइदा गरेको नीतिले हामीलाई पनि राम्रै परिणाम दिन्छ भन्ने पनि छैन। तसर्थ, नेपालले आफूलाई सुहाउँदो समाधान खोज्न आफ्नो इतिहास, संस्कृति र मूल्य-मान्यताबाट पाठ सिक्न आवश्यक छ।
नेपाली ललितकलाको सुनौलो इतिहास छ। मिथिला चित्रकलासँगै पौभा चित्रकला (जसलाई भोटमा ‘थाङ्का’ पनि भनिन्छ)को पनि धेरै सम्भावना छ। त्यसको उत्पत्ति नेपालमै भएको हो भन्ने जानकारी समेत नेपालीहरूमा छैन। यसर्थ, नेपालको मौलिक चित्रकलाको विशेषताबारे हामीकहाँ सानै कक्षादेखि शिक्षा दिनुपर्छ।
फोटोग्राफी, चलचित्र, विद्युतीय खेलहरू मार्फत नेपालको सुन्दर भूगोल, संस्कार र संस्कृति देखाउन, चिनाउन र बुझाउन सकिन्छ। नेपाल सरकारको पहलमा विदेशमा प्रदर्शनीहरूमा सहभागिता गराउन सकिन्छ। विदेशमा रहेका नेपालीहरूले पनि नेपाल र यहाँको कला, विशेषता आदि विश्वमा चिनाउन प्रमुख भूमिका निर्वाह गरिरहेका छन्। नेपालको पहिलो एनिमेशन चलचित्र शङ्खधरको कथा (द लेजेन्ड अफ शङ्खधर) को निर्माण तथा निर्देशन बेलायतमा बस्दै आएका संयुक्त श्रेष्ठले गरेका हुन्।
नेपाली संस्कृतिको समग्र ‘पृथकता’ को उदाहरण दिनु मात्रै पर्याप्त हुँदैन। यिनको उत्थान र प्रवर्द्धनमा इमानदारीपूर्वक काम गरे मात्रै मानिसहरू आकर्षित हुन्छन्।
(सांस्कृतिक अभियन्ता अमात्यले सौम्य शक्ति विषयमा लेख्दै आएका छन्। कार्की त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय सम्बन्ध विभागकी अध्यापक हुन्। हिमाल मासिकको २०७८ कात्तिक अङ्क ‘पृथक् पक्षको प्रवर्द्धन’ शीर्षकमा प्रकाशित।)