‘धान सडेर खेतभरि गन्हाएको छ’
बेमौसमी झरीले धानबाली नष्ट भएपछि सुदूरपश्चिमका किसान खाद्यान्न अभाव हुने चिन्तामा छन्।
कैलालीको भजनी नगरपालिका-७ चर्राकी ३४ वर्षीया मनीषा चौधरी तीन बिघा १५ कट्ठामा लगाएको धान बाढीले बगाएपछि समस्यामा परेको बताउँछिन्। कृषिमै निर्भर १० जनाको परिवार पाल्न मुश्किल भएको बताउँदै उनी भन्छिन्, “दुई बिघा हाम्रो खेत छ। एक बिघा १५ कट्ठा लिजमा लिएका छौं। सबै धान बगायो। हाम्रो मिहिनेत मात्रै होइन, सपना पनि बगायो।”
उनका अनुसार, यो वर्ष धानको बाला राम्रो थियो। त्यही भएर उनको परिवारले दुई साताअघि ब्यांकबाट तीन लाख ऋण लिएका थिए, धान भित्र्याउन। धन बेचेर चुक्ता गर्ने योजना बनाएको उनको परिवारलाई सकस भएको छ।
“ऋण लिएको पैसाबाटै मेसिन लगाएर दुई बिघाको धान काटेका थियौं,” मनीषा भन्छिन्, “एक्कासि पानी पर्यो। ठूलो बाढीले सबै बगायो।”
खेतमा चार फुट जति पानी भरिएको उनी बताउँछिन्। जसले गर्दा काट्न बाँकी धान पनि नष्ट भएको छ। “पानी पर्दै गर्दा पाँच कट्ठाको धान अलि उँचो ठाउँमा राखेका थियौं, तर त्यो पनि काम नलाग्ने भएको छ,” उनी भन्छिन्, “अहिले त त्यो धान पनि जमरा जस्तो भएको छ। धान सडेर खेतभरि गन्हाउने भएको छ।”
यस्तो अवस्था आउला भन्ने उनको परिवारले सोचेकै थिएन। प्रायः साउन-भदौमा बाढी आउँथ्यो। त्यसले खासै क्षति हुँदैनथ्यो। गएको साउन–भदौमा बाढी नआएपछि धान जोगियो भनेर उनी खुशी थिइन्। तर, त्यो खुशी धेरै दिन टिक्न पाएन।
“अरू वर्ष साउन–भदौमा बाढी आउँथ्यो, धानको बाला नलाग्दै बगाउँथ्यो,” उनी भन्छिन्, “यतिको पीडा चाहिं हुँदैनथ्यो। यो वर्ष त हेर्दाहेर्दै सपना र खुशी दुवै सँगै बगे।”
उनको मात्रै होइन, सुदूरपश्चिमका थुप्रै किसानको धानबाली बगेको छ। कैलाली र कञ्चनपुरमा धानबालीमा ठूलो क्षति भएको कृषि विकास निर्देशनालय डोटीका निमित्त प्रमुख यज्ञराज जोशी बताउँछन्।
उनका अनुसार, कृषि ज्ञान केन्द्रका प्रमुखहरूले गरेको अनुगमनमा कैलालीमा करीब ५४ प्रतिशत र कञ्चनपुरमा ४२ प्रतिशत धानबालीमा क्षति पुगेको छ।
कैलालीमा तीन लाख ४० हजार मेट्रिक टन र कञ्चनपुरमा एक लाख ८७ हजार मेट्रिक टन धान उत्पादन हुने गरेको छ। बाढी र डुबानका कारण धानको उत्पादन आधा कम हुने उनी बताउँछन्।
सुदूरपश्चिम प्रदेश सरकारले क्षतिको विवरण सङ्कलन गरिरहेको जनाएको छ। प्रदेश सरकारकी प्रवक्ता एवं आन्तरिक मामिला तथा कानून मन्त्री पूर्णा जोशी क्षतिको विवरण सङ्कलन भएपछि एकद्वार प्रणालीबाट राहत वितरण गरिने बताउँछिन्।
किसान भने राहतले मात्रै नपुग्ने बताउँछन्। अब हिउँदे खेतीका लागि पनि सहयोग गर्नुपर्ने बताउँछन्। मनीषा भन्छिन्, “हामीलाई सरकारले दिने २५-३० केजी चामलले पुग्दैन, बरु हिउँदे खेतीका लागि समयमै बीउबिजन, मलखाद र डिजेलमा अनुदान दिनुपर्छ।”
भिजेको धान सुकाउँदै किसान
हिउँदे बालीको तयारीमा लाग्नुपर्ने वेला कैलाली र कञ्चनपुरका किसान अहिले त्यही भिजेको धान सुकाउन व्यस्त छन्। अग्लो भागमा सार्ने, सुकाउने र राम्ररी नसुक्दै थ्रेसिङ गर्ने काम भइरहेको छ।
कतिपयले त पानी तर्किंदै गरेको धान समेत थ्रेसिङ गरिरहेका छन्। धान थ्रेसिङ गरिरहेका कैलारी गाउँपालिका–६ का अनिल चौधरी भन्छन्, “अलिकति भए पनि आउला कि भनेर भिजेको धान थ्रेसिङ गरिरहेको छु।”